+
+

सत्तारुढ दलकै केन्द्रीय नेतृत्वले कोशीको आन्दोलनमा घिउ थपिरहेको छ : मुख्यमन्त्री कार्की

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ८ गते १६:०१

८ असोज, विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् ।

सोमबार गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने काम केही राजनीतिक दलको केन्द्रीय नेतृत्वबाटै भएको आरोप लगाएका हुन् ।

प्रदेशसभाले राखेको नामको विपक्षमा केन्द्र सरकारका मन्त्री र सत्तारुढ दलका नेताहरुले अभिव्यक्ति दिएको र त्यसले आन्दोलनमा आगोमा घिउ थप्ने काम गरेको उनको भनाइ छ ।

मुख्यमन्त्री कार्कीले प्रश्न गरे, ‘कुनै अमुक राजनीतिक राजनीतिक पार्टीले केन्द्रमा बसेर यहाँ (कोशीमा) संवैधानिक, कानुनी प्रक्रिया पूरा भएको नामलाई गलत भयो भनिदियो भने के हुन्छ ? (नामकरण गर्दा) संविधान मिचिएको हो कि होइन ? कानुन मिचिएको हो कि होइन ?’

उनले नेकपा माओवादी केन्द्रप्रति लक्षित गर्दै नामकरणमा मतदान गर्दा गल्ती भयो भन्ने लागे पनि बाहिर भन्न नमिल्ने बताए । ‘तर सम्माननीय व्यक्तिबाट भनिएको छ, राष्ट्रिय राजनीतिक पार्टीका, नेपालको सत्तारुढको नेतृत्व गरेको पार्टीले भनिरहेको छ’, मुख्यमन्त्री कार्कीले भने, ‘…मन्त्रीहरु बोलेर हिँडरहनुभएको छ, उहाँहरुलाई अधिकार छ कि छैन प्रदेशले गरेको निर्णयमा तिमीले गरेको नामकरण गलत भयो भन्ने ?’

पहिचानको आन्दोलनको नाममा नेकपा एमालेलप्रति मात्र लक्षित गरिएको मुख्यमन्त्री कार्कीले बताए ।

कोशीमा सामाजिक सद्भाव भड्किन नदिन प्रमुख राजनीतिक दलको केन्द्रीय नेतृत्व र प्रदेश नेतृत्वले सामूहिक प्रतिवद्धता जनाउनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?