+
+

सेयरको भित्री कारोबार गरेको आरोपमा न्यौपानेविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ७ गते २०:००

७ असोज, काठमाडौं । शेयर बजारमा भित्री कारोबार (इनसाइड ट्रेडिङ) गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपानेविरुद्ध मुद्दा दायर गर्ने भएको छ ।

कम्पनीको भित्री सूचनाका आधारमा शेयर खरिद बिक्री गरी गैरकानुनी लाभ लिएको आरोपमा विभागले निजी क्षेत्रका ऊर्जा उत्पादक तथा प्रवद्र्धक न्यौपानेविरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायरको तयारी गरेको हो ।

‘न्यौपानेलाई मुद्दा दायर गर्नुपर्ने भनी तयार पारेको अनुसन्धान प्रतिवेदन रायका लागि विशेष सरकारी वकिल कार्यालयमा पेश भएको थियो’, विभाग स्रोतले भन्यो, ‘मुद्दा चलाउनुपर्ने राय लेखी निर्णयसहितको प्रतिवेदन विभागमा पेश भइसकेको छ ।’

विभागसम्वद्ध स्रोतका अनुसार, केही दिनमै विशेष अदालतमा मुद्दा दायर गर्नेगरी अभियोगपत्रको तयारी भइसकेको छ । ‘न्यौपानेले भित्री कारोबार गरेको अभियोगमा मुद्दा दायर गर्ने तयारीमा छौं, त्यही कारोबार गरेका कारण आर्जित रकम गैरकानुनी हो र त्यो जफत हुनुपर्छ भन्ने हाम्रो माग दाबी रहन्छ’, विभागसम्वद्ध स्रोतले भन्यो ।

२०५६ सालदेखि नै रिडी पावरका संस्थापक, प्रवर्द्धक र प्रमुख कार्यकारी अधिकृत रहेका न्यौपाने १९ चैत २०७७ देखि २४ साउन २०७८ सम्म उक्त संस्थाको अध्यक्ष थिए ।

उनी अध्यक्ष भएकै बेला ४ जेठ २०७८ मा रिडी पावरले आफूसँग भएको रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १४ लाख कित्ता शेयर बिक्री गर्ने निर्णय गरेको थियो ।

तर उक्त निर्णयभन्दा डेढ महिना अघिदेखि नै तत्कालीन अध्यक्ष न्यौपानेले रिडीको शेयर किनेको भेटिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जनाएको छ ।

त्यतिबेला उनले रिडीको करिब ३० हजार कित्ता शेयर २०३ देखि २१२ रुपैयाँको दरले शेयर किनेका थिए । पछि उनले आफूसँगै भएको समेत गरी रिडीको करिब ४० हजार कित्ता शेयर प्रतिशेयर ५९१ देखि ७३१ रुपैयाँका दरले बेचेको खुलेको थियो ।

उनले रैराङको शेयर बिक्रीको निर्णय हुनुभन्दा डेढ महिना अघिदेखि नै धमाधम रिडीको शेयर किनेका थिए ।

निर्णयपछिको एकदेखि तीन महिनाभित्र तिनै शेयर फेरि बेचेका थिए । धितोपत्र बोर्डले भित्री कारोबारबिना खरिद बिक्रीको कामलाई संयोगमात्रै भन्न नसकिने निष्कर्षका साथ उनीमाथि मुद्दा चलाउने तयारी भएको विभाग स्रोतको दाबी छ ।

धितोपत्र बोर्डका अनुसार न्यौपानेले १९ चैत २०७७ देखि २४ साउन २०७८ सम्म रिडी हाइड्रोपावरको शेयर १४ पटक खरिद र १२ पटक बिक्री गरेका थिए । आफूमात्रै नभई उनले श्रीमती सुमित्रादेवी न्यौपाने, छोराहरु सञ्जीव न्यौपाने, सतिश न्यौपाने, बुहारीहरु सलिना नेपाल र सिर्जना खड्काको नाममा रहेको शेयर पनि खरिदबिक्री गरेका थिए ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शेयरबजारमा भित्री कारोबारका विषयमा रकम जफत हुनुपर्ने माग राखेर मुद्दा चलाउन लागेको यो पहिलो घटना हो ।

कुनै पब्लिक कम्पनीको सञ्चालक समितिमा रहँदा वा समिति छाडेको एक वर्षभित्र आफू वा परिवारको सदस्यले सम्बन्धित कम्पनीको शेयर कारोबार गर्न नपाउने कानुनी व्यवस्था छ । तर उनले आफू अध्यक्ष रहेकै कम्पनीको शेयर किनबेच गरेका थिए ।

छानबिनमा परेपछि बयानका क्रममा उनले नियतवश नभई त्रुटिवश कारोबार भएको दाबी गरेका थिए । तर शेयरको कारोबार गराएको त्रिशक्ति सेक्युरिटीजले भने न्यौपानेले नै आदेश दिएर शेयर खरिदबिक्री भएको र त्यसपछि बैंकिङ प्रणालीबाट भुक्तानी भएको बयान गरेको थियो ।

रिडी पावरका लेखापरीक्षण समितिका संयोजक रमेशप्रसाद न्यौपानेले शेयर खरिदबिक्रीको अवधिमा मर्जर प्रक्रियाबारे छलफल भइरहेको र गुरुप्रसादलाई त्यसबारे सबै थाहा रहेको बयान दिएका थिए ।

अनुसन्धानबाट भित्री कारोबार भएको भेटिएपछि धितोपत्र बोर्डले न्यौपानेलाई ७५ हजार रुपैयाँ जरिवाना गराएको थियो । त्यस्तै १० वर्षसम्म कुनै पनि पब्लिक कम्पनीको सञ्चालक र व्यवस्थापक हुन नपाउने गरी प्रतिबन्धसमेत लगाएको थियो ।

धितोपत्र बोर्डले उनीमाथि भित्री कारोबारमार्फत ३ करोड २३ लाख ९७ हजार रुपैयाँ बिक्री गरेको भनी जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९१ मा कुनै व्यक्तिले धितोपत्रको मूल्यमा असर पार्नसक्ने भित्री सूचना वा जानकाीका आधारमा कारोवार गरेमा वा सूचना चुहाएमा भित्री कारोवार गरेको मानिने भन्ने व्यवस्था छ । त्यसको पुष्टि भएमा बिगो बमोजिम जरिवाना, एक वर्ष कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

न्यौपाने र नेपाल हाइड्रो डेभलपर्स कम्पनीका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले अवैध रुपमा शेयर कारोबार गरेको ठहरसहित धितोपत्र बोर्डले गत २४ मंसिर, २०७९ मा दुवै जनालाई काबवाही गर्ने निर्णय गरेको थियो । न्यौपानेविरुद्ध मुद्दा चलाएपछि प्रधानको हकमा अरु कारबाही भएन ।

न्यौपाने यसअघि पनि कारबाहीमा परिसकेका व्यक्ति हुन् । जनता बैंकको सञ्चालक हुँदा पत्नी सुमित्रादेवी न्यौपानेको नाममा ५२ हजार ४७० कित्ता शेयर किनेको भेटिएपछि राष्ट्र बैंकले त्यो शेयर जफत गर्न निर्देशन दिएको थियो ।

सर्वसाधारण समूहको शेयर खरिद गरेपछि उनले हकप्रद र बोनस शेयर प्राप्त गरेका थिए । राष्ट्र बैंकले बढे बढाएको ८५ हजार कित्ता शेयर जफत हुने निर्णय गरेको थियो ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनमा सञ्चालक समितिमा रहेका सदस्यले पदमा रहेदेखि अवकाशको एक वर्षसम्म आफू र परिवारका सदस्यको नाममा त्यही बैंकको शेयर कारोबार गर्न नपाउने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?