+
+

सिन्धुलीको कमला मावि उत्कृष्ट

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २ गते १२:१९

२ असोज, काठमाडौं । सरकारी विद्यालयतर्फ सिन्धुलीको कमला मावि दुधौली पहिलो भएको छ । सिन्धुलीकै कमला मावि कमलामाई दोस्रो र सल्यानको नारायण मावि, कुमाख तेस्रो भएका छन् ।

राष्ट्रिय शिक्षा दिवस २०८० मा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले उत्कृष्ट विद्यालय घोषणा गरेको हो ।

पहिलो भएको विद्यालयलाई राष्ट्रिय शिल्ड, ध्वजा र तीन लाख नगद, दोस्रोलाई दुई लाख नगद र तेस्रोलाई एक लाख नगद पुरस्कार प्रदान गरिएको छ ।

निजी अर्थात् संस्थागत विद्यालयतर्फ राष्ट्रियस्तरमा ललितपुरको प्रसादी एकेडेमी पहिलो, काठमाडौंको सेन्ट जेभियर्स कलेज दोस्रो र  काठमाडौंकै बूढानीलकण्ठ स्कुल तेस्रो भएका छन् ।

२०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजाको आधारमा उत्कृष्ट घोषणा गरिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी प्राविधिक विद्यालयतर्फ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सिफारिसका आधारमा रुपन्देहीको कोरिया नेपाल बहुप्राविधिक शिक्षालय, मोरङको मनमोहन मेमोरियल पोलिटेक्निक, झापाको लाइफलाइन अस्पताल प्रालि र मोरङको आदर्श माविले प्रतिसंस्था एक÷एक लाख रुपैयाँको पुरस्कार पाएका छन् ।

उत्कृष्ट क्याम्पसतर्फ विश्वविद्यालय अनुदान आयोगको मूल्यांकनका आधारमा आंगिक क्याम्पसमध्ये ललितपुरको पुल्चोक क्याम्पस, सामुदायिकतर्फ रुपन्देहीको लुम्बिनी वाणिज्य क्याम्पस, निजीतर्फ काठमाडौंको काठमाडौं मोडेल कलेजले प्रतिसंस्था दुई लाख ५० हजार रुपैयाँ राशिको पुरस्कार पाउने छन् ।

यसै वर्षदेखि स्थापना गरिएकोे समाज कल्याण शिक्षा पुरस्कार भक्तपुरको एसओएस बालग्राम, सुर्खेतको कोपिला भ्याली सेवा समाज र काठमाडौंको माला खरेल, बाल सारथी एकेडेमीलाई प्रदान गरिने छ । यो पुरस्कारको राशी तीन लाख रुपैयाँ छ ।

सडक बालबालिका, एचआईभी एड्स सङ्क्रमितका सन्तान, अशक्त तथा असहाय बालबालिकालाई पालनपोषणसहित शिक्षा प्रदान गरी राष्ट्रियस्तरमा उल्लेखनीय योगदान दिएका व्यक्ति र संस्थालाई यो पुरस्कार दिइन्छ ।

‘समावेशी र सीपमूलक शिक्षा : स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने आदर्श वाक्यका साथ आज राष्ट्रिय दिवस मनाइँदैछ । राष्ट्रिय शिक्षा दिवसको अवसरमा पुरस्कृत हुनेहरुको नामावली आज शिक्षा मन्त्रालयले सार्वजनिक गरेको छ ।

स्वदेश र विदेशका विश्वविद्यालयबाट विभिन्न विषयमा विद्यावारिधि उपाधि प्राप्त ७९० जनालाई ‘क’, स्नातकोत्तर तहमा आफ्नो विधामा सर्वोत्कृष्ट हुने ७१ जनालाई ‘ख’ र स्नातक तहमा सर्वोत्कृष्ट हुने ४४ जनालाई ‘ग’ श्रेणीको पदक वितरण गरिने छ ।

सरकारले संविधानको मौलिक हकको कार्यान्वयनका लागि ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधार मानेर असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?