+
+

बैंकले निक्षेपको ब्याजदर बढाउँदाको असर सेयर बजारमा, नेप्से ४२ अंकले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३१ गते १५:४५

३१ भदौ, काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य स्रोतको समस्या नभएपनि आधा दर्जन वाणिज्य बैंकको निक्षेपको ब्याजदर ११ प्रतिशत नाघेपछि सेयर बजारमा त्यसको प्रभाव परेको छ । सातको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से ४२.१४ अंकको उच्च गिरावट हुँदा १९६४.९१ को विन्दुमा बन्द भएको छ ।

गत बिहीबार ३९.४८ अंकले वृद्धि भएर २००७.०६ को विन्दुमा नेप्से बन्द भएको थियो । ७ भदौपनि २ हजारको विन्दुमा पुगेको नेप्से आइतबार २.०९ प्रतिशतले गिरावट भएर पुनः २ हजारको विन्दुबाट झरेको हो । नेप्सेका सबै उपसूचकमा गिरावट हुँदा व्यापार उपसूचक सर्वाधिक ३.३३ प्रतिशत, वित्त कम्पनी उपसूचक ३.३० प्रतिशत र होटल तथा पर्यटन उपसूचक ३.२९ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेमा गिरावट भएपनि कारोबार रकम बढेर २ अर्ब नाघेको छ । आइतबार नेप्सेमा ४२ हजार ४७७ वटा कारोबारमा ५६ लाख ५९ हजार ४५८ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा २ अर्ब २ करोड ८५ लाखको कारोबार भएको छ । जसमध्ये एनआईसी एशिया बैंकको सर्वाधिक २७ करोड ५४ लाखको कारोबार भएको छ । गत शुक्रबार २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि १.५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको बैंकको सेयर कारोबारमा लगानीकर्ताको आकर्षण देखिएको हो । यस्तै नेप्सेमा सूचीकृत भएर आइतबारदेखि कारोबार सुरू भएको रिलायबल लाइफ इन्स्योरेन्सको २४ करोड ५३ लाख र एभरेष्ट बैंकको १२ करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ ।

बैंकले पनि गत साता मात्रै सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाका लागि समेत गरी १०.५३ प्रतिशत नगद गरी कुल २०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । बैंकले अपेक्षाकृत लाभांश नदिंदा सेयर मूल्य पनि ६.४८ प्रतिशतले घटेको छ ।

आइतबार नेप्सेमा कुल २२७ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये २१३ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ११ कम्पनीको सेयर मूल्य बढेको छ । यता ३ कम्पनीको सेयरमूल्य भने स्थिर छ । आइतबार कारोबार भएकामध्ये शुभम् पावर कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा थ्री स्टार हाइड्रोपावरको सेयरमूल्य ७.८९ प्रतिशत र बुद्धभूमि हाइड्रोपावरको सेयरमूल्य ५.४४ प्रतिशतले बढेको छ ।

मोलुङ हाइड्रोपावरको सेयरमूल्य ९.२१ प्रतिशतले गिरावट हुँदा मेन्छियाम हाइड्रोपावरको सेयरमूल्य ८.४६ प्रतिशत र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयरमूल्य ८.०२ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?