+

एसियाड टर्च र्‍यालीमा सहभागी हुन पाउनु गर्वको क्षण हो : दीपक महर्जन

२०८० असोज  १ गते १६:५२ २०८० असोज १ गते १६:५२
एसियाड टर्च र्‍यालीमा सहभागी हुन पाउनु गर्वको क्षण हो : दीपक महर्जन

१ असोज, काठमाडौं । १९ औं एसियन गेम्सको टर्च र्‍यालीमा सहभागी हुन नेपाली बक्सिङ प्रशिक्षक दीपक महर्जन सोमबार चीन प्रस्थान गरेका छन् ।

एसियन गेम्स सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हान्झाउमा हुँदैछ । त्यसअघि अन्तिम चरणको टर्च र्‍यालीमा सहभागि हुन दीपक चीन प्रस्थान गरेका हुन् । टर्च र्‍यालीको अन्तिम चरण आउने बुधबार हुनेछ ।

एसियाडको टर्च र्‍यालीमा दीपक सहभागी हुन लागेका हुन् । त्यस्तो अवसर आफूले पाएकोमा गर्व लागेको महर्जनले बताए । ‘सम्पूर्ण नेपाली खेलाडी र प्रशिक्षकको प्रतिनिधित्व गर्दै टर्च र्‍यालीमा सहभागी हुन जाँदै गर्दा एकदमै गर्व लागेको छ’, चीन उड्नुअघि दीपकले अनलाइनखबरसँग भने ।

दीपक महर्जनले २०१० मा चीनमै भएको (ग्वाङझाउ) एसियाडमा नेपालका लागि एक मात्र कास्य पदक जितेका थिए । १९औं एसियाडमा दीपक नेपाली बक्सिङ टिमको प्रशिक्षक समेत छन् । नेपाली बक्सिङ टोली आउने बिहीबारै चीन प्रस्थान गर्नेछन् । टर्च र्‍यालीपछि उनी नेपाली टोलीसँग समावेश हुनेछ ।

१९औं एसियाडको टर्च र्‍याली चीनको पूर्व क्षेत्र झेजियाङ प्रान्तस्थित हान्झाउ शहरबाट ८ सेप्टेम्बरमा सुरु भएको थियो । झेजियाङ प्रान्तका ११ शहरमा परिक्रमा गराइने  उक्त टर्च र्‍याली २० सेप्टेम्बरमा पुन: हान्झाउमै आइपुग्नेछ ।

त्यसपछि २३ सेप्टेम्बर शनिबार हान्झाउस्थित हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा १९औं एसियाडको भव्य उद्घाटन समारोह हुनेछ ।

फुटबल, क्रिकेट र भलिबल खेलको प्रतिस्पर्धा भने १९ सेप्टेम्बर देखि नै सुरु हुनेछ । बक्सिङको प्रतिस्पर्धा भने २४ सेप्टेम्बर देखि सुरु हुनेछ ।

बक्सिङमा नेपालबाट पुरुषतर्फ ७ र महिलातर्फ ६ गरी कूल १३ खेलाडीले सहभागिता जनाउँदैछ ।

पुरुषतर्फ रविन थापाले ५१ केजी, बुद्ध लामाले ५७ केजी, भूपेन्द्र थापाले ६३।५ केजी, दिपेश लामाले ७१ केजी, दीपक श्रेष्ठले ८० केजी, रविन नेपालले ९२ केजी र आशिष दवाडीले ९२ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी महिलातर्फ सुष्मा तामाङले ५० केजी, मीनु गुरुङले ५४ केजी, चन्द्रकला थापाले ५७ केजी, संगीता सुनारले ६० केजी, विनिता थापामगरले ६६ केजी र सरस्वती रानाले ७५ केजी तौल समूहमा भिड्ने छन् ।

एसियाली खेलकुद दीपक महर्जन बक्सिङ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय