+
+

नक्सा पास विवादमा फसेको प्राधिकरणको नयाँ भवन प्रधानमन्त्रीले गरे उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २९ गते १९:१९

२९ भदौ, काठमाडौं । नक्सा पास विवादमा फसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको नयाँ भवन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् ।

प्राधिकरणको सिनामंगलस्थित ३० रोपनी जग्गामध्ये १२ रोपनी क्षेत्रफललाई विकास गरी ४ रोपनी २ आना जग्गामा बनेको भवन शुक्रबार उद्घाटन गरिएको हो ।

१८ हजार ७२१ वर्ग मिटर बिल्डअप एरिया भएको ३ तले बेसमेन्टसहित १२ तले भवन बनेको हो । यो भवनको नक्सापास नभएको भन्दै काठमाडौं महानरपालिकाले नक्सा पास गर्न ताकेता गरेको थियो ।

नक्सापास अहिले पनि प्रक्रियामै रहेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । ‘त्यो प्रक्रियामा गइसकेको छ, अब छिट्टै हुन्छ,’ उनले भने ।

काठमाडौं महानगरपालिकाले भने नक्सा पासको प्रक्रिया अगाडि नबढेको बताउँछ । प्राधिकरणले नक्सा पास गर्न एउटा निवेदन दिएपनि सो निवेदन पर्याप्त नभएको भन्दै महानगरले जवाफ पठाएको थियो । ‘हामीले नक्सा पास गर्न यो-यो प्रकिया अनुसार आउनुस् भनेर पत्र पठाएका थियौं, त्यसपछिको प्रक्रिया अगाडि बढेकै छैन,’ महानगरपालिकाको शहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यले अनलाइनखबरसँग भने । नक्सापास विना बनेकाे नयाँ भवनको प्रधानमन्त्रीबाट उद्‍घाटन भएको सन्दर्भमा उनले महानगरको नेतृत्वले जवाफ दिने बताए ।

झण्डै २ अर्ब लागत

प्राधिकरणको यो भवनको कुल लागत १ अर्ब ८० करोड रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ ।
यो भवन प्राधिकरणको आफ्नै स्रोतबाट बनेको समेत बताइएको छ । यस भवनमा कर्मचारी र सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्ने र सेवा लिने अन्तर्राष्ट्रिय स्तरको वातावरण उपलब्ध हुने प्राधिकरणको दाबी छ ।

प्राधिकरण अन्तर्राष्ट्रिय प्रकृतिको भएको भन्दै प्राधिकरणले अन्तर्राष्ट्रिय स्तरको सेवा दिन यस्तो भवन बनाएको समेत दाबी गरेको छ ।

प्राधिकरणका अनुसार भवनको दुई वटा बेसमेन्टमा ६५ वटा कार, १२० वटा मोटरसाइकल र २५ वटा साइकल पार्किङ गर्न सकिन्छ । पार्किङ फरक क्षमता भएका व्यक्तिमैत्री रहेको समेत बताइएको छ ।

यस भवनमा ४ वटा लिफ्ट, पब्लिक अनाउन्समेन्ट सिस्टम, आगो नियन्त्रण गर्ने प्रणाली, वाटर ट्रिटमेन्ट प्लान्ट, ढल ट्रिटमेन्ट प्लान्ट, सीसीटीभीसहितका सुविधा रहेको यो भवनमा ४ सय जना कर्मचारीले एकैसाथ काम गर्न सक्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?