+
+
राष्ट्रिय चलचित्र पुरस्कार विवाद :

जुरीको आरोप : फिल्मको नाम सार्वजनिक गर्नेले आर्थिक लेनदेन गरेको छ

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ५ गते ११:५९

काठमाडौं । राष्ट्रिय चलचित्र पुरस्कार-२०८० लाई लिएर उत्पन्न विवाद तत्काल रोकिने छाँटकाँट छैन । उत्कृष्ट फिल्म घोषणा नगरिएको भन्ने आलोचनाका बीच फिल्म ‘प्रकाश’का लेखक र निर्देशक अदालत पुगेका छन् ।

उच्च अदालत पाटनमा दायर यो रिटको सुनुवाइ शुक्रबार न्यायाधीश श्यामजी प्रधानको इजलासमा हुँदैछ । चलचित्र विकास बोर्डविरुद्ध दायर रिटका निवेदकले परमादेश माग गरेका छन् ।

विवाद चर्किंदै जाँदा राष्ट्रिय चलचित्र पुरस्कारको कथानकतर्फका एक जुरी तथा फिल्म लेखक शिवम् अधिकारीले अवार्डमा आर्थिक लेनेदन भएको आरोप लगाएका छन् । उनले जुरीका अर्का सदस्यको नाम नलिइकनै आर्थिक लेनदेनको आरोप लगाएका हुन् ।

फलानो फिल्म नै उत्कृष्ट हो भनेर सार्वजनिक गर्ने जुरीले सम्बन्धितसँग आर्थिक लेनदेन गरेको हुन सक्ने आरोप शिवमले सामाजिक सञ्जालबाट लगाएका हुन् ।

अधिकारी लेख्छन्, ‘नैतिकताको प्रश्न ! फलानो चलचित्रलाई किन सम्मान गरिएन ? त्यो खामभित्र ६१ चलचित्रको रिजल्ट थियो, त्यो फलानो चलचित्र नै किन हुनुपर्थ्यो ? फलानो चलचित्रले किन रिट हाल्यो ? म पनि एक जुरी सदस्यको नाताले यो प्रश्न गर्दैछु किनकि त्यो बन्द खाममा थियो । कसरी एउटा चलचित्रले मात्र रिट गर्‍यो, अरुले किन गरेन ? रहस्यमय छैन र ? अर्को प्रश्न उत्कृष्ट चलचित्र किन घोषणा गरिएन यसको जवाफ मसँग पनि छैन तर फलानो नै हो भनेर जसले सार्वजिनक गर्‍यो, उसले सम्बन्धितहरुसँग आर्थिक लेनदेन गरेको गन्ध आइरहेको छ । त्यस कारण म जुरी सदस्यको नाताले यो प्रकारको भ्रष्टाचारको पनि छानबिन होस् भन्ने चाहन्छु । बन्द खाममा के के छन् बाहिर ल्याउँदै तपाईंलाई दिलाइदिन्छु भनेर आर्थिक लेनदेनको पनि छानबिन हुनु जरुरी छ ।’

राष्ट्रिय चलचित्र पुरस्कारको इतिहासमा जुरी सदस्यले यसरी सार्वजनिक प्लेटफर्ममा लगाएको यस्तो आरोप पहिलोपटक हो । अर्कोतर्फ, नेपालमै सम्भवतः पहिलोपटक उत्कृष्ट फिल्मको विधाबिनै बोर्डले पुरस्कार वितरण गरेको थियो । यो कार्यलाई लिएर चौतर्फी विरोध भइरहेको छ ।

गत ३० अगस्टमा फेसबुकमा एक स्टाटस लेख्दै जुरी सदस्य अनुप भट्टराईले पाँच सदस्यीय निर्णायक टिमले बुझाएको बेस्ट फिल्मको निर्णयलाई चलचित्र विकास बोर्डले किन वितरण गरेन भन्दै लेखेका थिए ।

चलचित्र विकास बोर्डको वेबसाइटअनुसार राष्ट्रिय चलचित्र पुरस्कार-२०८० को निर्णायकमा राजेन्द्र शलभ, सरिता गिरी, शिवम् अधिकारी, अनुप भट्टराई र चेतन सापकोटा सदस्य थिए । जुरी सदस्यमध्येका अधिकारीले आर्थिक लेनदेन भएको आरोप अर्का कुन सदस्यतर्फ लक्षित गरेका हुन् त्यो खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?