+
+
Shares
राजनराज शिवाकोटीका ८ किस्सा :

पूर्व-पश्चिम रेल गीत सुन्नै मन लाग्न छाडेपछि

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३ गते ११:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राजनराज शिवाकोटीले लोकपरम्परालाई समेटेर \'सुर्केथैली खै\' लगायत गीतहरू रचेका छन् जसले युट्युबमा करोड क्लबको कीर्तिमान बनाएका छन्।

सुर्केथैली खै, पूर्व-पश्चिम रेल, कुटुमा कुटु, चेप्टे चेप्टे पेरुङ्गो । यी गीतहरू तपाईंले कहाँ–कहाँ सुन्नुभएन ?

मेला–महोत्सवमा, चाडपर्वमा, बिहेकार्जेमा, वनभोजमा, चोकमा, गल्लीमा, गाउँमा, स्कुलमा । देशमा, परदेशमा । जता–जता नेपाली छरिएका छन्, त्यहीँ-त्यहीँ यी भाकाहरू गुञ्जिएका छन् । मन खोलेर रमाइलो गर्ने जमात जहाँ पुग्छन्, यी गीतहरूले उमंगको मेला लगाइदिन्छ ।

आखिर यी गीतहरूमा त्यस्तो के छ ?

लोक परम्परालाई समेट्ने शब्दमाला छन्, मुखैले टिपिहाल्ने रसिलो भाका छन् । उहिलेका संशाधन, गाउँले बोलीवचनले गीतलाई आफ्नोपनमा बाँधेका छन् । यी गीतहरू कसरी रचिए ? कसरी भाका हालिए ? हामीले सर्जक राजनराज शिवाकोटीलाई सोध्यौं ।

यसपाली उनी हस्याङफस्याङ गर्दै साँझतिर अनलाइनखबरमा आइपुगेका थिए । ‘पर्सी नै विदेश उड्नु छ’ भन्दै हतारिँदै । र, सोही रात रेकर्डिङको बाँकी काम सक्‍काउनु छँदै थियो ।

यद्यपि वातचित गर्दै जाँदा उनी आफ्ना अतीतमा फर्किए अनि स्मृतिमा रहेका अध्यायहरू पल्टाउन थाले । सुर्केथैली गीतले युट्युबमा पहिलो पटक करोड क्लबको कीर्तिमान राखेपछि मनोरञ्जनात्मक पत्रिका साप्ताहिकले उत्सव मनाइदिएको, उत्सव मनाइरहँदा पनि ‘करोड क्लब’बारे आफूले खासै भेउ नपाएको, गीत लोकप्रियताको उत्कर्षमा रहँदा एक वर्षसम्म आफूलाई कसैले फोन/अफर नगरेको, पूर्व-पश्चिम रेल गीत चल्नुअघि सुन्नै मन नपरेको, कसो–कसो डिप्रेसनमा गएको, एउटा गीतको शब्द फुरेका बखत बाइकबाट पछारिएको । उनले हामीसँग सविस्तार आफ्ना जिन्दगीका यस्ता किस्साहरू सुनाए ।

किस्सा १ : गीत बजाउने ठाउँ खोज्दै जाँदा

गीत लेख्ने, धुन भर्ने, गाउने उल्कै रहर थियो । त्यो यस्तो समय थियो, जतिबेला नवीन के भट्टराईहरू टोल–टोलमा गुञ्जिएका हुन्थे । नवीनकै शैलीको एउटा गीत किन नबाउने ? उनले गीत लेखे । जसोतसो रेकर्ड गराए ।

गीत त तयार भयो, तर कहाँ लगेर बजाउने ? कसलाई दिने ? कसलाई भन्ने ? थाहापत्तो थिएन ।

झोलामा सिडी हालेर सिंहदरबारको गेटमा पुगे, नरेश भट्टराईलाई भेट्न । नरेशले एफएममा त्यस्ता गीतहरू बजाइरहेका हुन्थे ।

गेटको आडैमा उनले नरेशलाई कुरेर बसिरहे । केही समयपछि नरेश फुत्त बाहिर निस्किए । राजनराजले ‘दाइ.. दाइ..’ भन्दै कराएपछि नरेशले ठ्याक्क बाइक रोके । अनि सोधे, ‘अँ भाइ, किन ?’

राजनराजले झोलाबाट सिडी निकाल्दै भने, ‘दाइ तपाईंले यो गीत सुन्नुपर्‍यो । मन पर्‍यो भने रेडियोमा बजाइदिनुपर्‍यो ।’

‘ल भाइ तिम्रो गीत झुरै रहेछ भने पनि एक पटक चाहिँ बजाइदिन्छु’ यति भन्दै सिडी बोकेर उनी सडकको भीडमा मिसिए ।

राजनरालाई कसो-कसो आफ्नो गीत ‘झुरै पो होला कि’ भन्ने पनि लाग्यो । आखिर जे लागे पनि के गर्नु ? मनमा औडाह बोकेरै उनी आफ्नो जन्मथलो दोलखा गए । तीन हप्ता बित्यो । त्यसबेला राज श्रेष्ठको एफएममा एउटा कार्यक्रम थियो, टप टेन गीत बजाउने।

सोही कार्यक्रममा राजनराजको गीत बजिरहेको थियो, छैठौं नम्बरमा ।

नरेश भट्टराईले रेडियोमा बजाइदिएपछि त्यो गीत लोकप्रियताको ग्राफमा उक्लिएछ । नसोचेकै भएछ ।

राजनराज काठमाडौं फर्किए । नरेश भट्टराईलाई भेटे । भेटमा नरेशले भने, ‘तिम्रो गीत त बबाल मन परायो त स्रोताले ।’ उनै नरेशले राजनराजलाई दिनेश डिसीकहाँ पुर्‍याए । दिनेश डिसी कान्तिपुर एफएममा कार्यक्रम चलाइरहेका थिए । उनले अन एयरमै गीत बजाइदिए ।

त्यति मात्र कहाँ हो र ? दिनेश डिसीले एउटा एल्बमको लागि पनि सहयोग गरिदिने वाचा गरे । अन्ततः त्यसबेला चल्तीका गायकहरू नवीन के भट्टराई, धीरज राई, सुगम पोखरेल लगायतलाई राखेर एउटा क्यासेट नै तयार भयो । नाम राखियो, पञ्चामृत।

उक्त क्यासेटको ‘म माया गर्छु, मेरी उनीलाई’ हिट भयो ।

किस्सा २ : आमाको सुर्केथैलीबाट पैसा चोरेपछि

उनले थुप्रै गीत बनाएका थिए । बनाएकामध्ये कति चलेका पनि थिए । चलेकामध्ये एउटा थिए, ‘सम्धी ज्यू सम्धी ज्यू वार्ता गराइदेऊ’ । गीत त खुब चल्यो तर उनी चलेनन् ।

माओवादी–सरकारको सिघौंरी चलिरहेकै थियो । बन्द, हड्तालले शहर र सडकलाई उराठलाग्दो बनाएको थियो । त्यही बखत उनले ‘वार्ता मिलाइदेऊ’ भन्ने लामो गीत सार्वजनिक गरेका थिए ।

गीत सार्वजनिक भएलगत्तै मुलुकमा १९ दिने आम हड्ताल भयो । हडताल पनि सकियो, वार्ता पनि भयो । कस्तो संयोग ?

यही बेला उनले केही थान गीत रचे । सुर्केथैली खै, कुटुमा कुटु, पूर्व-पश्चिम रेल, फूलबुट्टे सारी । त्यसमध्ये कुरा गरौं सुर्केथैली खै को । घरमा आमाले सुर्केथैली बोक्थिन् । र, त्यसबाट राजनराजले केही समय पैसा समेत चोर्न भ्याए । थैलीको संयन्त्र पनि अनौठो, सही ढंगले सुर्कनो अर्थात डोरी खोल्न जानिएन भने थैली नखोलिने ।

थैली खोल्न नजान्दा त्यो च्यातियो । पैसा त चोरे, आमाको हातबाट कुटाइ पनि खाए ।

एकदिन अनायस उनको दिमागमा फुर्‍यो सुर्केथैलीमै गीत बनाउने जुक्ति । यो जुक्ति फुरेपछि उनले दुई चार पटक भक्तपुर र वसन्तपुरका बजारहरू चक्कर लगाए । सुर्केथैली अहिले पनि पाइएला ? उनले सोधीखोजी गरे ।

गाउँमा आमा, हजुरआमाले बोक्ने सुर्केथैली त शहरमा पनि पाइने रहेछ । र, शहरमा चाहिँ त्यो जिनिस विदेशी पर्यटकले किन्ने रहेछन् ।

यसरी लोक परम्परा र पर्यटनलाई पनि सुर्केथैलीले समेटेको देखेपछि उनले गीतको स्थायी तयार पारे, ‘सुर्केथैली खै भन सुर्केथैली खै।’

किस्सा : थाहै नपाई करोड क्लब उत्सव मनाउँदा

सुर्केथैली खै गीत दीपकराज गिरीले आफ्नो फिल्ममा समावेश गरे । गीत यसरी हिट भइदियो कि, युट्युबमा यसको भ्युज करोड नाघ्यो । यसअघि कुनै नेपाली गीतले यति भ्युज पाएको थिएन ।

रंगीन पत्रिकाहरूमा यो स्वादिलो समाचार बन्यो । त्यसताकाका सर्वाधिक लोकप्रिय मनोरञ्जन पत्रिकाले त प्रथम पृष्टमै यसको आलेख तयार गरे । साथसाथै साप्ताहिकका पत्रकार कृष्ण भट्टराई र सम्पादक सुवास ढकाललगायतले ‘करोड क्लब’ पुगेको खुसीमा उत्सव मनाउने योजना बनाए ।

आफ्नो गीतले यस्तो उत्सव मनाइरहँदा राजनराज मख्ख नपर्ने कुरै थिएन । तर, युटुयुबमा करोड क्लब भनेको के हो ? यस्तो पुग्नुको अर्थ के हो ? उनले भेउ पाइरहेका थिएनन् ।

त्यसपछि त राजनराज शिवाकोटीले एकपछि अर्को कीर्तिमान बनाए । उनी जति पनि गीत निकाल्थे युट्युबमा करोड क्लब नाघ्थ्यो । लागतार तीन वटा गीतले उनको यही कीर्तिमान बनाइदियो ।

किस्सा ४ : पूर्व-पश्चिम रेल सुन्नै मन लाग्न छाडेपछ

सुर्केथैली गीतले त ठूलै कम्पन पैदा गरिदिएको थियो । तर, यो गीत सार्वजनिक भएको एक वर्षसम्म पनि राजनराजले कुनै नयाँ गीतको प्रस्ताव पाएनन् ।

उनले ‘पूर्व-पश्चिम रेल’ गीत तयार गरिसकेका थिए । रेकर्ड भइसकेको थियो। तर, उनलाई एउटा ठूलो डर के भयो भने दोस्रो गीत चलेन भने के गर्ने ? अघिल्लो गीतको श्रेय पनि खोसिन सक्थ्यो र पछिल्लो यात्रा पनि छोटिन सक्थ्यो ।

करियरकै सबैभन्दा ठूलो दबाबमा थिए उनी ।

बिस्तारै उनलाई आफ्नै गीतमाथि शंका लाग्न थाल्यो । गीत ठिकै छ त ? उनले सुने । पटक-पटक । यति सुने कि रिलिजको अघिल्लो दिन उनलाई त गीत पटक्कै मन पर्न छाड्यो । त्यसको शब्द, धुन, स्वर केही पनि मन परेन । तनावको ब्यारोमिटर कतिसम्म बढेछ भने, कसो कसो उनी डिप्रेसनमा नै गएछन् ।

तर दीपकराज गिरीले नै आफ्नो फिल्मबाट यो गीत सार्वजनिक गरे । त्यसदिन राजनराज पुतलीसडकको क्याफेमा बसेर कफी पिउँदै थिए । उनले अनलाइनखबरको समाचार देखे, जहाँ लेखिएको थियो, ‘२४ घण्टमै पूर्व-पश्चिम रेल गीत सर्वाधिक हेरियो ।’ त्यसअघि कुनैपनि नेपाली गीतले त्यो अवधिमा त्यति विध्न भ्युज पाएको थिएन ।

यद्यपि विरक्तीको ह्याङओभर पनि कतिसम्म भने, गीत हिट भएको सात दिनसम्म पनि राजनराजले सुन्नै सकेनन् ।

किस्सा ५ : काकाकुलझैं भाको छ जिन्दगी

मेलम्चीको पानी आउँछ । नेताहरू यसै भन्थे । तर, जुग बित्दा पनि काठमाडौंको धारामा मेलम्चीको पानी झरेको थिएन । एकदिन राजनराज नुहाउँदै थिए, अचानक पानी सकिएछ । ज्यानमा साबुनको फिँज छ । के गर्ने ? पानी त छैन । आखिर दोकानबाट जारको पानी किनेर ज्यानलाई धोइपखाली गर्नुपर्‍यो ।

ठिक यहीबेला हो उनलाई मनमनै फुरेको,

‘काकाकुलझैं भाको छ जिन्दगी

मनको तिर्खा मनकैको बन्दकी

मेलम्चीको पानी सुन्धारामा झरेको

सपना देखें मायालु

मैले तिम्रो सिउँदो भरेको ।’

तर, गीत रेकर्ड हुने बखत मेलम्चीको पानी झरिसकेको थियो । त्यसैले ‘मेलम्चीको पानी सुन्धारामा झरेको’ वाक्य हटाएर ‘एक दुई तीन चार पाँच, दुई तीन चार पाँच छ’ राखियो । उसो त यो गीत छक्का पञ्जामा राख्ने निधो भइसकेको थियो । छक्का पञ्जासँग रिदम मिल्नेगरी यसमा संख्या राखियो ।

किस्सा ६ : एकै वर्षमा ९ गीत सुपरहिट भएपछि

पूर्व-पश्चिम रेल गीतले उधुम मच्याएपछि उनीसँग गीत माग्नेहरूको लस्कर लाग्यो । लस्कर कस्तो भने, त्यो माग धान्नै मुस्किल भयो । यसमा समय र क्षमताको पाबन्दी थियो ।

त्यसैले उनले आएका अफरहरूलाई पालैपालो गीत दिने सर्त राखे । गीत दिए पनि । दिएका गीतहरू एकपछि अर्को हिट भइदियो । कस्तो भइदियो भने एकै वर्ष अर्को ९ वटा गीत सुपरहिट । यो आफैँमा एउटा कीर्तिमान थियो । टाकन टुकन ट्वाक्क, कुटुमा कुटु सुपारी दाना, सिओडब्ल्यू काउ, चिरबिर चिरबिर चाँचरी, चेप्टे चेप्टे पेरुङ्गो, चरी चट्ट परी भुरुरु लगायत ।

किस्सा ७ : फूलबुट्टे सारीको एउटा शब्द नफुरेपछि

फूलबुट्टे सारी, सपक्कै पारी पछ्यौरी मलमलको । गीत लगभग तयार थियो । तर, त्यसको एउटा अन्तरामा एउटै शब्द मिलेको थिएन । त्यो शब्द के होला ? उनी बहुत घोत्लिए । तीन महिनासम्म त्यसमा मिल्दो शब्द नै फुरेन ।

गीतको अन्तरा थियो, ‘कान्छीको केस ….।’

त्यहाँ एउटै मिल्दो शब्द राख्न पाए गीत पुरा हुन्थ्यो । तर शब्द फुरे पो ?

उनलाई यही शब्दको खोजीले लामो समय वेचैन बनाइरह्यो । जहाँ जाँदा पनि त्यही खोजिरहेका हुन्थे, सोचिरहेका हुन्थे । यस्तैमा उनी जन्मथलो दोलखा पुगे । घरमुनिको पुच्छरको पाटोमा बसे । त्यहीँ टोलाएर बसिरहेका बेला उनको मुखमा अनायस एउटा शब्द बेजोडले फुत्कियो, ‘फिँजारिएछ ।’

यो शब्द फुर्नसाथ उनी खुसीले यसरी उफ्रिए कि एक बल्ड्याङ पल्टिएर अर्को बारीको कान्लामा पछारिए ।

अनि गीतको अन्तरा यस्तो बन्यो, ‘कान्छीको केश फिँजारिएछ मै कोरीबाटी गर्दिउँ कि ?’

किस्सा ८ : अनि बाइकबाट पछारिए

राजनराजले स्वर्गीय प्रकाश तिमल्सिनाका लागि एउटा गीत तयार पारेको थिए । त्यसको एउटा अन्तरा र स्थायी लगभग पूरा थियो । तर, अर्को अन्तरा फुरेकै थिएन । के लेख्नेहोला ? उनी अक्सर घोत्लिएका हुन्थे ।

गीत रेकर्ड गर्ने बेला भइसक्यो, दोस्रो अन्तरा फुरेकै छैन ।

एकदिन गुहेश्वरीमा गीत रेकर्ड गरेर फर्किँदै थिए, मोटरसाइकलमा । पशुपतिबाट तिलगंगा निस्कने बाटोमा आइपुग्दा फ्याट्ट अन्तरा फुर्‍यो ।

आशै जलाई मेरो बासै जलाईविशेमनोर

मेरो घरै जलाई मेरो मनै जलाई

आखिर मेरो जिन्दगीमा हुरीबतास चलाई

सलाई चलाई मलाई मरेतुल्य बनाई ’

यस्तो रसिलो र कसिलो अन्तरा फुरेपछि उनी खुसीले मनमनै उफ्रिएको के थिए, शरीरको सन्तुलन पनि बिग्रिएछ । मोटरसाइकलबाट उनी हिलोमा पछारिए ।

हिलोमा लडेपछिको समस्या के भने, ऐयाआत्था गरेर बस्दा बल्लतल्ल फुरेको अन्तरा बिर्सने डर । नगरौं त ज्यान दुखेको छ । उठ्नैपर्ने पनि छँदैछ । आसपासमा मान्छेहरू हेरिरहेका छन् । कोही उठाउन आउँदैछन् । तब राजनराज ‘ऐया ऐया आशै जलाई मेरो बासै जलाई ऐया मेरो घरै जलाई …’ भन्दै यसरी उठे, ता कि ती शब्दहरू कसैगरी स्मृतिबाट गायब नहोस् ।

भिडियो : कमल प्रसाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?