+
+

रुटिन अफ थरीथरी बन्द र देखासिकी संस्कृति

देशका विभिन्न साना–ठूला गाउँ-शहरका नामबाट रुटिन अफ … बन्द नामक बग्रेल्ती पेज पहिलेदेखि प्रचलनमा छँदैथिए। जबकि ‘बन्द’ भन्ने कुरा अहिले पहिले जस्तो प्रचलनमा छैन।

कन्चनराज गिरी कन्चनराज गिरी
२०८० असोज १७ गते १६:०६
Photo Credit : Pixabay

आजकल फेसबुक ‘सर्च’ गर्ने हो भने रुटिन अफ नेपाल बन्द नामका दुई सय भन्दा बढी फेसबुक पेज/ग्रुपहरू सञ्चालन भएको देखिन्छ। र, यो सङ्ख्या दिनहुँ बढिरहेको छ। आधिकारिक फेसबुक पेज केही समय अप्रकाशित रहेको थियो। यी फेक पेजहरूमध्ये धेरैले आफूलाई आधिकारिक पेज दावी गरेका थिए र आधिकारिक पेजकै शैली जस्ताको तस्तै पछ्याउँदै समाचारहरू दिइरहेका थिए।

त्यस्तै देशका विभिन्न साना–ठूला गाउँ-शहरका नामबाट रुटिन अफ … बन्द नामक बग्रेल्ती पेजहरू पहिलेदेखि प्रचलनमा छँदैथिए। जबकि ‘बन्द’ भन्ने कुरा अहिले पहिले जस्तो प्रचलनमा छैन।

तर यहाँ चर्चा यो पेजको गर्न खोजिएको हैन, हाम्रो समाजले अँगाल्दै गइरहेको देखासिकी संस्कृति र यसका बहुआयामिक प्रभावको हो। के नेपाली समाज गतिहीन र असृजनशील हुँदै गइरहेको हो ? के नेपाली समाज ‘स्यालहुइयाँ’ मा बाँच्न अभ्यस्त बन्दै गइरहेको हो ?

काठमाडौं बस्दा जब म कार्यालयको लागि निस्कन्थें, गौरीघाट-मित्रपार्क उकालोमा प्रत्येक दिन एउटै दृश्य देखेर दिक्क हुन्थें। जब सडक जाम हुन्थ्यो, कुनै एउटा बाइक लगभग दुईहात चौडाइको फुटपाथमा कुद्न सुरु गर्थ्यो। त्यसलाई पछ्याउँदै अरु बाइक लस्करै भुरुरु कुद्न थाल्थे। फुटपाथ सबै बाइकहरूले ओगटेपछि पैदलयात्रीहरू सडकमा खाली बाटो खोज्दै अल्मलिइरहेका देखिन्थे ।

बेलुका पेप्सीकोला-जडीबुटी सडक फुटपाथमा यस्तै दृश्य देख्दथें। काठमाडौंका भित्री सडकमा मान्छेहरूले जेब्राक्रसबाट बाटो काटेको कमै देख्न पाइन्छ। बाटो अन्धाधुन्ध काटिन्छन्। जेब्राक्रस नजिक आएपछि गाडीहरू रोकिंदैनन्, अझै हुँइकिन्छन्। अचम्म लाग्छ- यो देशमा दिनहुँ कैयौं सवारी दुर्घटना हुन्छन्, मान्छे मर्छन् तर हामीमा चेत कहिल्यै आउँदैन।

देशमा साक्षरता बढ्दै गएको भनिन्छ तर मान्छेहरू ‘पानीका बोतल’, ‘चाउचाउ’, ‘चिप्स’ ‘झोला’, फ्रुटीका खोलहरू जहीं–तहीं ‘फ्यात्त फ्यात्त’ फाल्छन्। विभिन्न संघसंस्था वा सरकारले पटक–पटक सरसफाइ अभियान सञ्चालन गर्ने गरेका छन्। तर त्यी नाममात्रका अभियानको रूपमा मात्रै सञ्चालित हुन्छन्। देखासिकी वा लहडमा चलाइएका। चलाउनका लागि मात्र चलाइएका। तिनीहरूबाट कुनै परिवर्तनको आशा राखिंदैन। ती अभियान हाम्रा दैनिकी बन्न सकेका छैनन्। अरुलाई दोष थोपर्दै अनेक बहाना बनाएर जथाभावी फोहोर फाल्न हामी अभ्यस्त छौं। यो देशका जनताले सरसफाइ गर्न कहिले सिक्ने ? अरुले सरसफाइ गरेन भनेर हामी आफू नगर्ने ? अरुसँग नभएको विवेक हामीसँग पनि छैन र ?

केही वर्ष अघिसम्म म सार्वजनिक यातायातबाट कार्यालय ओहोरदोहोर गर्दथें। कार्यालय समयको काठमाडौंको बसमा अत्यधिक भीड त हुने नै भयो। सम्भवत: काठमाडौंमा यात्रु सङ्ख्या सम्बन्धी मापदण्ड छैन, भए पनि पालना गरिंदैन।

बसमा ढोकाको भीडले बस चढ्नै गाह्रो हुने। सबै यात्रुहरू ढोकामै झुम्मिने- मानौं अघिल्लो स्टपमै ओर्लिनेछन्। बसमा अलिक भित्र सरेर सहजतापूर्वक बस्न कोही नचाहने। म त बसको पछाडिपट्टिसम्मै छिर्थें र आनन्दले बस्थें। कहिलेकाहीँ त सिट पनि पाउँथें। दुःख पाउन तयार हुने तर भीड छोड्न तयार नहुने नेपालीको रुचि म अझै पनि बुझ्न सक्दिनँ।

विदेशमा नेपालीले दुःख पाएका कथाहरू पटक–पटक सुनिन्छन् तर विदेश जानेको लर्को घट्न सकेको छैन। बाध्यतामा जानेहरूको अर्कै व्यथा होला तर ५०औं लाख ऋण गरेर पनि जो–कोही नेपाली विदेश जान लालायित छन्- अझ कतिपय अवस्थामा त ज्यानै जोखिममा राखेर पनि। त्यहाँ जुनसुकै काम गर्न तयार छन्, त्यही काम यहाँ गर्न कोही तयार छैनन्।

यहीं कृषि गर्न कोही चाहन्नन्। उद्यम गर्न कोही चाहन्नन्। जोखिम मोल्न कोही चाहन्नन्। खासमा प्रयास गर्न कोही चाहन्न। सीमित व्यक्ति जो चाहन्छन्, उनीहरूलाई सरकारले उत्साहित हुने वातावरण बनाउन सकेको छैन। जनमानसले देशमा स-सानो, नवीन काम गर्नेलाई उत्साह थप्दैन, हेलाहोचो गर्छ।

यो देशमा प्राय: सबै नेता बन्न चाहन्छन्। काम गर्ने होइन, पगरी भिर्ने नेता, कुनै ‘भिजन’ भएर होइन। पुराना नेताहरू शिलान्यास र उद्घाटन भन्दा माथि उठ्न सकेका छैनन्। धेरै शिक्षक पढाउन चाहँदैनन्, राजनीति गर्न चाहन्छन् -जागिर छोडेर होइन, जागिर खाँदाखाँदै। अनुशासन, इमानदारी र नैतिकता अब स्कुल/कलेजबाट सिकिन्न।

धेरै कर्मचारी काम गर्न चाहँदैनन्, कमाउन चाहन्छन्। वैधानिक रूपमा होइन, लुटेर, धुतेर- जसरी पनि। प्राय: जुनसुकै क्षेत्रका मान्छे यहाँ नपाएसम्म देश बिग्रियो भनेर कोकोहोलो मच्चाउने र पाएसम्म लुट्न, धुत्न, हडप्नन नै चाहन्छन्। र आफ्नै मानसिकताको प्रतिछायाँ अरुमा देख्छन्। अनि बुझ्दै नबुझी जुनसुकै विषयमा, जोसुकै मान्छेलाई सत्तोसराप गर्छन्।

प्रेम अरुलाई दिउँ र जिम्मेवारी आफू लिऊँ। पाउनुपर्ने मात्र होइन, दिनुपर्ने पनि हिसाब राखौं । आफ्ना आवश्यकता घटाउँ र जिम्मेवारी बढाऔं। सफल हुनुभन्दा असल हुनु अझ बढी जरुरी छ। मान्छेको सबैभन्दा ठूलो लडाइँ आफैंसँग हो। संसारलाई जित्नु जरुरी छैन। पहिले आफूलाई जित्नु जरुरी छ

त्यही भीड, त्यस्तै भीड सामाजिक सञ्जालहरूमा नकारात्मकता पोत्छ। कुनै पनि सकारात्मक विषयले महत्व पाउँदैन। नकारात्मक विषय छ भने ‘धक्का मुक्की’ नै गरे सरी गाली बर्सन्छ।

म मेरो सरकारी सेवाको अधिकांश समय ‘खरिद’ जस्तो आर्थिक क्रियाकलाप हुने ठाउँमा बसें। एक किसिमको शक्तिकै ओहोदामा बसें। यो देशको सरकारी कार्यालयको ‘खरिद’ भन्ने बित्तिकै प्रायः कर्मचारी-व्यापारीको मुखमा पानी रसाइहाल्छ। मेरो ओहोदा देखेर, थाहा पाएर धेरैले परेली झिम्क्याउँथे, आँखा सन्काउँथे। अचम्मित हुन्थे- मह काढ्दा हात नचाट्ने भनेर!
झन्डै १० वर्षको सेवा अवधिमा मैले कोही मान्छे भेटेको छैन- जसले मलाई इमानदारीपूर्वक काम गर भनेर भनेको होस्। सबैको कुराको एउटै सार छ– ‘लुट। खाउ। बरु सीधा नखाऊ- घुमाएर खाउ। मिलाएर खाउ। मिलाएर खाउ भन्नेको सार हो- हामीलाई पनि रोकटोक नगर। यस्तै हो यो देश- हामीले मात्र गरेर केही हुन्न।’

यो भीडमा मलाई कुद्नु छैन। मेरो जीवन हो। मेरा आवश्यकहरू सीमित छन्। संसारका अमूल्य चिजहरू जस्तै हावा, पानी, सास, प्रकाश, आनन्द, शान्ति र साँचो प्रेम मलाई नि:शुल्क उपलब्ध छन्। घाम र पानी मिलेर इन्द्रधनुष बने जस्तै सुख र दुःख मिलेर जीवन बन्छ भन्ने तत्वबोध मलाई छ। मलाई आत्तिनुपर्ने केही छैन। म मेरो ब्रह्ममा लागेको कुरा मात्र गर्छु। मलाई विश्वास छ- मेरो गति र मति सत्य भएसम्म, मेरो रथ श्रीकृष्णले नै चलाउने छन्।

देशको यस्तै भद्रगोल, अस्तव्यस्तता र निराशाबीच तीन स्वतन्त्र व्यक्तिहरू देशका तीन ठूला स्थानीय तहहरूको नेतृत्वमा आए। शायद उनीहरू पनि जनताको निराशाको लहडमै चुनाव जितेर आए। तर सुरुवाती वर्ष उनीहरूले आशा जगाए, काम गर्ने ठूलो हुटहुटी पनि देखाए। उनीहरूका काम पुराना दलका नेताहरूभन्दा फरक र प्रभावकारी पनि देखियो।

बालेन शाहको शैक्षिक सुधार, अनधिकृत घर टहरा भत्काउने, पार्किङ व्यवस्थापन, अतिक्रमित सार्वजनिक जग्गा तथा खोला पुनर्प्राप्ति गर्ने जस्ता काम साहसिला थिए, जनमानसमा असाध्यै लोकप्रिय भए। हर्क साम्पाङले श्रम अभियानको सफलताबाट धरानको पानीको समस्यालाई धेरै हदसम्म व्यवस्थापन गरेका छन्।

चर्चामा पछि रहेका गोपाल हमाललाई जनमानसले युवा स्वीकारेको छैन, तर उनको जुझारूपन कुनै युवाभन्दा कम छैन। सबैसँग समन्वय गर्दै उनले अझै परिपक्व कामहरू गरेका छन्। बालेन शाहको निर्णय क्षमता, हर्क साम्पाङको श्रमदान र सक्रियता र गोपाल हमालको शालीनता र समन्वयको खुबी कुनै पनि नेताले अँगाल्नैपर्ने गुण हुन्।

देशले आशाको रूपमा हेरेका यी नेताहरूमध्ये बालेन शाह र हर्क साम्पाङ भने पछिल्लो समय विवादित बन्दै गएका छन्। बालेनलाई फुटपाथ व्यापारीहरूप्रति संवेदनाहीन भएको आरोप लागिरहेकै थियो। ‘सरकार र अदालतलाई दलाल’ घोषणा गरेर नमान्ने धम्की दिएका उनले ‘सरकारलाई चोर’ करार गर्दै नेताहरूलाई ‘बाग्मतीमा चोबल्ने’देखि ‘सिसडोलमा डम्प गर्नुपर्ने’ जस्ता अराजक अभिव्यक्ति दिएका छन्। हर्क साम्पाङको बोली त पहिल्यैदेखि सुनिसाध्य थिएन। उनी विपक्षीप्रति असहिष्णु भएको, आफ्नो अहंकार नियन्त्रण गर्न नसकेको र हलुका रूपमा प्रस्तुत भएको देखिन्छ।

सकारात्मक विषयले खासै महत्व नपाउने हाम्रो समाजमा बालेन र हर्क साम्पाङले लोभलाग्दो लोकप्रियता हासिल गरेका थिए। जनमानस उनीहरूको स्तुतिगानमा मुग्ध थियो। केही अघिसम्म उनीहरूविरुद्ध बोल्नु नै सामाजिक बहिष्करण हुनुसरह थियो जुन सही थिएन।

उनीहरूका कामलाई गुण र दोषका आधारमा समर्थन गरिनुपर्थ्यो। तर भीडको पछि लाग्ने हाम्रो समाजले उनीहरूको एकछत्र र बेहिसाब समर्थन गर्यो्। जसका कारण उनीहरूमा उग्रता र उत्तेजना बढ्दै गएको देखिन्छ। लाखौं समर्थक भएका उनीहरूले आफ्नो प्रभाव जनतामा ‘आशा र सकारात्मक सोच’ जागृत गर्न उपयोग गर्नुपर्ने हो।

आफ्नो आक्रोश र उग्रता रोक्न नसक्दा जनतामा टुसाउँदै गरेको आशा अब तुषारापात हुने खतरा बढेको छ। ‘आक्रोश’ कोइलाको लप्का हो जसलाई हातमा राखेर अरुलाई आक्रमण गरिन्छ भने आफ्नै हात कालो हुन्छ, आफैंलाई पोल्न सक्छ।

यी सबै कुराहरूले के देखाउँछ भने नेपाली समाज साक्षर मात्र हुँदै गएको छ, शिक्षित हुँदै गएको छैन। शिक्षित समाजले आफ्नै विवेक प्रयोग गर्छ, भीडको पछि कुद्दैन। अक्षर चिन्नु र ज्ञान प्राप्त गर्नु फरक–फरक कुराहरू हुन्। किताब मात्र पढेर हुँदैन, जीवन पनि पढ्नुपर्छ। बोल्न पनि सिक्नुपर्छ।

हामीसँग दुई कान छन् र एउटा मुख। त्यसैले ज्यादा सुन्नुपर्छ। कम बोल्नुपर्छ। बोल्नुअघि सोच्नुपर्छ। कुराहरू अनुमान गर्ने होइन, तथ्यहरू पहिले रुजु गर्नुपर्छ- अनि बोल्नुपर्छ। बोल्ने निर्णय गरिसकेपछि अल्पमतमा परिने डर त्याग्नुपर्छ। लाइक्स र कमेन्टको लागि बोल्ने होइन। सत्य र न्यायका लागि बोल्नुपर्छ।

सहीलाई सही र गलतलाई गलत भन्न सक्ने क्षमता विकास गर्नुपर्छ। सही कुरा बोलियो भने आफूलाई चिरकालीन सन्तुष्टि मिल्छ। सही जीवन बाँचिएको छ भने जीवनमा फर्केर पनि लाइक कमेन्ट्स आउने नै छ।

आफ्नो जीवनको मूल्य बुझ्नुपर्छ। आफ्नो जीवनको लक्ष्य पत्ता लगाउनुपर्छ। लक्ष्य विना कर्म बेकार छ। लक्ष्य भएपछि हिंड्न मन लाग्छ । बाटो अलमलिंदा फर्कने साहस मिल्छ। लक्ष्यविहीन जीवनमा सुख क्षणिक हुन्छ। जब जीवनको लक्ष्य थाहा हुन्छ तब दुःख पनि उत्सव हुन्छ, सुख चिरकालीन हुन्छ। ठूलै लक्ष्य लिइएको छ भने जिते कप्तान बनिनेछ र हारे सल्लाहकार। कहिल्यै पछुताउनुपर्ने छैन।

जीवनमा थोरबहुत सुरक्षा हुनु त राम्रै हो तर प्रकृतिको नियममा सुरक्षा हुँदैन। जोखिम नै प्रकृतिको नियम हो। उद्यम गर्नु भनेकै जोखिम लिनु हो। उद्यमशील बन्नु एकदमै प्राकृतिक कुरो हो। सकेसम्म देशमै उद्यमशील बनौं। श्रमको सम्मान गरौं। जीवनमा आफ्नो काम गर्नु वा अरुले नगरेको काम जत्ति सन्तुष्टिदायक केही हुँदैन।

आफ्ना बच्चाहरूलाई अनुशासन, इमानदारी र नैतिकता सिकाउँ। हामी जस्तो सोच्छौं, त्यस्तै बन्दै जान्छौं। त्यसैले सकारात्मक सोचौं। आज हामी प्रेम चाहिं आफूले पाउनुपर्ने र जिम्मेवारी चाहिं अरुले निभाइदिनुपर्ने मानसिकता बोकेर बाँचेका छौं।

प्रेम अरुलाई दिउँ र जिम्मेवारी आफू लिऊँ। पाउनुपर्ने मात्र होइन, दिनुपर्ने पनि हिसाब राखौं। आफ्ना आवश्यकता घटाउँ र जिम्मेवारी बढाऔं। सफल हुनुभन्दा असल हुनु अझ बढी जरुरी छ। मान्छेको सबैभन्दा ठूलो लडाइँ आफैंसँग हो। संसारलाई जित्नु जरुरी छैन। पहिले आफूलाई जित्नु जरुरी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?