+
+

राजनीतिमा हात हाल्दिनँ, विकासबाट हात झिक्दिनँ : राष्ट्रपति पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ६ गते १७:१९

६ असोज, तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले आफू राजनीतिक गतिविधिमा सहभागी नहुने तर विकास निर्माणका काममा सहभागी हुने बताएका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएपपछि पहिलो पटक गृहजिल्ला तनहुँ आएका उनले  व्यास नगरपालिका–३ बीपी वनवाटिकामा निर्माण सम्पन्न भएको सभागृहको उद्घाटन गर्दै सरकारलाई विकासका मुद्दाबारे सचेत गराउने बताएका हुन् ।

‘म दलीय राजनीतिमा हात हाल्दिनँ तर विकासबाट हात झिक्दिनँ । मुलुकलाई विकास चाहिएको छ, जो प्रधानमन्त्री आए पनि म विकासका मुद्दा बारे सचेत गराउँछु’ उनले भने ।

राष्ट्रपति पौडेलले जनताका प्रतिनिधिले बनाएको संविधानको रक्षा गर्नु अहिलेको आवश्यकता भएको बताए । उनले सबैको भावनालाई समेटर अघि बढे स्थायित्व हुने समेत बताए । राष्ट्रपति  पौडेलले जनताको अधिकारको रक्षाको लागि राजनीतिक दल अति आवश्यक रहेको तर अति दलबन्दी भएमा निमुखाको न्याय मर्ने समेत धारणा राखे ।

‘निमुखा जनताले न्याय पाए कि पाएनन्, त्यो दलका प्रतिनिधिले बुझ्नुपर्छ । निमुखालाई न्याय र विपन्नलाई आय दिन सबै दलहरु मिलेर लाग्न आवश्यक छ’ उनले भने ।

उक्त कार्यक्रममा शहरी विकासमन्त्री सीता गुरुङ, गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे लगायत पनि सहभागी भएका थिए ।

करिब ७५० जना क्षमताको उक्त सभाहल गण्डकी प्रदेशकै ठूलो मानिएको छ । २३ करोड ६२ लाख ४३ हजार ३३१ रुपैयाँ लागतमा सो सभाहल डाँफे एमए प्रतिष्ठा जेभीले निर्माण गरेको हो । करिब ६ हजार ५०० वर्गफिट क्षेत्रफलमा रहेको सभाहलमा दुईवटा ब्लक छन् ।

चारतले भवनको भुइँतलामा पार्किङ,  दोस्रो तलामा स्टेज,  तेस्रोमा सेमिनार हल र चौथोमा अतिथिका लागि कपडा परिवर्तन गर्ने र आराम गर्ने कक्ष रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?