+
+
Shares

उस्तै गीत–कविता, उस्तै जोशमा देखा परे राल्फाली मञ्जुल

अमृत सुवेदी अमृत सुवेदी
२०८० असोज १३ गते २२:०२
तस्वीर सौजन्यः सुरज गुरुङ

१३ असोज, पोखरा । उस्तै जोशिलो आवाज, उस्तै भावभंगी र उस्तै श्वरका साथ पोखरेली मञ्चमा देखा परे, ७८ वर्षीय कवि मञ्जुल ।

उनको ओजिलो आवाज, अनेक विषय–विम्वका कविता र घाँटीमा गितार भिरेर ‘कोही त भने जहाजमा हरर, कोही त भने पसिना तरर…हाम्रो नेपालमा’ गाउँदा पोखरेलीले उनै राल्फाली मञ्जुल सम्झिए ।

पञ्चायतकालको बर्बर निरंकुश शासन व्यवस्थामा गितार, बाँसुरी, मादल बजाउँदै हिँड्ने राल्फा अभियानका सदस्य मञ्जुल शनिबार पोखरामा उस्तै जोशका साथ उभिए । जो कहिले प्रकृतिको कविता लेख्दै हिँड्ने मञ्जुलको अवतारमा देखिए, कहिले जागरणका गीत गाउँदै डुलिहिँड्ने गायकमा रुपमा देखा परे, घाँटीमा गितार भिर्दै ।

पोखरेली युवा सांस्कृतिक परिवारले शनिबार मञ्जुललाई एकल कविता वाचनमा उभ्याएको हो । मञ्जुलले वाचनको मेलो बढाउँदै बाटुलेचौरका गन्धर्वहरु हुँदै आफ्नै गाउँमा गीत गाउँदै हिँड्ने ‘गाइने’हरुलाई सम्झिए ।

जो गाउँ गाउँमा गीत गाउँदै हिँड्नेबाट प्रभावित नभएको भए, राल्फा आन्दोलन लिएर गाउँ गाउँ डुलिहिँड्ने मञ्जुलको जन्म हुनेमा स्वयं उनैलाई शंका थियो । मञ्जुलले एकल कविता वाचनको ढोका उनै गीत गाउँदै हिँड्नेलाई समर्पित गरे, गायक यात्रीमार्फत ।

वर्षौंअघि पनि यहाँबाट
कुनै यात्री हिँडेर गएको छ
छन् अहिले पनि उसका पाइलाका चिन्हहरु
मेटिँदै गएका र मेटिन नसकेका

भोजपुर गोगनेमा जन्मिएका मञ्जुलले घरी काठमाडौंमा विश्वभाषा क्याम्पस पढाउँदाको दिन सम्झिँदै कविता जोडे । घरि आफ्ना अग्रज शिद्धिचरण श्रेष्ठलाई सम्झिँदै कवितामा पोखिए ।

प्रगतिशील आन्दोलनबाट प्रभावित हुँदै पारित, रामेश, रायनसँगै राल्फा अभियान लिएर गाउँ गाउँ पुगेका मञ्जुल अधिकांश समय गाउँ, पाखा, वेशी र मानवीय जीवनको मूल्यमान्यताकै वरिपरी परे । विरामी भएर विस्मृति नजिक पुगेर पनि फेरि साहित्य गीतकै सिर्जनशील जीवनमा फर्किएका मञ्जुल ती पञ्चायती दिनमै लेखेका कवितामा फर्किए ।

म भिन्दै ठाउँमा बसेर हेरिरहेछु
तर, हामीहरु एउटै कुरा देखिरहेका छौं
आकास, पहाड, खोला, बादल, गाउँ
र हामी माथि माथि उडिरहेको चिल
त्यही चिल !
जसलाई हामी गाउँहरु कहिल्यै मन पराउँदैनौं

ऊबेलाका चर्चित ‘मञ्जुल राल्फा’ कहिलेकाहीँ अमूर्त कविताहरुमा सुनिए पनि पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा धेरैजसो परिवर्तन, जीवन वोध र समानताका कविताहरुमा पोखिए ।

छुवाछूतरहित समाजको परिकल्पनामा लेखिएको ‘जातपात’ कविता पनि सुनाउन भ्याए । कहिले गोरेटो भएर हिपिनुको विरुद्धमा कविता सुनाए ।

कहिले घाम सुत्छ मेरो किनारामा कहिले जून
कहिले ताराहरू सुत्छन्
मान्छेको हृदयबाट जन्मेको
गीत भएर पनि हिंड्छु म कहिलेकाहीं
मलाई
गाउँको सानो गोरेटो भनेर नहेप्नू्

एकल कविता वाचनअघि उनीसँगै संयुक्त कविता संग्रहसमेत प्रकाशित गरेका कवि तीर्थ श्रेष्ठले एक जना व्यक्ति लेखक, कवि, गायकका रुपमा कसरी परिवर्तनका पक्षमा कसरी उभिन सक्छ भन्ने मञ्जुललाई उदाहरणका रुपमा प्रस्तुत गरे ।

कवि मञ्जुलले थुप्रै नयाँ कवि, लेखक जन्माउन पनि भूमिका खेलेको बताउँदै तीर्थले भने, ‘जुन कोपिलालाई मञ्जुलले छोइदिन्छन्, ऊ साहित्यमा फूल भएर फक्रिन्छ ।’

पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले यो उमेरमा पनि उनको जोशबाट नयाँ पुस्तालाई सिक्ने मञ्च बनोस् भनेर एकल कवितामा उभ्याएको बताए । केही समय शिथिल भएर अब मञ्जुलको पुनर्जागरण पोखराबाट सुरु भएको पौडेलको भनाइ थियो ।

लामा–छोटा झण्डै दुई दर्जन कविता सुनाएका मञ्जुलले सबैले सँगै गाउने गरी जोशिलो शैलीमा गीत प्रस्तुत गरे । उनै पुराना राल्फा सदस्य रामेशलाई सम्झिँदै, उनैले संगीत भरेको गीत मञ्जुलले गाए ।

ड्राइभर दाइ खलासी भाइ,
हाम्रो धेरै माया तिमीलाई, हाम्रो धेरै आदर तिमीलाई
कैले लान्छौ उकालीमा, कहिले ओरालीमा
कैले लान्छौ घुम्ती घुम्ती कहिले देउरालीमा

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?