+
+

लमजुङमा डाक्टरमाथि वडाध्यक्षको मुक्का

स्वास्थकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा ऐनविपरीत कसुरमा मुद्धा

अमृत सुवेदी अमृत सुवेदी
२०८० असोज ८ गते २१:४३

८ असोज, पोखेरा । लमजुङ जिल्ला अस्पतालमा पछिल्लो समय दिनहुँजसो डेंगीका विरामी आइरहेका छन् । आइतबार राति १० बजेतिर पनि एक जना विरामी आइपुगिन् र आफन्तले आकस्मिक लगे । ल्याब टेस्टबाट पनि उनलाई डेंगी लागेको पुष्टि भइसकेको थियो ।

उनले खाना खाइरहेकी थिइनन् । सेतो रगतको मात्र र प्रेसर पनि कम देखिएपछि डाक्टरले भने, ‘भर्ना गरेर उपचार गरौं, अवस्था गम्भीर त छैन तर घरमा लैजानुभन्दा १/२ दिन यहीँ राखेर उपचार गर्दा छोटो ठीक हुन्छ ।’

विरामीका आफन्तले जनरल वार्डमा भर्ना गर्न लगे । वार्डमा भर्ना गर्नुपर्ने जानकारी पाएपछि एक जना व्यक्ति आइपुगे । किन भर्ना गर्ने भनेर विवाद गर्न खोजे । अस्पतालमा भर्ना गर्नुअघि डाक्टरले मञ्जुरीनामा गराउँदै थिए । मञ्जुरीनामाको सर्तहरु आफूलाई मान्य नहुने भन्दै उनले आपत्ति जनाएपछि डाक्टरले उनलाई चित्त बुझाउने गरी हातैले लेखेर हस्ताक्षर गर्न भने ।

कानुनी प्रक्रिया पूरा गर्नका लागि देशैभरिका अस्पतालमा गराइने मञ्जुरीनाका विषयमा आपत्ति जनाउँदै विवाद सिर्जना गरेका युवा यतिमै रोकिएनन् र डाक्टरमाथि नै मुक्का प्रहार गरे । मुक्का प्रहार गर्ने व्यक्ति हुन्, लमजुङको बेसीशहर नगरपालिका– ७ का वडाध्यक्ष ऋषि बस्नेत ।

‘अस्पतालमा भएको मञ्जुरीनामामा आपत्ति जनाएपछि आफैंले हातले लेखेर पनि दिएँ तर उहाँले स्वीकार्नुभएन र निहुँमात्र खोजिरहनुभयो,’ अधिकारीले भने, ‘यो अस्पतालमा उपचारै गर्दिनँ भन्दै अपशब्द बोल्दै टाढैबाट मोबाइल जटारो हान्नुभयो । चुकुल खोलेर नर्सिङ स्टेसनमा छिरेर निधारमा मुक्का हान्नुभयो । कुर्ची उचालेर फाल्दै हुनुहुन्थ्यो, तर साथीहरुले छेकेर जोगिएँ ।’

रोगबारे काउन्सिलिङ गरेर मञ्जुरीना गराउनुपर्ने नियम छ । मञ्जुरीनामाका यी समस्या आउन सक्छन् र कम्लिकेसनका बारेमा लेखिएको हुने लमजुङ जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट विशाल तिवारीले जानकारी दिए । मञ्जुरीनामाका विषयमा विवाद गर्दै सबै कर्मचारीलाई अपशब्द बोल्दै डाक्टरमाथि हातपात गरेको तिवारीले बताए । मेसु तिवारीले भने, ‘अस्पतालभित्र एउटा डाक्टरको जिउधनकै असुरक्षा भएपछि बल्ल प्रहरीलाई खबर गरेका हौं ।’

प्रहरीले पनि मिलाउने कोसिस गरिएको थियो । तर, डाक्टरहरुले एउटा जनप्रतिनिधिले नै डाक्टरमाथि आक्रमण गर्छ भने अन्य नागरिकले पनि गर्न सक्ने भन्दै आपत्ति जनाएका थिए । ‘सुरुमा वडाध्यक्ष भन्ने पनि थाहा भएन’ डा. अधिकारीले दुखेसो पोखे, ‘तर व्यावसायिक जीवनको सुरुका दिनमै नमीठो अनुभव गरें । कहिल्यै नखाएको गालीमात्रै होइन, मुक्का नै खाएँ ।’

मेडिकल अफिसर अधिकारीले लमजुङ अस्पतालमा काम थालेको जम्मा ३ महिनामात्र भएको छ । करारमा लमजुङ अस्पतालमा जागिर थाल्नुअघि केही समय स्वयंसेवी भएर काम गरेका थिए । स्वास्थ्य क्षेत्रमा भर्खरै सेवा थालेका अधिकारीलले सुरुमै अपमानित भएको महसुस गरेपछि जिल्ला प्रहरी कार्यालय लमजुङममा जाहेरी दिएका थिए । अधिकारीले अन्य ९ जना साथीले जाहेरीमा साथ दिएका छन् ।

प्रहरीले राति नै वडाध्यक्ष बस्नेतलाई पक्राउ गरिसकेको छ । आमाको उपचार गर्न अन्यत्रै पठाएर वडाध्यक्ष बस्नेत डाक्टरमाथि जाइलागेका थिए ।

वडाध्यक्ष बस्नेतले रक्सी खाएको मेडिकल जाँचबाटै पुष्टि भएको थियो । उनले आफूले रक्सी खाएको स्वीकारेका छन् ।

पक्राउ परेका वडाध्यक्षमाथि स्वास्थकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा ऐनविरीत कसुर गरेको आरोपमा सोमबार जिल्ला अदालतमा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी स्थानेश्वर चपाईँले जानकारी दिए ।

लमजुङमा डाक्टरमाथि आक्रमण भएको भोलिपल्ट पोखराको मणिपाल शिक्षण अस्पतालमा पनि डाक्टर अनिल शाहमाथि हातपात भएको छ । उपचारका लागि लमजुङबाट ल्याइएकी एक महिलाको ज्यान गएपछि आक्रोसित आफन्तले डा. अनिल शाहमाथि हातपात गरेका हुन् ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?