+
+

शिक्षा निर्देशनालयको आँगनमा दृष्टिविहीन शोभाको अनशन

‘श्रीमानलाई छुट्टै सहयोगी चाहिन्छ, मलाई छुट्टै चाहिन्छ । यहाँ भयो भने बच्चाहरूले नै सहयोग गर्छन्’ उनी भन्छिन्, ‘छुट्टाछुट्टै बसेर जागिरबाट तलब खानु कि सहयोगी साथीलाई पाल्नु ?’

विकास रोकामगर विकास रोकामगर
२०८० असोज १६ गते १९:२१

१६ असोज, पोखरा । सानै उमेरमा मोतियाविन्दु भएको शोभा पौडेलको परिवारले पत्तै पाएन । थाहा पाउँदा धेरै ढिला भइसकेको थियो । संसार चिन्न नपाउँदै शोभा मोतियाविन्दु बिग्रिएर पूर्णरूपमा दृष्टिविहीन भइन् ।

तर, शोभाले दृष्टिविहीन हुनुको आत्मग्लानी कहिल्यै आउन दिइनन् । ‘यस्ताले पनि पढ्छन् र ?’ भन्ने समाजको प्रश्नलाई उनले व्यवहारबाटै जवाफ दिइन् र मानिसहरूले भन्न थाले, ‘उसले त पढेर देखाई नि !’

केटाकेटीसँग खेल्दै पढ्नु र पढाउनु शोभाको रुचिकै विषय हो । ज्ञानको ज्योति बाँड्ने शिक्षक हुने सपना बुनेरै शोभाले शिक्षा विषय लिएर पढिन् । पढाइ पूरा भएसँगै उनले जागिर पनि सुरु गरिन् । पोखराको पुरानो टुँडिखेल अवस्थित राष्ट्रिय माविमा राहत दरबन्दीमा प्रावि तहमा उनले २०६५ सालदेखि पढाउन सुरु गरिन् ।

‘आफू पनि दृष्टिविहीन छु तर, अरुलाई शिक्षाको उज्यालोबाट अगाडि बढाउन सक्छु भनेर शिक्षा विषय लिएको थिएँ’ शोभा भन्छिन्, ‘त्यसमाथि बच्चाहरूसँग एकदम रमाउने भएकोले शिक्षण सुरु गरें ।’

शोभाले लामो समय अस्थायी शिक्षककै रूपमा पढाएपछि पहिलोपल्ट २०७१ सालमा प्रावि तहका लागि आयोगको परीक्षा दिएकी थिइन् । लिखितमा सफल भए पनि अन्तर्वार्तामा फालिइन्। ‘पछि बच्चा भए, उनीहरूलाई हुर्काउनु पनि पर्‍यो। लामो समय आयोग भिड्न पाइनँ’, उनले सुनाइन्, ‘०७९ को निमावि तहको आयोगमा भने नाम निकालें ।’

तर, नेपाली शिक्षकका रूपमा स्थायी जागिरमा नाम निकालेको खुसी भने लामो समय टिक्न पाएन । पूर्णरूपमा दृष्टिविहीन रहेकी शोभाको पोस्टिङ लमजुङको दोर्दी गाउँपालिकामा गरियो । भौगोलिक विकटताले न त्यहाँ हाजिर गर्न नै सक्थिन् न विद्यालयले नै राख्न चाह्यो ।

अहिले उनी आफूलाई पायक पर्ने ठाउँमा पदस्थापन गर्न माग गर्दै शिक्षा विकास तथा समन्वय इकाई कास्की र प्रदेश शिक्षा निर्देशनालय गण्डकीको प्राङ्गणमा ३ दिनदेखि आमरण अनशनमा छिन् ।

‘आयोगमा नाम निकालेपछि पनि अहिलेसम्म हाजिर गरेको छैन । सुरुमा भूगोलका कारण तपाईंलाई गाह्रो हुन्छ भनेर हाजिर गर्न दिइएन । हुन पनि म त्यो भूगोलमा हाजिर गर्न जान सक्ने अवस्थामा छैन,’ शोभा भन्छिन्, ‘विभागदेखि प्रदेश हुँदै जिल्लासम्म कुरा आउँदा पनि सुनुवाई नभएपछि अनसन बस्न बाध्य भएँ ।’

आफ्नो माग सम्बोधनका लागि स्थानीय तह, सम्बन्धित निकायदेखि मानव अधिकार आयोगसम्मका ढोका चहारेको तर, कतैबाट न्याय नपाएपछि आमरण अनशन बस्न बाध्य भएको उनी सुनाउँछिन् ।

‘यही स्कुल, यही ठाउँ भनेको होइन । गाडी चढेर, लट्ठी टेकेर विद्यालयको प्राङ्गणभित्र पस्न सकूँ र, लट्ठी टेकेर आफ्नो वासस्थानसम्म आउन सकूँ,’ उनी भन्छिन्, ‘एक दृष्टिविहीन महिला भएर पनि आफैं केही गरेर खान्छु भन्दा रोजगारी नखोसियोस् भन्ने मात्र मेरो माग हो ।’

शोभाले सम्बन्धित निकायलाई सोधिन्, ‘मलाई पायक पर्ने ठाउँमा पदस्थापन गर्न केले रोक्यो ?’ तर सरकारी अधिकारीहरू कार्यविधि देखाएर पन्छने गरेको उनको गुनासो छ । शोभाका श्रीमान श्रीकान्त सापकोटा पनि दृष्टिविहीन नै हुन् । दृष्टिविहीन श्रीमतिको दुर्गममा पोस्टिङ भएपछि न उनले जागिर खा भन्न सकेका छन्, न त नखा भन्न नै !

‘मैले फर्म भर्दा र परीक्षा दिँदासम्म कार्यविधि अपाङ्गता भएकाले रोज्न पाउने, सुगममा पठाउनुपर्ने भनिएको थियो । तर, रिजल्ट आउनेबेला कार्यविधि बदलियो,’ उनको प्रश्न छ, ‘संविधान, कानुन र महासन्धिहरू नै अपाङ्गता भएका व्यक्तिहरूको पक्षमा छ, त्योभन्दा ठूलो कार्यविधि त होइन होला नि ?’

विभिन्न कार्यक्रममा सँगसँगै हिंड्नेबेला भेट भएका शोभा र श्रीकान्त २०६१ सालमा वैवाहिक सम्बन्धमा बाँधिए । अहिले उनीहरूको दुई छोरा छन् । नेत्रहीन संघ कास्कीका अध्यक्षसमेत रहेका श्रीकान्त पनि स्थायी शिक्षक नै हुन् । उनले पोखराकै संस्कृत माविमा अंग्रेजी विषय पढाउँछन् ।

आफूहरू दुवै पूर्ण दृष्टिविहीन भएकाले एकअर्काको भरोसामा बाँच्नुपर्ने बाध्यता र आवश्यकता दुवै रहेको शोभा सुनाउँछिन् । ‘हाम्रो आडभरोसा नै हामी एकअर्का हौं । बच्चाहरूको संरक्षण गर्नु पनि हाम्रो दायित्व हुन्छ । सँगै बस्नुपर्ने हाम्रो बाध्यता र आवश्यकता दुवै बन्यो । श्रीमान एकातिर, म एकातिर भएर कसरी बस्न सकिन्छ ?’ उनको प्रश्न छ ।

आयोगको कार्यविधि अनुसार दोर्दी गाउँपालिकाकै स्कुलमा गएर हाजिर गर्दा आफूलाई अन्याय हुने शोभाको दुखेसो छ । ‘श्रीमानलाई छुट्टै सहयोगी चाहिन्छ, मलाई छुट्टै चाहिन्छ । यहाँ भयो भने बच्चाहरूले नै सहयोग गर्छन्,’ उनी भन्छिन्, ‘छुट्टाछुट्टै बसेर जागिरबाट तलब खानु कि सहयोगी साथीलाई पाल्नु ?’

आफूले पोखराको अमुक स्कुलकै नाम तोकेर स्थानान्तरणको माग पनि नगरेको शोभा बताउँछिन् । तर, सार्वजनिक यातायातको सुविधा भएको र पायक पर्ने ठाउँमा पदस्थापनको माग पनि सुनुवाइ नभएको उनको गुनासो छ ।

३ दिनदेखि अनशनमा बसेकी उनको स्वास्थ्य अवस्था पनि बिग्रँदै गइरहेको छ । बेलाबेलामा ऐक्यबद्धता जनाउन केही शिक्षक संगठनका नेता कार्यकर्ता आउँछन् र खबर लेख्न केही सञ्चारकर्मी । उनले भनिन्, ‘निर्देशनालयका डाइरेक्टर साब आएर मिटिङ बसिराछौं, वार्ता गरिराछौं अनशन तोड्नुस् भन्नुहुन्छ, तर न्याय नपाएसम्म यहाँबाट उठ्दिनँ ।’

राज्यले समावेशिता र अपाङ्गमैत्री भन्दै आरक्षणको व्यवस्था गरे पनि विभेदजन्य दृष्टिकोण नबदलिएकोमा उनको रोष छ । ‘अपाङ्गतामैत्री, समावेशिता भन्ने, आरक्षण दिएको छौं भन्ने तर, यो अवस्थामा फाल्ने अत्यन्तै अपराधजस्तो भएन र ?’ उनले प्रश्न गरिन्, ‘जान सम्भवै नहुने ठाउँमा कसरी जान सक्छु र ? सय किलो भारी बोक् भन्ने अनि बोक्न सक्दिनँ भन्दा तँ असक्षम छस् भन्न पाइन्छ र ?’

वार्तामै छौंः शिक्षा विकास तथा समन्वय इकाइ

अनसनरत शोभा पौडेलको मागप्रति पीडित पक्ष र सम्बन्धित निकायबीच छलफल सुरु भएको छ । शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी भरतराज बरालले आफूहरू वार्ता मै रहेको तर, विषय टुङ्गिइनसकेको जानकारी दिए ।

शिक्षा विकास तथा समन्वय इकाइमा भइरहेको बैठकमा प्रदेश शिक्षा निर्देशनालय प्रमुख, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख, मादी गाउँपालिका शिक्षा महाशाखा प्रमुख तथा पेशागत शिक्षक संघ संगठनका प्रतिनिधि सहभागी छन् ।

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?