+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares
एमालेको कोशी अधिवेशन :

खतिवडालाई अध्यक्ष छाड्न ढकालले मानेनन्, चुनाव हुने पक्का

हरि अधिकारी हरि अधिकारी
२०८० असोज १३ गते १७:०३
एमाले नेताहरु विनोद ढकाल ( बायाँ) र घनश्याम खतिवडा ।

१३ असोज, विराटनगर । नेकपा एमालेको कोशी प्रदेश अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडाबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । खतिवडालाई सर्वसम्मत अध्यक्ष बनाउने केन्द्रीय नेताहरुको प्रयास असफल भएपछि दुई नेताले प्रतिस्पर्धा गर्ने निश्चित भएको हो

अधिवेशनमा शनिबार मनोनयन र आइतबार मतदान गर्ने कार्यतालिका छ । प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरुले सर्वसम्मत नेतृत्व चयनको प्रयास गरेका थिए । तर खतिवडालाई सर्वसम्मत अध्यक्ष बनाउने कतिपय केन्द्रीय नेताको प्रस्ताव मान्न ढकाल तयार भएनन् ।

स्रोतका अनुसार खतिवडालाई सर्वसम्मत अध्यक्ष बनाउनका लागि नेताहरुले ढकाललाई पार्टीको पोलिट्ब्यूरो सदस्य बनाउने प्रस्ताव गरेका थिए । तर उनले प्रदेश अध्यक्षमा नै आफ्नो रुचि रहेको बताएर उक्त प्रस्ताव अस्वीकार गरे ।

‘म निकै अघि बढिसकेँ, अब ब्याक हुन्न भन्नुभएको छ’, ढकाल निकट एक नेताले भने, ‘चुनावमा हारजित सामान्य हो, जिते पार्टीको नेतृत्व गर्नुहुन्छ, हारे असन्तुष्ट पक्षको ।’ अन्तिम समयमा दाबेदारीबाट पछि हट्दा पार्टीमा आफ्नो हैसियत झन् कमजोर हुने भएकाले ढकालले निर्वाचन लड्न खोजेका उनी निकटका नेताहरुको भनाइ छ ।

सर्वसम्मत अध्यक्ष चयन गर्ने प्रयास असफल भएपछि दुवै नेताले चुनावी अभियान सुरु गरेका छन् । भीम आचार्यबाहेक प्रदेशका अन्य स्थायी कमिटी सदस्य खतिवडाको पक्षमा देखिएका छन् ।

मदन भण्डारी फाउण्डेसन मार्फत एमालेमा केपी शर्मा ओलीको गुट स्थापित गर्दा ढकाल प्रमुख खम्बा थिए । तर पछिल्लो समय अध्यक्ष ओलीसँग ढकालको सम्बन्ध चिसिएको छ । ढकाललाई साथ दिइरहेका एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएका कारण पनि कतिपय नेताले ढकालको साथ छाडेका छन् ।

खतिवडा र ढकाल एमालेको पाँचौं जिल्ला अधिवेशनमा मोरङ जिल्ला अध्यक्षमा भिडेका थिए । त्यतिबेला ओली समूहका ढकालले माधव नेपाल समूहका खतिवडालाई पराजित गरेका थिए ।

ओलीले दिएको संकेत

शुक्रबार अधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले केही नभन्ने तर नेताको इशारा बुझ्न आग्रह गरेका थिए ।

‘चुनाव लडेपछि हार्न, जित्न सम्भव हुन्छ यो पार्टीभित्रको कुरा हो’, उनले भनेका थिए, ‘भरसक त्यो नौवत नआओस्, अलिकति पार्टीका नेताहरुको, नेतृत्वहरुको के मूल्यांकन छ अलिकति इसारा पनि बुझ्नुहोस् र काम गर्नुहोस्, यदि त्यसो गर्न सक्नुहुन्न भने स्वस्थ हिसाबले प्रतिस्पर्धा गर्नुहोस्, मैले अध्यक्षको हिसाबले केही भनिरहनु आवश्यक छैन ।’

ओलीले नेताको संकेत बुझ्नू भनेर घनश्याम खतिवडालाई इंगित गरेको कार्यकर्ताहरु बताउँछन् ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?