
१६ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले तत्कालीन माओवादीले सशस्त्र युद्ध सुरु गरेको दिन फागुन १ गतेलाई महान् दिनको रुपमा लिनुपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीले सशस्त्र युद्ध सुरु गरेको दिनलाई हिंसाको सुरुवात भएको दिनको रुपमा ब्याख्या गरेका थिए । सरकारले उक्त दिनलाई जनयुद्ध दिवसको रुपमा सार्वजनिक बिदा दिएकामा असन्तुष्टि राख्दै उनले त्यो आफूहरुलाई मान्य नभएको ओलीले बताएका थिए ।
अध्यक्ष ओलीपछि बोलेका माओवादी केन्द्रका उपमहाचिव शर्माले जनयुद्धकै जगमा राजतन्त्र ढलेको र समानुपातिक समावेशी प्रतिनिधित्वसहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बन्न सफल भएको बताए ।
‘संविधानमा जनताका जे अधिकारहरु लेखिएका छन् । ती लेखिएका अधिकारहरुलाई यो सार्वभौम संसदसम्म आएर सार्वभौम बनाउने एउटा ऐतिहासिक प्रक्रियाको थालनी भएको दिन हो फागुन १ गते’, शर्माले भने, ‘जहाँ गरिबहरुले उत्पीडकहरु, महिलाहरु, जनजाति, मधेशीहरु, दलित, मुस्लिमहरुले आफ्नो आवाज बुलन्द गरेको महान् दिन हो ।’
जनयुद्धले सात सालदेखि अधुरा रहेका आन्दोलनहरुलाई संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा र संविधानसभा मार्फत नयाँ संविधान दिनका लागि एउटा संकल्प गरेको र त्यसलाई पूरा गरेको शर्माले दाबी गरे ।
‘त्यस्तो ऐतिहासिक दिनको लागि सम्मान गर्ने सरकारलाई विशेष धन्यवाद दिन चाहन्छु । यो जनताको सम्मान हो । परिवर्तनको सम्मान हो । हामीले प्राप्त गरेको अधिकारको सम्मान हो’, सांसद शर्माले भने ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा लेखिएका अधिकारहरुको सही कार्यान्वयनका लागि संस्थागत सुदृढीकरण आवश्यक रहेको उल्लेख गर्दै उनले माओवादीले सशस्त्र युद्ध सुरु भएको दिनको अन्यथा व्याख्या नगर्न समेत आग्रह गरे ।
प्रतिक्रिया 4