+
+
Shares

गीतको कथा : फकाउँछ काफ्ले जानु कि नजानु ?

मिलन खत्री मिलन खत्री
२०८२ जेठ ५ गते १८:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘ऊनको स्वीटर’मा स्व. प्रेमध्वज प्रधानको दुई गीत समावेश गरिएको थियो, जसलाई सम्मानस्वरूप राखिएको हो।
  • गीतहरू अहिले टिकटकमा लोकप्रिय छन् र फिल्मको कथा र पात्रहरूलाई प्रेम र रोमान्सको भावना व्यक्त गर्न प्रयोग गरिएका छन्।

कुनैबेला प्रेममा परेकाले मनमनै गुनगुनाउने गीत थियो, ‘घुम्तीमा नआऊ है, आँखा तिमी जुधाउन….।’ यसले प्रेम जोडीको अव्यक्त भावनालाई साटफेर गरिदिन्थ्यो । यही गीतलाई हामीले टपक्कै टिपेर फिल्म ‘ऊनको स्वीटर’मा समावेश गर्‍यौँ ।

यो गीत कथाले मागेर भन्दा पनि हामीले चाहेर राखेका थियौं । खासगरी श्रष्टाको सम्मानमा । स्व. प्रेमध्वज प्रधानको सम्मानर्थ फिल्ममा उक्त गीत राख्ने टुंगोमा पुगेका थियौं, हामी । किनभने ऊनको स्वीटर आर्टमान्डुको ब्यानरमा बनेको हो । आर्टमान्डु आफैँमा गीत-संगीत उत्पादन गर्ने प्लेटफर्म हो ।

यसरी गीत-संगीतसँग अभिन्न रुपमा जोडिएका कारणले हाम्रो फिल्मले कुनै न कुनै हिसाबले श्रष्टालाई सम्मान गर्नुपर्छ भन्ने लाग्थ्यो । यसका लागि गोल्डेन भ्वाइस नेपालबाट सम्मानित स्व. प्रेमध्वाज प्रधानलाई हामीले रोज्यौँ । अनि उहाँको परिवारसँग सहमति लिएर फिल्ममा दुई वटा गीत समावेश गरियो ।

एउटा, ‘घुम्तीमा नआऊ है, आँखा तिमी जुधाउन ।’
अर्को, ‘देउरालीमा बतास चल्यो, बतास चल्यो ।’

फिल्मका संगीत निर्देशक सुजन चापागाई स्वयंले यसको पार्श्व गायन गरी मूख्य पात्र धरणीधर काफ्लेमार्फत गाएको देखाइएको छ । लजालु स्वभावका अधबैंसे धरणी आफ्ना सबैकुरा खुलेर भन्दैनन् । तर, कहिलेकाहीँ आफूलाई व्यक्त गर्न गीतको साहारा लिन्छन् । उनी खिपेर गीत गाउन सिपालु पात्र हुन् । त्यही पात्रमार्फत हामीले प्रेमध्वज प्रधानको गीत गाएका छौँ ।

अहिले यो गीत टिकटकभरी छाएको छ । यसले हामीलाई खुसी नबनाउने कुरै भएन । त्यस्तै हामीले फिल्ममा कुनैबेलाका रोमान्टिक हिरो दिलीप रायमाझी र हिरोइन निरुता सिंहलाई समर्पण गरेर केही प्रसंग समेटेका छौँ । जस्तो सुरुकै गीत दीलीप रायमाझी र निरुता सिंहको झल्को दिने खालको छ । एलेक्स र परीक्षा दुवै दिलीप र निरुताको प्रशंसक भएको देखाइएको छ । उनीहरूको पहिरन शैली, हाउभाउ र उनीहरूले रोज्ने गीत त्यही खालको छ ।

‘चाइनेजो जिन्दगानीमा’ गीतमा एलेक्स र परीक्षाले दिलीप रायमाझी र निरुता सिंहले जस्तो नृत्य गरेको देखाइएको छ ।

कुनैबेला नेपाली फिल्मको गीत एकदमै रुचाइन्थ्यो । बिहेकार्जेमा, मेलापातमा जताततै फिल्ममा गीत घन्किन्थे । गीत बज्दा कुनै उत्सव नै आएको जस्तो हुन्थ्यो । एउटा पुस्ता यस्तै गीत सुन्दै हुर्किए ।

कान्छी फिल्मको कान्छी हे कान्छी.., कुसुमे रुमालको मायाको बारीमा.., प्रेमपिण्डको गैरी खेतको शिरै हान्यो.., दर्पण छायाँको लहनाले जुरायो कि.. जस्ता गीतले कुनै न कुनै कालखण्डमा कब्जा जमाए । त्यस समयलाई संगीतमय बनाइरहे । त्यसबेला फिल्मले कथा मात्र भन्दैनथ्यो, मधुर गीतहरूको कोसेली पनि साथमै लिएर आएका हुन्थे । त्यसैले नेपाली फिल्ममा गीत संगीतले बलियो स्थान जमायो ।

ऊनको स्वीटर बनाइरहँदा हामीले ५० को दशकमा फर्किएर हेर्‍यौं र त्यसबेला नेपाली फिल्मका गीतले छाडेका झंकारहरू महसुस गर्‍यौँ । वास्तवमै ती गीतहरूले हृदयमा उमंग ल्याइदिन्थे । गीत सुनेपछि मान्छेको अवयव त्यसै-त्यसै नाच्थे ।

फिल्म उहिले नै प्रदर्शन भइसकेको हो । फिल्मको कथा पनि कतिका लागि पुरानो भइसके । तर, गीतहरू अहिले पनि बजिरहेकै छन् । हामीले के ठान्यौं भने गीत संगीत भनेको फिल्मको अभिन्न पाटो हुन्, खासगरी हाम्रो सन्दर्भमा । हामी जुन किसिमको फिल्मी बनावटमा अभ्यस्त छौं, त्यसमा गीत अनिवार्य हिस्सा हुन् । यही सोचेर हामीले ऊनको स्वीटरमा केही यस्ता गीतहरू समावेश गर्ने निधो गर्‍यौं, जसले सांगीतिक तरंग पैदा गरिरहोस् ।

आज हामी अपेक्षाकृत सफल भएको महसुस हुन्छ । किनभने हामीले समावेश गरेका गीतहरूमा समाज रमाइरहेको देख्छौँ । मान्छेहरू हाँसिरहेको, नाचिरहेको देख्छौँ । चाहे त्यो ‘धान सुक्यो रापले, फकाउँछ काफ्ले’ होस् वा ‘तिमी बिना तिमी हुनु ।’ यी गीतहरूमा मान्छेहरू झुम्मिएका छन् । यही नै हाम्रो सन्तुष्टिको एउटा आधारशिला हो ।

खत्री फिल्म ऊनका स्वीटरका निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?