+
+

अर्बौं कारोबार गर्ने चिनियाँ कम्पनी एभरग्रेनेडको कसरी भयो पतन ?

एजेन्सी एजेन्सी
२०८० असोज १५ गते १३:३१

१५ असोज, काठमाडौं । चीनमा ठूलो मात्रामा घरजग्गा कारोबार गर्ने कम्पनी एभरग्रेनेडका मालिक ह्वे का यन कुनै बेला एशियाका धनाढ्य थिए । सो जियिनका नामले परिचित भद्र व्यापारीले घरजग्गा व्यवसायमा साम्राज्यनै खडा गरेका थिए । फोर्ब्स म्यागजिनले २०१७ मा प्रकाशित गरेको सूचिमा उनको सम्पत्ति ४२ अर्ब ५० करोड डलर उल्लेख थियो ।

यिनै धनाढ्यमाथि अहिले चीनमा वित्तीय अपराध सम्बन्धमा अनुसन्धान भइरहेको छ । यी धनाढ्यको कम्पनी एभरग्रेनेड हाल ३०० अर्ब डलर ऋणको बोझमा छ ।

को हुन् ह्वे का यन ?

सन् १९५८ मा गरिब परिवारमा जन्मिएका व्यक्ति हुन् ह्वे का यन । चीनको हेनन प्रान्तमा जन्मिएका उनलाई उनको हजुरआमाले हुर्काएकी थिइन् । सेप्सिस रोगका कारण आठ महिनामै आमाको निधन भएसँगै उनलाई हजुरआमाले हुर्काएकी हुन् । सन् १९८२ मा स्नातक सकेपछि उनले स्टिल उद्योगमा प्राविधिकका रुपमा काम गरे । त्यसको केही वर्ष उनले गोन्झाउमा घरजग्गा बिक्रेताका रुपमा काम गरे ।

सन् १९९६ मा उनले एभरग्रेनेड कम्पनी खोलेका थिए । उनको कम्पनीले निकै राम्रो कारोबार गरेपछि वित्तीय संस्थाले उनलाई ऋणका लागि पत्याउन थाले र एभरग्रेनेडमा लगानी बढाउन थाले ।

मिहिनेत र बुद्धिमताको संयोजनबाट धनी हुनसक्ने उदाहरण उनले पेस गरेको विज्ञहरु बताउँछन् । फ्रेन्च इनभेस्टमेन्ट बैंकका प्रमुख अर्थशास्त्री एलेसिया ग्रासिया हेरेर्रो भन्छन्, ‘मिहिनेत र बुद्धिमताको संयोजननै धनी हुने सूत्र रहेको स्थापित गर्न उनी सफल भए । यी दुई कुराको संयोजनबाट जो कोही पनि धनी हुनसक्ने उदाहरण उनले पेश गरे’, हेरेर्रोले भने ।

Evergrande Group Chairman Xu Jiayin (C) attends Evergrande New Energy Auto Global Strategic Partners Summit on November 12, 2019 in Guangzhou, Guangdong Province of China.

ह्वे तीन दशकदेखि चिनियाँ कम्युनिस्ट पार्टीका सदस्य पनि थिए । सन् २००८ मा उनी राजनीतिक परामर्श समितिको सदस्यमा चयन भएका थिए । यस समितिमा सरकारी उच्चपदस्थ कर्मचारीका साथै व्यापारिक तथा अन्य विशिष्ट क्षेत्रका प्रतिनिधि रहने गर्छन् ।

त्यस बैठकमा उनले लगाएको पेटीमा सुनको खिप थियो । हर्मिज ब्रान्डको उक्त पेटी लगाएको फोटो सन् २०१२ मा सामाजिक सञ्जालमा भाइरल भएको थियो । ‘बेल्ट ब्रदर’ उपनाममा उनको नाममा धेरै व्यंग्य पोस्ट भएका थिए ।

विस्फोटक वृद्धि

सन् २००९ मा हङ्कङ्को शेयरबजारबाट एभरग्रेनेडले ९ अर्ब डलर उठाएको थियो । यो रकम एभरग्रेनेडको लागि अधिकतम लाभ रहेको वित्तीय मामिला जानकार ज्याक्सन चानको भनाइ छ । हङकङका घरजग्गा कारोबारीसँगको सरसंगतपछि नै एभरग्रेनेडमा लगानीको वर्षा भएको ज्याकसनको अवलोकन छ ।

‘हङकङका धनाढ्यहरुसँग जोडिएपछि एभरग्रेनेडमा लगानीको वर्षा भयो । हङकङको शेयर बजारमा सूचिकृत भएर उसले त्यहाँबाट अधिकतम लाभ उठायो’, उनले भने ।

ह्वेलाई साथ दिनका लागि हङकङका धेरै धनाढ्यहरुले त्यसको शेयर खरिद गरेका थिए । शेयरबजारबाट लगानी उठाएपछि एभरग्रेनेडले बनाउँदै नबनाएको अपार्टमेन्ट पनि अग्रिम रुपमा बेच्न थाल्यो । यथास्थितिको कुरा गर्ने हो भने चीनको २८० सहरमा एभरग्रेनेडको १३ सय परियोजना छन् । ह्वेले आफ्नो कारोबार घरजग्गामा मात्रै सीमित गरेका छैनन् । सम्पत्ति व्यवस्थापन, विद्युतीय कार उत्पादन र खाद्यान्न तथा पेय पदार्थ उद्योगमा पनि उनले हात हालेका छन् । चीनको फुटबल क्लब ग्वान्झाओ एफसीमा पनि उनको लगानी छ ।

कसरी पतन हुन पुगे ?

सन् २०२० मा सरकारले घरजग्गा कारोबारीका लागि ऋणको सीमाबारे नयाँ नियम ल्यायो । यो नियमका कारण एभरग्रेनेडले ऋण चुक्ताका लागि छुटमा घरजग्गा बेच्नुपर्‍यो । यसको प्रभाव शेयर बजारमा पनि देखियो ।

उसको शेयरको मूल्य ९९ प्रतिशत सम्म घट्न पुग्यो र एभरग्रेनेड ३ अर्ब २० करोड डलर ऋणको बोझमा पर्‍यो । हङकङको शेयर बजारमा उसले कारोबार गर्न छोड्यो । अहिले ह्वेलाई चीनमा सरकारी निकायले वित्तीय अपराधमा अनुसन्धान गरिरहेको छ ।

 

The luxury yacht "Event", reportedly owned by Evergrande boss, docked in Hong Kong in 2021.

उनले वित्तीय संस्थाबाट ऋण लिएर परियोजनामा नभई व्यक्तिगत ऋण तिरेको आरोप लगेको छ । उनीमाथिको अनुसन्धानलाई कतिपयले प्रशंसा गरेका छन् । राष्ट्रपति सी जिनपिङको साझा समृद्धिको नीतिले आर्जनको खाडल घटाउने नीति लिएकाले विशाल सम्पत्ति आर्जन गरेकामाथि अनुसन्धान अघि बढिरहेको कतिपयको मत छ ।

ह्वेकाको जीवनशैली निकै भव्य रहेको जानकारहरु बताउँछन् । ‘आकर्षक र भव्य जीवनशैली बाँचिरहेका ह्वे निजी विमानमा विश्व घुम्थे । चरम धनीको प्रतीक उनलाई मान्न सकिन्थ्यो’, उनीबारे जानकार डेक्स्टर रोबर्ट भन्छन् ।

एभरग्रेनेडको पतनमा सीको कठोर टिप्पणी

एभरग्रेनडको पतनमा राष्ट्रपति सीले कठोर टिप्पणी गरेका छन् । यस कम्पनीको पतनबारे आफूलाई कुनै वास्ता नरहेको उनले प्रतिक्रिया दिएका छन् । ‘एभरग्रेनेडको पतनबारे मलाई कुनै वास्ता छैन । यस विषयमा मैले किन ख्याल राख्नुपर्‍यो’, व्यवसायीहरुसँगको छलफलमा उनले भन्ने गरेका छन् ।

अकूत सम्पत्ति आर्जन गरेकै कारण इभरग्रेनेड सी प्रशासनको निगरानीमा रहको रोबर्ट बताउँछन् । ‘अकूत सम्पत्ति आर्जन गरेका ह्वे अर्थतन्त्र र समाजका लागि राम्रो नरहेको बुझाइ सीको थियो । यसैपनि उनले अकूत सम्पत्ति आर्जन गरेकामाथि अनुसन्धान अघि बढाइरहेका थिए । ह्वे निशानामा पर्नु अस्वभाविक थिएन’, उनले भने ।

 

ह्वेमाथिको अनुसन्धानबारे कुनै पनि आधिकारिक जानकारी आएको छैन । तर ग्लोबल टाइम्सले सीले साझा समृद्धिको नीति र आम मानिसको चासोलाई उच्च प्राथामिकतामा राखेको लेखेको छ ।

‘एभरग्रेनेडसँग घरजग्गा खरिद गरेकाहरुको नोक्सान कम गर्नुनै अहिलेको प्राथामिकता हुने र कानुन अनुसार कारबाही अघि बढाएर जनतालाई उनीहरुको सम्पत्तिको सुरक्षाबारे निरन्तर जानकारी दिनुनै अहिलेको प्राथामिकता हुने कुरा त्यसका पूर्व सम्पादकले उल्लेख गरेका छन् ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?