+
+

लामाचौर भलिबलको उपाधि गण्डकीले जित्यो

महिलातर्फ नेपाल पुलिसलाई उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २ गते १३:५४

२ असोज, पोखरा । घरेलु टिम गण्डकी प्रदेशले लामाचौर कप भलिबल प्रतियोगितामा पुरुषतर्फको उपाधि जितेको छ । मंगलबार भएको फाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा हराउँदै गण्डकीले उपाधिसहित १ लाख ५० हजार रुपैयाँ हात पारेको छ ।

लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माविको भलिबल कोर्टमा भएको फाइनलमा पहिलो सेट २५–२३ ले जित्दै अग्रता लिएको पुलिसलाई दोस्रो सेट गण्डकीले २५–१९ ले पराजित गर्‍यो । तेस्रो सेट पुलिसले २५–२१ मा जिते पनि त्यसपछिका दुई सेट लगातार जित्दै गण्डकीले उपाधि जितेको हो ।

चौथो सेट पुलिसले २३–२० को स्थितिमा पुर्‍याए पनि खेलमा फर्किँदै गण्डकीले २८–२६ को सेटमा जित्यो । अन्तिम सेट भने गण्डकीले १५–११ को सहज अंकमा जित्यो । प्रकाश नपुगेका कारण सोमबार फाइनल खेल १–१ सेटको बराबरीपछि मंगलबारका लागि सरेको थियो ।

उपविजेता बनेको विभागीय टिम नेपाल पुलिस क्लबले १ लाख रुपैयाँ हात परेको छ । गत वर्ष पनि नेपाल पुलिस क्लब र गण्डकीको टोली नै फाइनल पुगेका थिए । लगातार वर्षाका कारण खेल रोकिएपछि पुरस्कार बाँडेका थिए ।

प्रतियोगितामा गण्डकीका रवि केसी सर्वोत्कृष्ट खेलाडी घोषित भए । यस्तै गण्डकीका हरि पाण्डे (वेस्ट ब्लकर), किरण गुरुङ (वेस्ट स्पाइकर) र रमेश केसी (वेस्ट कोच) बने । पुलिसका कुलबहादुर थापा (वेस्ट सर्भर), अभिषेक थापा (वेस्ट सेटर) र भीम गाहा (वेस्ट लिबेरो) घोषित भएको रेफ्री टहलसिंह थापाले बताए ।

महिलातर्फ पुलिस विजयी

लामाचौर कप भलिबलमा पुरुषतर्फ उपविजेता भए पनि नेपाल पुलिस क्लबले महिलातर्फको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिका न्यू डायमन्डलाई ३–१ सेटमा हराउँदै उपाधि जितेको हो ।

लिग चरणका सबै खेलमा अपराजित यात्रा कायम गरेको पुलिसले न्यू डायमण्डमाथि फाइनलमा १८—२५, २५—२२, २५—१४ र २५—२० सेटको जित निकाल्दै १ लाख ५० हजार पुरस्कार प्राप्त गरेको छ । उपविजेताले न्यू डायमण्डले १ लाख रुपैयाँ पायो । गत वर्ष पनि नेपाल पुलिसले न्यू डायमन्ड एकेडेमीलाई फाइनलमा सोझो सेटमा पराजित गर्दै उपाधि जितेको थियो ।

नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा २५ औं संस्करणको लामाचौर तीज महोत्सव अन्तर्गत १० औं संस्करणको लामाचौर राष्ट्रिय भलिबल प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टिमले भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?