+
+

विश्वासको मतको टुंगो छैन, कोशीमा मन्त्रिपरिषद् विस्तार

हरि अधिकारी हरि अधिकारी
२०८० असोज ८ गते २०:४७

८ असोज, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सर्वाेच्च अदालतको परमादेशअनुसार संविधानको धारा १६८ को(३) बमोजिम २२ भदौमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले आफ्नो दल नेकपा एमालेबाट दुई मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

योसँगै प्रदेश मन्त्रिपरिषद ९ सदस्यीय भएको छ ।

कार्कीले सोमबार लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्री र बुद्धिकुमार राजभण्डारीलाई खानेपानी सिँचाई तथा उर्जामन्त्री नियुक्त गरेका हुन् ।

त्यस्तै रामप्रसाद महतो उद्योग कृषि सहकारी राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा नियुक्त गरेका छन् । उनीहरुले सोमबार नै सपथ लिए ।

मन्त्रिपरिषद् विस्तारसँगै मुख्यमन्त्री कार्कीले मन्त्रीहरुको जिम्मेवारी पनि हेरफेर गरेका छन् ।

खानेपानी मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका तिलकुमार मेन्याङ्बोलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन् । पर्यटन, वन तथा वातावरण मन्त्रालय र उद्योग कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा रहेका पाँचकर्ण राईलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय मात्रै दिएका छन् ।

भौतिक पूर्वाधार विकासमन्त्रीमा एकराज कार्की र सामाजिक विकास राज्यमन्त्रीमा सिर्जना राई छिन् । मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना, उद्योग कृषि तथा सहकारी र सामाजिक मन्त्रालय आफैंसँग राखेका छन् ।

२२ भदौमा नियुक्त भएका कार्कीले २० असोजभित्र विश्वासको मत लिनुपर्ने बाध्याता छ । सरकारमा सहभागी नभएको राप्रपाले मुख्यमन्त्री कार्कीलाई समर्थन गर्ने बताएको छ । तर राप्रपाको ६ प्रदेश सांसद जोड्दा पनि बहुमत पुग्दैन ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । एमालेसँग ४० प्रदेशसभा सांसद छन् । उपसभामुख सिर्जना दनुवारले मतदान गर्न नपाउने भएकाले मुख्यमन्त्री कार्कीको पक्षमा अहिलेसम्म जम्मा ४५ मत मात्र देखिन्छ ।

एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी भने अरु दलले पनि मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिनेमा आशावादी रहेको बताउँछन् । त्यसका लागि शक्ति बाँडफाट गर्न एमाले लचिलो रहेको भन्दै उनले अन्य दल सरकारमा सहभागी हुने अवस्था भए एमालेले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने बताए ।

यो सरकारले विश्वासको मत नपाए मध्यावधिको सम्भावना बढ्ने भन्दै उनले भने ‘हामी छलफल गरिरहेका छौं, मध्यावधिको खतरामा पुग्न नदिन सबैले जिम्मेवारीपूर्वक पुनर्विचार गर्छन् र हामीले विश्वासको मत पाउछौं भन्ने विश्वास छ ।’

यदि विश्वासको मत पाएनन् भने सोमबार नियुक्त भएका मन्त्रीहरुको कार्यकाल दुई साताको हुनेछ । ननवियुक्त खानेपानी मन्त्री बुद्धिकुमार राजभण्डारी भने विश्वासको मत नपाएपनि सांसदलाई मन्त्री बन्ने अवसर भएको बताउँछन् ।

‘अल्पमतको सरकार हो, भोलि विश्वासको मत पाउने अवस्था बन्यो भने जुन पार्टीसँग गठबन्धन हुन्छ, त्यसअनुसार मिलाएर गइहाल्छ, काँटछाँट भइहाल्छ’, उनले भने, ‘भएन भने यो अवधि मन्त्री खान जुर्‍यो माननीय सदस्यहरुलाई ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?