+
+

एसियन गेम्स महिला फुटबल टिमलाई एक्सपोजर मात्र

नमिता दाहाल नमिता दाहाल
२०८० भदौ ३१ गते १९:५२

३१ भदौ, काठमाडौं । चीनको हाङझाउमा हुने एसियन गेम्समा नेपालले जापान, भियतनामजस्ता बलिया टिमसँग प्रतिस्पर्धा गर्दैछ । साफ च्याम्पियनसिप जित्ने लक्ष्य भन्दा माथि नउठेको नेपाली महिला फुटबलका लागि एसियन गेम्स ठूलो अवसर हो ।

नेपाल रहेको समूह डी मा जापान, भियतनाम र बंगलादेश छ । जापान महिला विश्वकपको शीर्ष ८ भित्र परिसकेको टिम हो ।

एसियन गेम्सका लागि महिला फुटबल टोलीले राष्ट्रिय खेलकुद परिषद मातहत प्रशिक्षण गरिरहेको छ, यसमा अखिल नेपाल फुटबल महासंघ (एन्फा) को संलग्नता देखिएको छैन ।

एसियन कपलाई लिएर उत्साहित खेलाडी र प्रशिक्षक अभ्यास र तयारी खेल खेल्न नपाएकामा भने चिन्तित छन् । महिला टिमका प्रमुख प्रशिक्षक बालगोपाल महर्जन भन्छन्, ‘तयारी समयअनुसार ठीकै हो । तर हामीले एक्सपोजर भने पाएनौं । एसियन गेम्स खेल्ने टिमलाई एउटा पनि मैत्रीपूर्ण खेल नखेलाई लैजानु पर्दा दुःख लागेको छ ।’

अखिल नेपाल फुटबल संघले मैत्रीपूर्ण खेलका लागि कुनै सहयोग नगरेको टिमकै गुनासो छ ।

प्रमुख प्रशिक्षक महर्जनका अनुसार महिला फुटबल टिमको सहायक प्रशिक्षक छैनन् । एसियन गेम्स खेल्ने अरु खेलका खेलाडीले वैदेशिक प्रशिक्षण पनि पाएका छन् । तर महिला फुटबल टोलीले नपाएको महर्जनले बताए ।

कप्तान रेनुका नगरकोटेले पनि आफूहरुले प्रशिक्षणमा मिहिनेत गरिरहेको तर मैत्रीपूर्ण र अभ्यास खेलको अवसर नपाएको बताइन् । ‘हाम्रो तयारी आफ्नो तर्फबाट त राम्रो नै गरेका छौं तर पहिलो पटक दक्षिण एसिया बाहिर त्यो पनि विश्वकप खेलेका जापान र भियतनामसँग हामी खेल्दैछौं । यसका लागि एक्सपोजरको हिसाबमा हामी कमजोर छौं’, उनले भनिन् ।

चोटका कारण साफ च्याम्पियनसिप गुमाएकी रेनुकाका लागि यो कमब्याकको राम्रो अवसर हो । ‘मेरो लागि एसियन गेम्स निकै ठूलो मौका हो, त्यसैले पनि निकै उत्साहित छु’, उनी भन्छिन् ।

नेपाली महिला फुटबलले एसियन गेम्समा आफ्नो सहभागिता जनाउन १९ औं संस्करणसम्म कुर्नुपर्‍यो । पहिलो सहभागिता भए पनि ऐतिहासिक नतिजा निकाल्नेबारे सरोकारवाला निकायले सोच्नुपर्ने प्रशिक्षक महर्जनको भनाइ छ ।

‘हुन त पहिलो पटक जान लागेको सुखद खबर हो तर पनि केही ऐतिहासिक नतिजा आउँथ्यो कि यसमा पहल भने भएन’, उनले भने, ‘कमसेकम सेप्टेम्बर पहिलो हप्ता केही मैत्रीपूर्ण खेल मात्रै पनि खेलाउन पाएको भए फाइदाजनक हुन्थ्यो ।’

नेपाली टिमको लक्ष्य बंगलादेशलाई हराउने, जापान र भियतनामसँग बलियो प्रतिस्पर्धा गर्ने मात्र छ ।

एक्सपोजरको अवसर

नेपाली महिला फुटबल टिमको स्ट्राइकरमा सावित्रा भण्डारी साम्बा, अमिसा कार्की र दीपा शाही छन् । मिडफिल्डमा कप्तान रेनुका, सरु लिम्बु र प्रिती राई मुख्य खेलाडी हुन् । डिफेन्समा पूजा राना र गीता रानाको पुनरागमन भएको छ ।

‘अहिले हाम्रो टिम एकदमै सन्तुलित छ । यो पालि सबैकुरा समन्वय मिलिरहेको छ । युवा खेलाडी पनि अहिले टिममा घुलमिल भइसकेका छन्’, कप्तान रेनुकाले भनिन् ?

नेपालले एसियन गेम्सको प्रतिस्पर्धी भियतनामसँग हालसम्म जम्मा दुई खेल खेलेको छ । विश्वकपमा विश्वविजेता स्पेनलाई ४ गोल हानेको जापानसँग पनि नेपालले खेल्न पाउँदैछ । भियतनाम र जापानजस्ता देशसँग खेल्न पाउनु पनि खुशीको कुरा भएको उनी बताउँछिन् ।

‘हामीले समूह चरणमा नै जापानसँग खेल्न पाउँदैछौं । के थाहा पछि यस्तो अवसर जुर्ला कि नजुर्ला । हामीले जापानसँग धेरै कुरा सिुक्न सक्छौं, राम्रो अनुभव हुनेछ’ रेनुकाले भनिन् ।

एसियन गेम्स नेपाली खेलाडीका लागि दक्षिण एसियाबाट बाहिर निस्किएर खेल्ने राम्रो मौका हो । नेपाली खेलाडीका लागि आफूलाई प्रदर्शन र प्रमाणित गर्ने मौका पनि हो । ‘एसियन गेम्समा राम्रो प्रदर्शन गर्न सकेमा सबैको नजर पर्छ’, उनले भनिन् ।

आफ्नो प्रदर्शनका आधारमा सावित्रा भण्डारी युरोपमा लिग खेल्दैछिन् । अरु खेलाडीले भारतीय लिग खेल्न पाउनुलाई नै उपलब्धी मान्नुपर्ने अवस्था छ ।

‘हामीले साफ खेलेर आइलिग खेल्ने मौका पाउँछौं भने एसियन गेम्समा राम्रो गरेमा हामीलाई हेर्ने नजर फरक हुनेछ’, कप्तान रेनुकाले भनिन् ।

एन्फा महासचिव किरण राईले एसियन गेम्सको सबै तयारी राष्ट्रिय खेलकुद परिषद अन्तर्गत भएको बताए ।

‘हामीले सुरुमा हाम्रै तरिकाले प्रशिक्षण गराउन चाहेका थियौं तर त्यसमा परिषदले हस्तक्षेप गरेपछि सम्पूर्ण व्यवस्था परिषदकै मातहतमा भएको हो । एन्फाले उहाँहरुलाई काम गर्न सहज होस् भनेर हस्तक्षेप गरेन’, उनले भने ।

प्रमुख प्रशिक्षक, प्रशिक्षक र गोलकिपर प्रशिक्षक भने एन्फाले नै व्यवस्था गरेको उनले बताए ।

तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?