+
+

एमाले बागमती प्रदेश अधिवेशन : नेतृत्व चुन्न किन सुरु भएन मतदान ?

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ११ गते ११:२९

११ असोज, काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचन पूर्वनिर्धारित समयमा नहुने भएको छ । आज बिहान ११ बजे मतदान सुरु गर्ने पूर्वनिर्धारित कार्यक्रम रहे पनि अहिलेसम्म उम्मेदवारको प्रारम्भिक नामावली समेत सार्वजनिक हुन सकेको छैन ।

बुधबारको उम्मेदवारी दर्ता गराएकाहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेपछि दाबी विरोध, उम्मेदवारी फिर्ता लगायतका प्रक्रिया पूरा गरेपछि अन्तिम नामावली सार्वजनिक हुनेछ । त्यसपछि मात्र मतदान हुने भएकाले दिउँसो दुई बजेदेखि मात्र मतदान सुरु गर्ने तयारी गरिएको निर्वाचन आयोगका एक सदस्यले बताए ।

नेकपा एमालेका नेता शेरबहादुर तामाङले केही प्राविधिक काममा ढिलाइ भएकाले मतदान पूर्वनिर्धारित समयमा सुरु हुन नसकेको बताए । उनले उम्मेदवारहरुबीच सहमतिको प्रयास पनि भइरहेको जानकारी दिए । उनले भने, ‘निर्वाचन प्रक्रिया अघि बढे पनि सहमतिको प्रयास अन्तिम समयसम्म जारी नै रहन्छ ।’

अध्यक्ष पदका लागि बुधबार कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, कैलाशप्रसाद ढुंगेल, सानुकुमार श्रेष्ठ र केशवराज पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।

उपाध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा सुवासचन्ऽ ठकुरी, नारायणप्रसाद खतिवडा, दावादोर्जे लामा, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाको उम्मेदवारी दर्ता भएको छ ।

सचिवमा पनि चार जनाकै उम्मेदवारी दर्ता भएको छ । रत्न गुरुङ, नवराज सिलवाल, हस्तबहदुर पण्डित र डा. रामकुमारी अधिकारीको उम्मेदवारी दर्ता भएको छ ।

खुला र महिला गरी दुई उपसचिवका लागि १२ जनाले उम्मेदवारी दिएका छन् । उपसचिवमा खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरी थापा, रमेश महर्जन, प्रेमबहादुर महर्जन, राजेन्द्र श्रेष्ठ र रिता गौतम ढकालको उम्मेदवारी परेको छ ।

यो अधिवेशनले पाँच पदाधिकारीसहित २४० सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?