+
+

क्रिकेटको केन्द्रीय व्यवस्थापनमा आए पारस

चतुर अध्यक्षमा निर्विरोध दोहोरिए, सचिवमा चुनाव जितेर आए पारस

नमिता दाहाल नमिता दाहाल
२०८० असोज ६ गते २१:०१

६ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को अधिवेशनले शनिबार नयाँ कार्यसमिति चयन गर्दा अध्यक्षमा चतुरबहादुर चन्द नै दोहोरिएका छन् भने सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन् ।

अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित हुँदा सचिवमा भने चुनाव भयो । पारस खड्का र निवर्तमान कार्यबाहक सचिव प्रशान्तबिक्रम मल्लले चुनावी प्रतिस्पर्धा गर्दा खड्का ४८ मत पाएर निर्वाचित भए । मल्लले ३७ मत पाए ।

१७ सदस्यीय कार्यसमितिमा पदाधिकारीबाहेक ३ सदस्य निर्विरोध निर्वाचित भए भने १० जना चुनावबाट निर्वाचित भए । महिला सदस्यमा जयन्तीदेवी भट्ट, कर्णालीबाट प्रतिनिधित्व गर्ने सदस्यमा श्रीधर केसी र लुम्बिनीबाट प्रदीप मजगैया निर्विरोध चयन भए भने अरु प्रदेशका सदस्य र खुला ५ पदमा चुनाव भयो ।

जसमा कोशीबाट अर्जुन पौडेल ४७, गण्डकीबाट सुदीप शर्मा ५२, बागमतीबाट दिवाकर घले ४६,र सुदूरपश्चिमबाट बिक्रम विष्ट ४९ मत पाएर निर्वाचित भए । मधेशका माधवकुमार कर्माचार्य र मोहम्मद दाउद अन्सारीले बराबर ४२ मत पाएपछि गोलाप्रथा गर्दा माधवकुमार कर्माचार्य चुनिए ।

खुला सदस्यमा धीरेन्द्र साउद ५९, दुर्गाराज पाठक ५४, आयुष श्रेष्ठ ५१, वीरेन्द्र चन्द ३४ मत ल्याएर निर्वाचित भए । करण महतरा क्षेत्री र ऋषिराम गौतमले बराबर २६ मत पाएपछि गोला प्रथा गर्दा करण चुनिए ।

चार वर्षे कार्यकालका लागि अध्यक्षमा दोहोरिएपछि चन्दले आफूलाई जिम्मेवारी थपिएको बताए । ‘जिम्मेवारी थपिएको छ । टेष्ट क्रिकेटको सपना बोकेका छौं । त्यो सपना पूरा गर्न पनि आएको हुँ, नेपाली क्रिकेट अब एक स्तर माथि जान्छ’, उनले भने ।

चन्द अघिल्लो कार्यकालमा अध्यक्ष निर्वाचित हुँदा पारस नेपाली क्रिकेट टिमको कप्तान थिए । क्यान निर्वाचित भएको केही समयपछि नै पारसले राष्ट्रिय टिमको कप्तानबाट राजीनामा दिएका थिए । उनको राजीनामालाई धेरैले चन्दको नेतृत्वप्रति असहमतिको रुपमा बुझेका थिए । चार वर्षपछि नै पारस चन्दसँग सहकार्य गर्ने अवस्थामा आइपुगेका छन् ।

पारसबारे चन्दको टिप्पणी छ, ‘पारस धेरै आइडिया भएको मान्छे हो, सफल कप्तान हो । उसले क्रिकेटलाई नजिकबाट बुझेको छ ।’

पारसको दोस्रो इनिङ्स

नेपाली क्रिकेट टिमका सफल कप्तान र खेलाडी हुन् पारस । उनको कप्तानीमा नेपालले पहिलो पटक विश्वकप खेल्यो । उनी खेलको मैदानमा जति सफल भए व्यवस्थापन क्षेत्रमा प्रवेशको सुरुवातमा पनि उनले सफलता हात पारे । पहिलो प्रयासमै जिल्ला क्रिकेट संघ काठमाडौंको सदस्य बनेका उनी बागमती प्रदेश अध्यक्षमा निर्वाचित भए र शनिबार क्यानको सचिव नै बन्न सफल भए ।

‘मेरो लागि नयाँ यात्रा हो । मेरो एउटै लक्ष्य हो कि, नेपाल क्रिकेट संघ यो भन्दा अझै माथिल्लो स्तरमा पुग्नुपर्छ’, सचिवमा निर्वाचित भएपछि उनले भने । आफूले खेलाडी हुँदा नेपाल क्रिकेटमा देखिएका समस्या समाधानमा केन्द्रित हुने पनि पारसले बताए ।

‘सबैभन्दा समस्या भनेको घरेलु टिमको संरचनामा हो । कप्तान हुँदा पनि मैले यस विषयमा धेरै प्रश्न उठाएको थिएँ । अहिले सचिव भएपछि एउटा मात्र सोच भनेको घरेलु क्रिकेटको संरचना फेर्नुपर्छ । जिल्ला र प्रदेशलाई धेरै बलियो बनाउनुपर्छ’, उनले भने ।

आफूले खेलाडीका रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा धेरै सम्बन्ध बनाएको भन्दै क्यानको सचिवका रुपमा त्यस सम्बन्धको उपयोग गर्ने बताए । त्यो सम्बन्ध आर्थिक साझेदारी वा खेलका रुपमा हुन सक्ने उनको भनाइ छ ।

विगतमा खेल जितेर आउँदा क्रिकेट टिमको वाहवाही हुने र हार्दा मात्र क्रिकेट संघ, सरकारको कमजोरीबारे चर्चा हुने गरेको भन्दै पारसले क्रिकेट टिमजस्तै क्रिकेट संघको पनि वाहवाही हुने बनाउनुपर्ने बताए । क्रिकेट संघको मुख्य काम खेलाडीको भविष्य सुनिश्चित गर्नु रहेको पारसको भनाइ छ ।

अब क्रिकेट संघलाई निश्चित विधि र पद्धतिमा हिँडाउनुपर्ने पनि पारसले बताए । ‘नेपाली क्रिकेट साँच्चिकै अगाडि बढाउने हो भने क्रिकेट संघले कार्यविधि बनाउनुपर्‍यो र म लगायत सबै पदाधिकारीहरु त्यही कार्यविधि अनुसार चल्नुपर्‍यो’, उनले भने ।

आफू क्यान कार्यसमितिमा निर्वाचित हुँदैमा क्रिकेटमा परिवर्तन नहुने भन्दै उनले आफ्नो तर्फबाट भने शत प्रतिशत काम गर्ने विश्वास व्यक्त गरे ।

‘पारस खड्का आएर मात्र क्रिकेट परिवर्तन हुने होइन, पारस खड्काले आफ्नो भूमिका निर्वाह गर्न जसरी खेल जीवनमा जीउ ज्यान लगाएको थियो, त्यही अनुरुप आफ्नो समय मनस्थिति र विचारलाई टिममा कन्भर्ट गरेर, संघ पदाधिकारी, प्रदेशका पदाधिकारी, जिल्लाका पदाधिकारीहरुसँग समन्वय गरेर क्रिकेटको स्ट्रक्चर बनाएर अगाडि बढ्ने हो भने केही परिवर्तन हुनेछ’, उनले भने ।

पारसले अहिले क्यानको मुख्य ध्यान नेपालले आयोजना गर्ने एसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेल रहेको बताए । उक्त खेलबाट नेपाललाई पुन विश्वकप पुर्‍याउनुपर्ने उनले बताए । ‘पहिलो प्राथमिकतामा एसीसी ट्रफी नेपालमा नै आयोजना हुँदैछ । अहिले पुन नेपाललाई अर्को पटक विश्वकपमा पुर्‍याउनुपर्‍यो । त्यसपछि जिल्ला र प्रदेशको संरचना बलियो बनाउनुपर्छ’ उनले भने ।

अघिल्लो कार्यकालका कोषाध्यक्ष र यसपटक उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका रोशनकुमार सिंहले आफू काम गर्ने मान्छे भएकाले पदले फरक नपार्ने बताए । ‘काम गर्ने मान्छे हुँ । काम गर्न आएको हुँ, मलाई पदले फरक पार्दैैन’, उनले भने ।

कोषाध्यक्षमा निर्विरोध चयन भएका पदमबहादुर खड्काले क्यानमा पारदर्शिता ल्याउने बताए । ‘अब क्यानमा सक्दो पारदर्शिता ल्याउने कोशिस गर्नेछौं’, उनले भने ।

महिला सदस्यको रुपमा निर्विरोध दोहोरिएकी जयन्ती देवी भट्टले आउँदो अधिवेशनबाट क्यानमा ३३ प्रतिशत महिला प्रतिनिधित्व हुनुपर्ने बताइन् । ‘आउँदो साधारणसभामा म कार्यसमितिमा ३३ प्रतिशत महिलाको बारेमा कुरा उठाउनेछु । सबैभन्दा महत्वपूर्ण कुरा म महिला खेलाडीको हकहितको बारेमा क्यानमा कुरा उठाउनेछु’, उनले भनिन् ।

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर ।

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?