+
+

विश्वविख्यात प्रोफेसर सीआर रावको सम्झनामा

किशोर खनाल किशोर खनाल
२०८० असोज १ गते ९:०१
स्वर्गीय प्राध्यापक कल्याम्पुडी राधाकृष्ण (सीआर) राव ।

प्रियजनको मृत्युले मानिसलाई रुवाउँछ । २२ अगस्ट २०२३ मा धेरैलाई खिन्न बनाउँदै धेरैको मन दुखाउँदै र धेरैको आँखाबाट आँसु बगाउँदै तथ्याङ्कशास्त्रका धरोहर प्रोफेसर डाक्टर सी.आर. रावले यो संसारबाट १०२ वर्षको उमेरमा बिदा लिए । यो संसारमा उनी अरू केही दिन बाँच्न पाएको भए, सेप्टेम्बर १० मा उनको १०३औं जन्मदिन हुनेथियो ।

१० सेप्टेम्बर १९२० मा भारतको कर्नाटक राज्यको हुवाना हदगलीमा जन्मिएका उनको पूरा नाम कल्याम्पुडी राधाकृष्ण राव हो । पिता सी.डी. नायडू तथा माता ए. लक्ष्मीकान्तम्माका दस सन्तानमध्ये उनी आठौं सन्तान हुन् । उनी संयुक्त परिवारमा हुर्किएका थिए ।

रावका पिता प्रहरीमा नोकरी गर्ने हुनाले नोकरीको सिलसिलामा अधिकांश समय घरभन्दा टाढा नै हुन्थे । उनकी आमाले आफ्ना सन्तानलाई अनुशासनमा राखेर हुर्काएकी थिइन् । बाल्यकालमा उनले आफ्नी आमाले बनाइदिएको खाने, बस्ने, सुत्ने नियमको नियमित पालना गर्नुपथ्र्यो । बाल्यकालदेखि नै उनकी आमाले अनुशासित जीवन जिउन सिकाएकी र त्यही अनुरूप जीवनभर अनुशासित भएर कर्म गरेकाले नै जीवन सफल भएको हुनसक्ने मान्यता रावले राख्थे । उनले यो मान्यता ८० वर्षको अनुभवका आधारमा एक अन्तर्वार्तामा राखेका थिए ।

गणितप्रतिको झुकाव

आठ वर्षको उमेरदेखि नै गणितप्रति रावको झुकाव तथा इच्छा बढेको थियो । विद्यालय जीवनमा रावको गणितप्रतिको लगाव देखेर पिताले उनलाई गणितमा स्नातकोत्तर र विद्यावारिधि गरी गणितमै अनुसन्धान गर्न प्रेरणा दिएका थिए । गणितमा हासिल गरेको सम्पूर्ण उपलब्धिको श्रेय उनले आफ्ना पिताको प्रेरणा र आफ्नै रुचिको कारणले गर्दा हो भनेर भन्ने गर्थे ।

विद्यालय शिक्षापश्चात् उनले गणित, भौतिकशास्त्र र रसायनशास्त्र विषयमा प्रवीणता प्रमाणपत्र तहको अध्ययन गरेका थिए । प्रवीणता प्रमाणपत्र तहको प्रथम र द्वितीय दुवै वर्षको परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा उनलाई चन्द्रशेखर छात्रवृत्ति प्रदान गरिएको थियो । चन्द्रशेखर छात्रवृत्ति प्राप्त भएपछि उनमा अध्ययनप्रतिको लगाव अझ बढेको र आफ्ना पिताको सुझाव र इच्छा अनुसार गणित अध्ययनमा समर्पित भएको भनेर उनले धेरै अन्तर्वार्तामा आफ्ना कुरा व्यक्त गरेका छन् ।

अनुशासनमा आमाको योगदान

आफ्नी आमाले सिकाएको अनुशासनको पालना गरेकै कारणले आफू सफल भएको भनेर उनले धेरै ठाउँमा भनेका छन् । उनकी आमाले आफ्ना छोराछोरीको लागि समय तालिका अनुसार सुत्ने, खेल्ने, अध्ययन गर्ने गराउँथिन् । रावले भने अनुसार विद्यालय जीवनमा बेलुकी ४ देखि ६ बजेसम्म खेल्ने, ६ देखि ९ बजेसम्म अध्ययन गर्ने, त्यसपछि सुत्ने र बिहान ४ देखि ६ बजेसम्म अध्ययन गर्ने समय उनकी माताले कडा रूपले आफ्ना सन्तानलाई पालना गराएकी थिइन् ।

प्रहरीको नोकरीबाट अवकाश प्राप्तिपछि रावका पिता घरमै बसेर आफ्ना सन्तानको गतिविधि नियाल्दै उनीहरूलाई मार्गनिर्देशन गर्ने गर्थे । सी.आर. रावको शैक्षिक सफलता देखेर उनका पिता हषिर्त हुन्थे र भन्थे, ‘हाम्रो गौरव, आशा र उमङ्ग ।’ उनको पिताको आकाङ्क्षा रावले गणितमा विद्यावारिधि गरी अनुसन्धान गरेर सफल गणितज्ञ बनून् भन्ने थियो । तर दुर्भाग्यवश, रावले गणितमा स्नातकोत्तर तहको परीक्षामा प्रथम श्रेणीमा प्रथम भएको परीक्षाफल आउनुभन्दा केही महिनाअघि मात्र रावका पिता स्वर्गवासी भए । पिताको इच्छा अनुरूप नै रावले क्याम्बि्रज विश्वविद्यालयबाट तथ्याङ्कशास्त्रमा विद्यावारिधि गरे ।

रावले बीस वर्ष नपुग्दै आन्” विश्वविद्यालयबाट गणितमा स्नातकोत्तर तह उत्तीर्ण गरेपश्चात् जागिरको खोजीको क्रममा अन्तर्वार्ता दिन कलकत्ता पुगेका थिए । त्यसैवेला राव दक्षिण भारतीय विद्यार्थीको साथ लागेर प्रेसिडेन्सी कलेज कलकत्ताको भौतिक विज्ञानको प्रयोगशालामा पुगे । भौतिकशास्त्रका प्राध्यापक प्रशान्तचन्द्र महलनोबिसले प्रेसिडेन्सी कलेजका केही कोठामा इन्डियन स्टाटिस्टिकल इन्सटिच्युट संस्था स्थापना गरेर एकवर्षे तथ्याङ्कशास्त्रको तालिमको सुरुवात गरेका हुन्छन् । जागिर र अनुसन्धानको सम्भावना बढ्ने सोचेर राव एकवर्षे तथ्याङ्कशास्त्रको तालिमका लागि इन्डियन स्टाटिस्टिकल इन्स्टिच्युटमा भर्ना हुन्छन् ।

कलकत्तामा अध्ययन गर्न बस्दा लाग्ने खर्च दाजु र आमाले बेहोर्ने भएपछि उनी ढुक्कले आफ्नो अध्ययनमा लाग्छन् । इन्डियन स्टाटिस्टिकल इन्सटिच्युटमा औपचारिक अध्ययन गर्नुका साथसाथै त्यहाँ कार्यरत सैद्धान्तिक गणितीय तथ्याङ्कशास्त्रीको अनुसन्धानपत्र अध्ययन र उनीहरूसँग मिलेर सैद्धान्तिक पत्रको सहलेखनमा राव व्यस्त हुन्छन् । इन्डियन स्टाटिस्टिकल इन्स्टिच्युटमा भर्ना भएको तीन महिनामै उनी अनुसन्धानपत्र प्रकाशित गर्न सक्षम हुन्छन् । उनको यो निरन्तरता त्यो वर्षभरि चलिरहन्छ ।

पाइथागोरसले विकास गरेको साध्यलाई पाइथागोरसको साध्य भने जस्तै रावले विभिन्न कालखण्डमा प्रकाशित गरेका अनुसन्धानमूलक पत्रमा विकास गरेका सिद्धान्तलाई विश्व प्राज्ञिक समुदायले उनकै नाममा नामकरण गरेका छन्

त्यसैबखत कलकत्ता विश्वविद्यालयले भारतमै सर्वप्रथम तथ्याङ्कशास्त्रमा दुईवर्षे स्नातकोत्तर कार्यक्रम सुरु गर्छ । यो कार्यक्रम बेलायतपछि भारतमै सुरु भएको हुन्छ । राव उक्त कार्यक्रममा विद्यार्थीका रूपमा भर्ना हुन्छन् र सर्वोत्कृष्ट नतिजा सहित तथ्याङ्कशास्त्रमा स्नातकोत्तर तह पास गर्छन् । त्यस बखत तथ्याङ्कशास्त्रका पाठ्यपुस्तक नलेखिएका हुनाले कलकत्ता विश्वविद्यालयमा तथ्याङ्कशास्त्रको अध्यापन तथ्याङ्कशास्त्रका अनुसन्धानपत्रमा आधारित भएर हुने गथ्र्यो । उनले स्नातकोत्तर तहमा लेखेको शोधपत्रको स्तर विद्यावारिधि तहको शोधपत्रको स्तर सरह छ भनेर शोधपत्रको बाहृय मूल्याङ्कनकर्ताले टिप्पणी लेखेका थिए ।

पङ्क्तिकार केही वर्षअघि कलकत्ता विश्वविद्यालयको तथ्याङ्कशास्त्र विभागमा तालिमका लागि जाँदा त्यहाँको भव्य तथ्याङ्कशास्त्रको पुस्तकालय र प्राध्यापकमा भएको विषयको गहिराइ देखेर छक्क परेको थियो । कलकत्ता विश्वविद्यालयबाट तथ्याङ्कशास्त्रको अध्ययनपश्चात् उनी सोही विश्वविद्यालयमा शिक्षण सहायक तथा अनुसन्धान सहायकका रूपमा कार्य सुरु गर्छन् ।

क्याम्ब्रिज यात्रा

केही वर्ष कलकत्ता विश्वविद्यालयमा तथ्याङ्कशास्त्रको शिक्षण सहायक तथा अनुसन्धान सहायकको रूपमा कार्य गरेपश्चात् राव आधुनिक तथ्याङ्कशास्त्रका पिता आर.ए. फिसरको सुपरीवेक्षणमा विद्यावारिधि तहको अनुसन्धान गर्ने गरी क्याम्बि्रज विश्वविद्यालयमा भर्ना हुन्छन् । उनका सुपरीवेक्षक फिसरले उनलाई अनुसन्धानका लागि समस्या आफैं छान्नु र आवश्यक परेको समयमा भेट्नु भनेर रावलाई स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न उत्प्रेरित गर्छन् । रावले सोही अनुरूप आफ्नो विद्यावारिधि तहको अनुसन्धान सम्पन्न गर्छन् र केही समय त्यहीं अनुसन्धान गरी बस्छन् । त्यो समयमा उनले ३० वटा उच्चस्तरीय अनुसन्धानपत्र प्रकाशित गरिसकेका हुन्छन् ।

पुनः इन्डियन स्टाटिस्टिकल इन्स्टि च्युटमा

क्याम्बि्रज विश्वविद्यालयबाट तथ्याङ्कशास्त्रमा विद्यावारिधि गरेपश्चात् राव पुनः इन्डियन स्टाटिस्टिकल इन्स्टिच्युटमा र्फकन्छन् र २९ वर्षकै उमेरमा प्रोफेसर तथा अनुसन्धान निर्देशकका रूपमा आफ्नो प्राज्ञिक कार्य सुरु गर्छन् । लगभग ४० वर्षसम्म उनी त्यो संस्थामा आबद्ध हुन्छन् र धेरैभन्दा धेरै विद्यार्थीको विद्यावारिधि शोधकार्यको सुपरीवेक्षण गर्छन् । उनी आफैंले पनि त्यो समयमा अत्यधिक अनुसन्धानपत्र प्रकाशित गर्न सफल हुन्छन् । उनले त्यस बखत लेखेका अनुसन्धानपत्र विश्वका प्रमुख जर्नलमा प्रकाशित भएका छन् ।

प्रशान्तचन्द्र महलनोबिसले स्थापना गरेको इन्डियन स्ट्याटिकल इन्स्टिच्युटलाई विश्व प्राज्ञिक जगत्मा चिनाउन सी.आर. रावको तथ्याङ्कशास्त्र र इन्डियन स्ट्याटिकल इन्स्टिच्युटप्रतिको समर्पित योगदान उच्च रहेको पाइन्छ । पङ्क्तिकारले इन्डियन स्ट्याटिकल इन्स्टिच्युटबाट फरक-फरक दुई वटा तालिममा सहभागी हुने अवसर प्राप्त गरेको थियो । त्यहाँको सिकाइ विधिमा विषयवस्तुको गहिराइमा पुगेर छलफल गर्ने पद्धतिले मलाई लोभ्याएको थियो र आफ्नो देशमा पनि तथ्याङ्कशास्त्र अध्ययन-अध्यापन गर्ने त्यस्तै संस्था खोल्न पाए हुन्थ्यो भन्ने लाग्छ ।

इन्डियन स्टाटिस्टिकल इन्स्टिच्युटबाट ४० वर्ष सक्रिय रूपले प्राज्ञिक तथा प्रशासनिक सेवा पूरा गरेर ६० वर्षको उमेरमा अनिवार्य अवकाश लिएपछि रावले प्रशासनिक जिम्मेवारी विना नै विशुद्ध रूपमा अनुसन्धान गतिविधिमा संलग्न भए । अनुसन्धानका कार्यलाई जारी राख्न भारतमा उपयुक्त जागिर पाउने प्रयास गरे । भारतमा काम गर्ने उपयुक्त अवसर प्राप्त नभएपछि उनले संयुक्त राज्य अमेरिकाको विश्वविद्यालयले राखेको प्रतिष्ठित प्रोफेसरसिपको प्रस्ताव स्वीकार गर्दै उनले पिटर्सबर्ग विश्वविद्यालयमा प्रोफेसर र पेन्सिलभेनिया स्टेट युनिभर्सिटीमा तथ्याङ्कको प्राध्यापक एबरली (अध्यक्ष) का रूपमा थप २५ वर्ष तथ्याङ्कशास्त्रका विभिन्न क्षेत्रहरूमा आफ्नो अनुसन्धान जारी राख्दै काम गरे ।

त्यहाँबाट उनले ८१ वर्षको उमेरमा सक्रिय सेवाबाट अवकाश लिएर पेन्सिल्भेनिया स्टेट युनिभर्सिटीमा एबरली प्रोफेसर एमेरिटस र सेन्टर फर मल्टिवेरिएट एनालिसिसको निर्देशकका रूपमा आबद्ध भएर आफ्ना अनुसन्धान गतिविधि जारी राखे । सन् २०१० मा उनी बफेलो विश्वविद्यालयमा अनुसन्धान प्रोफेसरसिप स्वीकार गर्दै बफेलो गए । उनी भारतमा ४० वर्षको बसाइमा २०१ शोधपत्र र अमेरिकामा ३० वर्षको बसाइमा २७२ शोधपत्र प्रकाशित गर्न सफल भए । उनको अन्तिम अनुसन्धानमूलक पत्र प्रकाशित हुँदा उनी १०० वर्षका थिए ।

सी.आर. राव ६ दाजुभाइ र ४ बहिनीहरूको परिवारमा आठौं बच्चा हुन् । परिवारमा आठौं सन्तान भगवान् कृष्णको नाममा नाम राख्ने परम्परा अनुसार उनको नाम राखिएको थियो । बनारस हिन्दू विश्वविद्यालयबाट इतिहासमा, इलिनोइस विश्वविद्यालय संयुक्त राज्य अमेरिकाबाट मनोविज्ञानमा र शिक्षकको प्रशिक्षणमा स्नातक डिग्री हासिल गरेकी भार्गवीसँग उनको विवाह भयो । भार्गवीले धेरै वर्षसम्म कोलकाताको जादवपुर विश्वविद्यालयमा मनोविज्ञानको प्राध्यापकका रूपमा सेवा गरिन् । राव दम्पतीका एक छोरा र एक छोरी छन् ।

रावले आफ्नो जीवनकालमा १४ वटा पुस्तक लेखेका छन्, जसमध्ये केही पुस्तक धेरै पि्रय भए र धेरै भाषामा अनूदित छन् । उनले लेखेको पुस्तकमध्ये धेरैले रुचाएको पुस्तक लिनियर स्टाटिस्टिकल इन्फेरेन्स एन्ड इट्स अप्लिकेसन हो । यो ८ भाषामा अनुवाद भएको छ र विश्वका प्रायः सबै विश्वविद्यालयमा तथ्याङ्कशास्त्रको उच्च अध्ययनको पाठ्यक्रममा यो पुस्तक समावेश गरेको पाइएको छ ।

पङ्क्तिकारले तथ्याङ्कशास्त्रमा स्नातकोत्तर गर्दा सोही पुस्तकमा आधारित भएर १०० पूर्णाङ्कको लिनियर स्टाटिस्टिकल इन्फेरेन्स अध्ययन गर्नुपथ्र्यो र यो विषय पङ्क्तिकारका लागि सर्वप्रिय थियो । त्यस्तै उनको अर्को पुस्तक स्टाटिस्टिक एन्ड ट्रुथ : पुटिङ चान्स टु वर्क विभिन्न ८ भाषामा अनुवाद भएको छ । सयौं सङ्ख्याका उनका अनुसन्धानमूलक लेख विभिन्न उच्चस्तरीय जर्नलमा प्रकाशित छन् ।

सी.आर. रावको नाममा नामकरण भएका साध्यहरू

पाइथागोरसले विकास गरेको साध्यलाई पाइथागोरसको साध्य भने जस्तै रावले विभिन्न कालखण्डमा प्रकाशित गरेका अनुसन्धानमूलक पत्रमा विकास गरेका सिद्धान्तलाई विश्व प्राज्ञिक समुदायले उनकै नाममा नामकरण गरेका छन् ।

रावका नाममा नामकरण भएका केही मुख्य साध्यहरू यसप्रकार रहेका छन्- क्रेमर राव इनिन्क्वालिटी, राव ब्ल्याकवेलाइजेसन, राव मेटि्रक, राव यु टेस्ट, मल्टिभेरिएट अनालिसिस अफ भेरिएन्स, अर्थोगोनल एरे, रावज प्याराडक्स इन मल्टिभेरिएट अनालिसिस एन्ड सेम्पल सर्वे, जेनरलाइज्ड इन्भर्स अफ मेटि्रक्स, क्वान्टम क्रेमर राव इनिन्क्वालिटी, क्रेमर-राव फङ्सनल, फिसर-राव साध्य, रावज थिओरम अन सेकेन्ड अर्डर इफिसेन्सी, स्टेरियोलजिकल राव-ब्लैकवेल थिओरम, बर्बे-राव फी एन्ट्रोपी एन्ड डाइभर्जेन्स थिओरम, रावज क्वाड्राटिक एन्ट्रोपी, राव-रुबिन, लाउ-राव, लाउ-राव-सानभाग, कागन-लिनिक-रावज क्यरट्रराइजेसन अफ प्रोबेबिलिटी डिस्टि्रब्युसन, हृयामिङ-राव बाउन्ड र हृयामिङ-राव कन्स्ट्रक्सन, गेरी राव थिओरम एन्ड इन्टिग्रेटेड फङ्क्सनल इक्वेसन, ग्लोबल बेसियन क्रेमर-राव बाउन्ड, क्वान्टम क्रेमर राव बाउन्ड, क्रेमर राव फङ्क्सनल स्टेरियोलजिकल राव-ब्लैकवेल थिओरम, राव-ब्ल्याकवेलाइज्ड पार्टिकल्स फिल्टर, क्वान्टम क्रेमर-राव बाउन्ड र राव मेजर ।

पुरस्कार र सम्मान

प्रोफेसर सी.आर. रावले केक काटेको हेर्ने तथा उनलाई जन्मदिनको शुभकामना प्रदान गर्ने कार्यमा सरिक भएर उनलाई जन्मदिनको शुभकामना भन्न पाउँदा बहुतै खुसी लागेको थियो । त्यो सम्झिंदा अझै पनि खुसी लाग्छ

प्रोफेसर सी.आर. रावले विश्वका एक दर्जनभन्दा बढी प्रतिष्ठित पुरस्कार र सम्मान प्राप्त गरेका छन् । सन् २०२३ मा उनले तथ्याङ्कशास्त्रको नोबल पुरस्कार सरहको इन्टरनेशनल प्राइज इन स्टाटिस्टिक्स प्राप्त गरेका छन् । त्यस्तै १२ जून २००२ मा अमेरिकन राष्ट्रपति जर्ज डब्लु. बुसले वैज्ञानिक क्षेत्रको सर्वोच्च पुरस्कार नेशनल मेडल अफ साइन्सले सी.आर. रावलाई सम्मानित गरेका थिए ।

त्यस्तै पेन्सिलभेनिया स्टेट युनिभर्सिटीले तथ्याङ्कमा सी.आर. र भार्गवी राव पुरस्कार स्थापना गरेको छ भने भारत सरकारले तथ्याङ्कशास्त्रमा उनकै नाममा उच्चस्तरको पुरस्कार स्थापना गर्नुका साथसाथै उच्च शिक्षामा अध्ययन-अनुसन्धान गर्नका लागि शैक्षिक संस्था स्थापना गरेको छ । हैदरावादको एक सडकको नामकरण पनि उनैको नाममा गरिएको छ । विभिन्न पुरस्कार तथा उपाधि प्राप्त गरेका रावले आफ्नो जीवनकालमा ३९ वटा मानार्थ विद्यावारिधिले सम्मानित हुने अवसर प्राप्त गरेका थिए । उनलाई विभिन्न देशका विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेका थिए । उनले आफ्नो जीवनकालमा ५१ जना विद्यावारिधिका शोधार्थीलाई सुपरीवेक्षण गरेका थिए ।

प्रोफेसर सी.आर. राव र उनले तथ्याङ्कशास्त्रमा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै र नेपाली प्राज्ञिक जगत्मा उनको परिचय गराउन आवश्यक भएको महसुस गरेर सन् २०१८ मा मैले उनलाई एउटा इमेल मार्फत पत्र पठाएको थिएँ, जसमा मैले उनलाई नेपालको विश्वविद्यालयमा आएर तथ्याङ्कशास्त्र विषयमाथि प्राज्ञिक मन्तव्य राखिदिन अनुरोध गरेको थिएँ । भोलिपल्ट नै मैले मेरो पत्रको उत्तर प्राप्त गरें । उहाँले लेख्नुभएको थियो, ‘म अहिले ९८ वर्षको भएँ र उपचारको क्रममा छु, त्यसैले नेपाल आउन असमर्थ छु ।’ त्यसपछि पनि उहाँसँग मेरो पत्राचार निरन्तर भई नै रहृयो । यसै क्रममा प्रोफेसर सी.आर. रावलाई उनी एक सय वर्ष पुगेको उपलक्ष्यमा उनको अन्तर्वार्ता लिने प्रस्ताव राखें । उनले सहर्ष स्वीकारे । मैले फेरि प्रस्ताव राखें एक सय वर्षलाई सय प्रश्न मार्फत उनलाई बुझ्ने । उनले त्यो पनि स्वीकारे । प्रश्न तयार पार्ने क्रममा उनलाई पहिले अरूले नै सोधिसकेका प्रश्न नदोहोरियोस् भनेर मैले उनले त्यस समयसम्म दिएका अधिकांश अन्तर्वार्ता सुनेको तथा अध्ययन गरेको थिएँ । यो कार्य निकै जटिल थियो ।

मलाई प्रश्नपत्र निर्माण गर्न तीन महिना लागेको थियो । मैले तथ्याङ्कशास्त्रका प्राध्यापक मेरा श्रद्धेय गुरु डा. शङ्कर खनालको मार्गदर्शन अनुसार एक सय प्रश्न तयार पारी उनलाई पठाएँ । उनको स्वास्थ्य क्रमशः कमजोर हुँदै गयो । स्वास्थ्यका कारणले मेरा सबै प्रश्नको उत्तर त उनले दिन सकेनन्, तर पनि केही महत्वपूर्ण प्रश्नको उत्तर उनले पठाए (उनीसँगको अन्तर्वार्ता प्रकाशनका लागि तयारी गर्दैछु) । प्रोफेसर सी.आर. रावले मेरा प्रश्नको उत्तर दिने क्रममा उनकी छोरी प्राध्यापक तेजा रावको प्रत्यक्ष सहयोग तथा संलग्नता रहेको थियो ।

यस क्रममा प्राध्यापक तेजाको सहयोगका लागि म हृदयदेखि नै आभारी छु । त्यसैबीच सन् २०२० सेप्टेम्बर १० मा उहाँ १०० वर्ष पुगेको उपलक्ष्यमा उहाँको सुपरीवेक्षणमा विद्यावारिधि शोधकार्य गरेका शोधार्थी र परिवारका सदस्य मिलेर भव्यताका साथ जन्मदिन मनाउने तयारी भएको थियो । पारिवारिक तथा विश्वविद्यालय तहमा उनको १००औं जन्मदिन भव्यताका साथ मनाउने तयारी भयो । दुवै कार्यक्रममा मलाई जुममा सहभागी हुने गरी निम्तो प्राप्त भयो ।

पारिवारिक तवरमा मनाइएको जन्मदिनको कार्यक्रममा मलाई उहाँकी सुपुत्री प्राध्यापक तेजा रावले निमन्त्रणा पठाउनुभएको थियो भने विश्वविद्यालयले मनाउने जन्मदिनको कार्यक्रममा हैदरावाद विश्वविद्यालय क्याम्पस, सी.आर. राव एड्भान्स्ड इन्स्टिच्युट अफ मेथमेटिक्स, स्टाटिस्टिक्स एन्ड कम्प्युटर साइन्सले आयोजना गरेको कार्यक्रममा सहभागी हुने मौका प्राप्त भएको थियो ।

प्रोफेसर सी.आर. रावले केक काटेको हेर्ने तथा उनलाई जन्मदिनको शुभकामना प्रदान गर्ने कार्यमा सरिक भएर उनलाई जन्मदिनको शुभकामना भन्न पाउँदा बहुतै खुसी लागेको थियो । त्यो सम्झिंदा अझै पनि खुसी लाग्छ ।

अमेरिकन स्टाटिस्टिकल एशोसिएसनले सी.आर. रावलाई ‘लिभिङ्ग लेजेन्ड इन स्टाटिस्टिक्स’ भनेर मानेको हुनाले उनका साथीहरू र उनले विद्यावारिधिमा सुपरीवेक्षण गरेका विद्यार्थी र उनीबाट इन्डियन स्टाटिस्टिकल इन्स्टिच्युटमा दीक्षित भएका विद्यार्थीले उनका परिवारका सदस्यसँग मिलेर १० सेप्टेम्बर २०२३ मा उनको १०३औं जन्मदिन तथा उनले बाँचेको जीवनलाई उत्सवका रूपमा मनाउने निधो गरेका रहेछन् ।

त्यसै बखत एक बिहान मैले मेरो इमेल खोलेर हेर्दा उनकी छोरी प्राध्यापक तेजा रावले मलाई पनि उक्त उत्सवमा सहभागी हुनका लागि निमन्त्रणा पठाएकी रहिछन् । लगभग ४८ जनाको उपस्थितिमा हामी सबै मिलेर उक्त उत्सव मनाएका थियौं । कार्यक्रममा मलाई पनि आफ्नो मन्तव्य राख्ने अवसर प्राप्त भएको थियो ।

नेपालको प्राज्ञिक जगत्ले प्रोफेसर सी.आर. रावको जीवनबाट धेरै शिक्षा लिन सक्छ । हाम्रो देशका विभिन्न सरकारी तथा निजी विद्यालयका प्रशस्तै विद्यार्थीको गणितप्रति उच्च लगाव छ । हाम्रो समाजले पनि गणित विषयलाई उच्च प्राथमिकतामा राखेको पाइन्छ । गणित शिक्षाको जग राम्रो भएको खण्डमा गणितमा आधारित विभिन्न सैद्धान्तिक विज्ञान जस्तै तथ्याङ्कशास्त्र, भौतिकशास्त्र, इन्जिनियरिङ, कम्प्युटर विज्ञान, अर्थशास्त्रको गहिरो अध्ययन र ती विषयमाथि दक्षता हासिल गर्न सकिन्छ ।

गणितीय विधिमा आधारित भएर माथिका विषयमा अध्ययन-अनुसन्धान गर्न एकदमै कम लगानी गरे पुग्छ, किनकि त्यसका लागि महँगो प्रयोगशालाको आवश्यक पर्दैन । गणित तथा गणितीय विज्ञानका विद्यार्थी तथा शोधार्थी माथि सरकारले लगानी गरेको खण्डमा नेपालका विद्यार्थी पनि भविष्यमा सी.आर. राव जस्तै अथवा न्यूटन जस्तै अथवा आइन्स्टाइन जस्तै बन्ने सम्भावना बढ्दछ । अर्को कुरा, अध्यापन-अनुसन्धानमा सक्रिय प्राध्यापकलाई ६०/६३ वर्षे उमेरहदका कारणले अवकाशप्राप्त भएर निष्क्रिय जीवन बिताउन बाध्य पार्ने नियममा संशोधन गर्न सकेमा नेपालका विश्वविद्यालयमै पनि सी.आर. राव जस्तै प्राज्ञ जन्मने सम्भावना उच्च रहनेछ ।

अन्त्यमा, प्रोफेसर सी.आर. रावको सम्झनामा लेखिएको यो लेख उनैलाई समर्पित गर्दै उनीप्रति पुनः एकपटक भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

(लेखक काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजमा तथ्याङ्कशास्त्रको प्राध्यापन गर्नुका साथै काठमाडौं विश्वविद्यालय उपकुलपतिको कार्यालय, सामुदायिक सम्बन्ध विस्तार महाशाखामा सहनिर्देशकका रूपमा कार्यरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?