+
+

नेपाल भित्रिएलान् चिनियाँ बैंक ?

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ७ गते १९:५७

७ असोज, काठमाडौं । चैत २०७२ मा नेपाल राष्ट्र बैंक र चिनियाँ केन्द्रीय बैंकका तत्कालीन प्रमुखहरुबीच वित्तीय सहकार्य बढाउने गरी दुई देशमा एक अर्काका देशका बैंकिङ सेवा विस्तार गर्ने देशमा सम्झौता भयो । तत्कलीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको दौरान केन्द्रीय बैंकबीच भएको यो समझदारीले तत्कालै नेपालमा चिनियाँ लगानीका बैंकहरु भित्रिने अपेक्षा थियो । तर, अहिलेसम्म चिनियाँ बैंकले नेपालमा कुनै लगानी ल्याएका छैनन्, शाखा खोल्न पनि रुचि देखाएका छैनन् ।

तर, हाल भइरहेको प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको चीन भ्रमणमा यसबारे कुनै ‘ब्रेक थ्रु’ हुने सम्भावना रहेको अधिकारीहरु बताउँछन् । विभिन्न खाले भुक्तानी समस्या समाधानका लागि बैंकिङ सूचना आदान प्रदान र दुवै देशमा एक अर्काको देशको बैंक खुल्ने गरी २०७२ मा भएको समझदारीलाई आधार बनाएर चिनियाँ बैंकलाई नेपालमा निम्तो दिने सरकारी योजाना छ ।

सो सम्झौतापछि चिनियाँ प्रतिनिधिहरुको टोली नेपालमा बैंक स्थापना गर्ने सम्बन्धमा राष्ट्र बैंकमा छलफलका लागि आएका थिए । ‘चीन भ्रमणबाट तत्कालीन गर्भनर सा‘ब फर्किएपछि केही चिनियाँ प्रतिनिधिमण्डल नेपाल आएका थिए,’ केन्द्रीय बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्र भन्छन्, ‘बैंक खोल्ने कुरामा केही छलफल पनि भएको थियो, तर त्यसपछि थप केही भएन ।’ तत्कालीन नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले सार्वजनिक कार्यक्रममै चिनियाँ बैंकहरु नेपालमा शाखा खोल्न तयार रहेको बताएका थिए ।

चीन नेपालको भारतपछिको दोस्रो ठूलो व्यापार साझेदार मुलुक हो । पछिल्लो ५ वर्षमा मात्रै नेपालले हरेक वर्ष चीनबाट औसत सवा २ खर्ब बढी मूल्यका वस्तु आयात गरिरहेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार आर्थिक वर्ष २०७५/७६ मा नेपालले २ खर्ब १८ अर्ब रुपैयाँको वस्तु नेपालले आयात गर्दा चीनतर्फ २ अर्ब ४२ करोड रुपैयाँको निर्यात गर्‍यो ।

२०७६/७७ मा एक खर्ब ५८ अर्बको वस्तु आयात भयो भने निर्यात ६८ करोड रुपैयाँ बराबरको भयो । आर्थिक वर्ष २०७७/७८ मा २ खर्ब ८१ अर्ब रुपैयाँको आयात हुँदा निर्यात एक अर्ब रुपैयाँको निर्यात भयो । गत आर्थिक वर्ष २०७८/७९ चीनबाट २ खर्ब ३२ अर्ब रुपैयाँको वस्तु आयात गरेको नेपालले ६८ करोड रुपैयाँ बराबरको मात्रै निर्यात गरेको थियो ।

यस्तो अवस्थामा चिनियाँ बैंकको शाखा नेपालमा आए त्यसले अर्थतन्त्रको उत्थानमा पनि सघाउ पुग्ने चर्चा सुरु भएको एक दशक बितिसक्यो । तर, न त चिनियाँ बैंक नै नेपाल आउन सके, न नेपाली बैंकले चीनमा सेवा दिने सामर्थ्य बनाए ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन–२०७३ (वाफिया) ले नेपालमा विदेशी लगानीमा बैंक खोल्ने वा शाखा खोल्न सकिने व्यवस्था गरेको छ । विदेशी लगानीमा बैंक खोल्न कुनै विदेशी बैंक वा वित्तीय संस्थाले नेपालमा संस्थापना भएको संगठित संस्था वा नेपाली नागरिकसँग मिली संयुक्त लगानीमा वा राष्ट्र बैंकले तोके बमोजिमको सेयर स्वामित्व कायम हुने गरी सहायक कम्पनीको रुपमा नेपालमा बैंक खोल्न सक्ने व्यवस्था छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्र नेपालमा विदेशी बैंकहरु आउनु राम्रो हुने बताउँछन् । नेपालको कुल व्यापारको झण्डै १५ प्रतिशत व्यापार हिस्सा ओगट्ने चीन र त्यहाँको बैंक आएमा सकारात्मक रुपमा स्वागत गर्नुपर्ने बताउँछन् । ‘हामी विदेशी बैंकहरुलाई नेपाल आउन सधैं स्वागत गर्छौं,’ मिश्रले भने, ‘विदेशी बैंकले नेपालमा बैंकका शाखा, प्रतितिनिधि कार्यालय खोल्न सक्छन् ।’

विदेशी बैंकहरु नेपाल भित्रिएमा नेपालमा बैंकहरुबीच प्रतिस्पर्धा बलियो हुने र विभिन्न अवसर पनि बढ्ने राष्ट्र सरकारको पनि बुझाइ छ । यसैकारण गत चैतमा तिब्बतमा भएको नेपाल–चीन सीमा व्यापार समन्वय तथा सहकार्य संयन्त्रको बैठकमा पनि नेपालले यसबारे चीनलाई ध्यानाकर्षण गराएको थियो ।

प्रधानमन्त्रीको चीन भ्रमण निश्चित भएसँगै नेपालका लागि चिनियाँ राजदूत चेन सोंगले एक सार्वजनिक कार्यक्रममा चीन आफ्ना बैंक नेपालमा भित्र्याउन तयार रहेको अभिव्यक्ति दिएपछि पुनः एकपटक नेपालमा चिनियाँ बैंक भित्रिने चर्चा चलेको छ ।

साउन तेस्रो साता काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गल नेपालमा बैंक खोल्न चीन तयार रहेको बताएका थिए । नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिसँगको भेटमा राजदूत चेन सोंगले चीनले नेपालमा बैंक खोल्न चाहेको बताएका थिए ।

राजदूत सोंगले अब चीन नेपालमा प्रत्यक्ष रुपमै वित्तीय उपस्थिति जनाउने गरी अघि बढिरहेको भन्दै उनले नेपालमा बैंक खोल्नेबारे गृहकार्य भइरहेको पनि जानकारी दिएका थिए । तर, उनले बैंक खोल्ने, शाखा विस्तार गर्ने र वा नेपाली बैंकसँग लगानी साझेदारी गर्ने भन्ने भने खुलाएका थिएनन् ।

भ्रमणमा बैंक खोल्ने एजेण्डा

चिनियाँ अधिकारीहरुको सकारात्मक प्रतिक्रियाका कारण सरकार उत्साहित छ । नेपाली व्यापारीले चीनमा सामान किन्ने र त्यसको भुक्तानी वीच्याट तथा अन्य अनौपचारिक माध्यामबाट गर्ने परम्परा विद्यमान हुनु र दुई देशबीचको व्यापार र लगानी बढ्दै जानुका कारण पनि चिनियाँ बैंकको नेपालमा उपस्थिति आवश्यक रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीरु बताउँछन् ।

काठमाडौंमा चिनियाँ लगानीको बैंक खोल्न यसपटकको प्रधानमन्त्रीको भ्रमणमा सहमतिको सम्भावना रहेको सरकारी अधिकारीहरुले बताएका छन् । प्रधानमन्त्रीको चीन भ्रमणमा उक्त विषयमा सहमति नै बन्ने दाबी गरिएको छ ।

प्रधानमन्त्रीको चीन भ्रमणले बैंक स्थापनाको ठोस आधार तयार गर्ने सम्भावना रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । ‘नेपाल र चीनबीच आपसी भुक्तानी प्रणाली सहज बनाउन यसबारे छलफल हुन्छ,’ परराष्ट्र स्रोतले भन्यो, ‘चिनियाँहरुले भएसम्म सरकारी बैंक वा नभए निजी क्षेत्रको बैंकलाई नेपाल भित्र्याउन पहल गर्ने संकेत गरेको छ ।’ यसका लागि चिनियाँ पक्ष सकारात्मक रहेको सरकारको दाबी छ ।

चीनसँग बैंकिङ सम्बन्ध स्थापित हुँदा दुई देशबीचको व्यापार सहजीकरण सहजता आउने व्यवसायीहरुले पनि गर्दै आएका छन् । उपयुक्त बैंकिङ प्रणालीको अभावमा नेपाल र चीन बीचको व्यापारमा ठूलो हिस्सा अनौपचारिक क्षेत्रमार्फत भएको जानकारहरु बताउँछन् ।

नेपाल र चीन बीचको व्यापार अभिवृद्धि र सहजीकरणका लागि पनि चिनियाँ बैंकको उपस्थिति जरुरी भएको वाणिज्य विज्ञ रविशंखर सैजु बताउँछन् । यसका कारण न्युन बिजकीकरण मौलाएको हुनसक्ने भन्दै लामो समयदेखि चिनियाँ बैंक नेपाल भित्र्याउन पहल भएको वाणिज्य विज्ञ रविशंखर सैजु बताउँछन् ।

‘चिनियाँ बैंक नेपाल भित्रिन चासो देखाइरहेका छैनन्,’ सैंजुले भने, ‘अहिले नेपालमा चिनियाँ बैंक आउने गरी सम्झौता हुने अवस्था रहेको सरकारी अधिकारीहरुले दाबी गर्नु भएको छ । आशा गरौं !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?