+
+

भ्वाइस अफ नेपालका प्रतिस्पर्धी टीका मगरले ल्याए शान्तिश्रीसँग ‘बज्यैको बुलाकी’

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ९ गते १८:५०

काठमाडौं । भ्वाइस अफ नेपालका प्रतिस्पर्धी टीकाबहादुर मगरले नयाँ गीत ‘बज्यैको बुलाकी’ सार्वजनिक गरेका छन् । गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् ।

मणि भट्टराईको शब्द र मोहनकुमार मगरको संगीत रहेको गीतले मायाप्रेममा परेका युवायुवतीले एकअर्कालाई गर्ने प्रशंसा प्रस्तुत गर्छ ।

कम्मरमा पटुकी चुल्ठीमा धागो

कोही भन्छन् चन्द्रमुखी, कोही भन्छन् आगो

आमाको फुली, बज्यैको बुलाकी

लाउनु भने झन् राम्री हौला कि

ठेट नेपाली शब्द समावेश गरिएको गीतलाई संगीतकार मगरले पूर्व र पश्चिमको लयलाई संयोजन गरेर संगीत भरेका छन् । ‘ठेट शब्द राखिएको लोकशैलीको यो गीतमा पूर्व र पश्चिमको लयलाई फ्युजन गर्ने कोसिस गरेको छु । गीतले प्रेमिल जोडीले एकअर्काको प्रशंसा गर्ने कुरालाई प्रस्तुत गर्छ,’ संगीतकार मगरले अनलाइनखबरसँग भने । गीतलाई सुदीप सागरले एरेन्ज गरेका छन् ।

विवाह समारोहका बेला युवायुवतीको रमाइलो छेडखानी प्रस्तुत गरिएको गीतको भिडियोलाई मोहनकुमार मगर स्वयंले निर्देशन गरेका छन् । भिडियोमा आशा तामाङ, गौरव मगर, हिमाल राई, शर्मिला तामाङ र नवीन किशोरले अभिनय गरेका छन् ।

मुकेश हुमागाईंले खिचेको भिडियोलाई विनोद बमले सम्पादन गरेका हुन् । भिडियोमा केशवराज भट्टको कोरियोग्राफी र राजेन्द्र मोक्तानको रंग संयोजन छ ।

गायन रियालिटी शो भ्वाइस अफ नेपालको चौथो संस्करणमा प्रतिस्पर्धा गरेका गायक टीका मगरले त्यसपछि आफ्नो पहिलो आधिकारिक गीतको रुपमा ‘बज्यैको बुलाकी’ ल्याएका हुन् । विशेषगरी सुगम संगीतमा रुचि राख्ने टीकाले यसअघि एक दर्जनजति गीत सार्वजनिक गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?