
News Summary
Generated by OK AI. Editorially reviewed.- धरणी र फूलमायाको प्रेम कथा सामाजिक परिबन्ध र वर्गभेदका कारण जटिल बनेको छ। उनीहरूको प्रेमले समाजको विभाजन र परम्परागत मूल्यहरूलाई चुनौती दिन्छ।
- फिल्मले नेपाली गाउँजस्तो प्राकृतिक र सांस्कृतिक परिवेशलाई ‘अर्ग्यानिक’ शैलीमा चित्रण गरेको छ, जसले दृश्य र संगीतलाई जीवन्त बनाएको छ।
- सामाजिक र पारिवारिक बाध्यताका बाबजुद पनि प्रेम र सम्बन्धको खोजी र प्रतीक्षा कथाको मुख्य विषय हो, जसले प्रेमको अनौठोपन र जटिलता देखाउँछ।
आखिरमा धरणीले मायाको सौगात पाउँछन्- ऊनको स्वीटर । गाढा रातो रङको फूलबुट्टे स्वीटर उनकी प्रियसी फूलले आफ्नै हातले बुनेकी थिइन् । के त्यो स्वीटर फूलजस्तै शीतल र न्यानो थियो ?
बाह्रैमास चिसो सिरेटो चल्ने एकलासे लेकमा धरणीलाई ऊनको स्वीटरले न्यानो बनाउँदैन, बरु विरहले पोल्छ । किन ?
यही प्रश्नले हामीलाई फ्ल्यासब्याकमा लैजान्छ र एउटा अतृप्त प्रेमकथा सुनाउँछ । पचासको दशकको समाज, समय र सन्दर्भमा घुमाउँछ । लेकको बयल र बेँसीको खोलाले सुसाउने उस्तै भाका सुनाउँछ । मायाको बारीमा धूमिल स्मृति बिछ्याएर ‘तुम कब आओगे’ शैलीमा कसैको प्रतीक्षा गरिरहेका धरणीसँग भेट गराउँछ ।
धरणी, उनी नै हुन् कथाका सूत्रधार ।
अधबैंसे र अन्तर्मुखी धरणीले फूलसँग पिरती गाँसेका थिए । उनीहरूको धेरै कुरा मिल्थ्यो- पारिवारिक स्थिति, उमेर र मन । तगारो एउटै थियो- सामाजिक परिबन्ध।
उनका साख्खै भाइ डम्बरेले लिम्बू खलककी छोरी इक्सालाई भगाएपछि धेरै कुरा गडबड भएको थियो । समाज भाँडिएको थियो । उनको इलम (मिस्त्री काम) खोसिएको थियो । आफ्नै भाइबन्धुबाट ‘कूल बिगारेको’ आरोप लागेको थियो । त्यसैले उमेर भएर होइन, उमेर ढल्केर पनि धरणीले मन मिल्ने जोडी बाँध्न सकेका थिएनन् ।
अरूको घर बनाइदिने उनको आफ्नै घरबार लथालिङ्ग थियो ।
यस्तै कटमिरो जिन्दगी बोकेर बाँचिरहेका धरणी आफ्ना भाइलाई खोज्न निस्किए । तर, खै किन हो, विरक्तिएर घर फर्किए । समय बित्यो । परिस्थिति बदलियो । एक साँझ डम्बरे घर फर्कियो, सँगै बुहारी इक्सा पनि ।
तब धरणीले भाइलाई छातीमा टाँसेर भने, ‘तैंले केही बिगारेको छैनस्, ठिक गरिस् कान्छा ।’
भाइकै कारण अनेक लफडा खेपेका धरणीले किन यस्तो भने ? सायद यो उनको अतृप्त प्रेमको मौन अभिव्यक्ति थियो । उनले आफ्नो असफल प्रेमलाई यही भावनाले अमर राख्न चाहन्थे ।
त्यसपछि, लेकको भेडीगोठ रित्तो बनाएर आफ्नै थातथलो फर्किएकी फूललाई खोज्दै धरणी सीमापारि लाग्छन् । तर, के उनीहरूको भेट हुन्छ ? त्यो प्रेमको पुनर्मिलन कस्तो होला ?
प्रेम कति अनौठो ! कहिले समाजलाई जोड्छ, कहिले तोड्छ । खासमा यो नेपाली समाजको त्यो विघटित कथा हो, जसलाई स्वच्छन्द प्रेमले एउटै फेरोमा बाँध्न खोज्छ । फरक जात, फरक संस्कृति, फरक रीतिथितिलाई एउटै आँगनमा समेटेर उत्सव मनाउन खोज्छ ।
त्यसैले प्रेमको मियोमा उनेर बनाइएको मिश्रित समाजको कथा हो- ऊनको स्वीटर ।
‘सेवारो, आदङ्वा आदङ्वासे’ भन्दै कुटुम्बेली रीत बुझाउन लिम्बूको आँगनमा पुग्छन् । पिताको मितेरी साइनो केलाउँदै लेकका गुरुङकहाँ आलु खोज्न जान्छन् । मनको बह पोख्न खोलाको बगरमा बस्ने दलितकहाँ पुग्छन्- ब्राह्मण कुलका धरणी ।
सम्बन्धको धागोले समाजलाई कति सौहार्दपूर्ण ढङ्गले एकाकार गर्छ ? नजानिँदो ढङ्गमा सिनेमाले यो कुरा भन्छ ।
यी कुरालाई निर्देशक नवीन चौहानले प्रतीकात्मक रूपमा व्यक्त गरेका छन् । जस्तो, एउटा दृश्यमा गुरुङ मितबाले धरणीलाई विभिन्न आलुका प्रजाति चिनाउँदै भन्छन्, ‘यो झ्याले, यो बिटे…।’ थरीथरीका यी आलु उही हावापानी, उही मलमाटोमा उब्जिएका हुन्, जसलाई उनले एकै ठाउँ समेटेर राखेका छन् ।
त्यसैले यो प्रेमको मात्र कथा होइन समाजले लुकाएको, गुमाएको र छुटाएको सन्दृश्य विवरण हो । गाउँले रौनक भर्ने मेला, काठको भाँडाकुँडा बनाउने चँदारा, हातेकागज बनाउने उद्यम, धागो कात्ने चर्खा, मित्रता गाँस्ने अटोग्राफ—यी यसका तन्दुरुस्त अवयव हुन् ।
फिल्मले पचासको दशक आसपासमा समयले हडपेको समाजको सौन्दर्य त देखाउँछ नै, त्यो पनि बिम्बात्मक शैलीमा ।
जस्तो, फिल्ममा अर्का पात्र छन्, बगरमा चँदारा चलाएर बसेका एक दलित । त्यो बगर पनि उनको आफ्नो होइन, काफ्ले खलकको विर्ता हो । दु:खसुखको कुरा गर्न बेलाबखत धरणी त्यहीँ पुग्छन् । लाग्छ, यी दुवैको जिन्दगी चँदाराको पङ्खाजस्तै हो- एउटै घेरामा फन्को लगाइरहेको ।
यस्तै सुन्दर शिल्पमा लपेटेर समाजको सूक्ष्म तत्त्वलाई ठेट कथ्य संरचनामा ढाल्न सक्नु नवीन चौहानको निर्देशकीय कुशलता हो । सरसर्ती हेर्दा यो फिल्म कुनै ग्रामीण जनजीवनको सग्लो चित्रकथा जस्तो लाग्छ।
लवाइखवाइ, बोलीचाली, चालचलनले मात्र होइन, प्राकृतिक प्रकाश, स्थानीय ध्वनि र क्यामेराको कोणले फिल्मलाई ‘अर्ग्यानिक’ बनाएको अनुभव हुन्छ। किनभने त्यहाँ घर, कुहिरो, खर्क, मेला, हिमाल, चौरी, खोला सबैले अभिनय गरेका छन् ।
हुन त ‘अर्ग्यानिक’ शब्द आफैँमा भारी र विरोधाभासपूर्ण लाग्छ । पारिस्थितिक प्रणालीअनुरूप जैविक खेतीपातीलाई जनाउने यो शब्द फिल्मको सन्दर्भमा कसरी प्रयोग हुन्छ ? प्रष्ट छैन। यद्यपि, प्राकृतिक गुण र स्वभाव कायम राख्दै रैथाने दृश्यभाषा निर्माण गर्नुलाई ‘अर्ग्यानिक’ भनिन्छ भने, ऊनको स्वीटरको हकमा यो निर्धक्क भन्न सकिन्छ ।
फिल्म हेरिरहँदा यसको सङ्गीतले दर्शकलाई थप भावनामा डुबाउँछ। सुजन चापागाईँको सङ्गीत संयोजन फिल्मको सुरम्य सौगात हो । निर्देशक नवीनले भनेजस्तै, यो उनको मात्र फिल्म होइन । यति जीवन्त परिवेश तयार गर्ने पान्थरेको हो, यति मधुर धुन भर्ने सुजन चापागाईँको हो र यति स्वाभाविक अभिनय गर्ने विपिन कार्कीको हो ।
फिल्म हेरिरहँदा तपाईं यस्तो सोच्नुहुन्न कि धरणीको ठाउँमा विपिनबाहेक अरू कोही हुन सक्थे । लजालु अधबैंसे, जो बोल्नुभन्दा नबोलेरै धेरै कुरा भन्छन् । अनुहारको मांसपेशी र आँखाको चालमा यस्तो भावभङ्गी अरू कसले ल्याउन सक्थे ?
अरू कुनै कलाकारको अभिनयमा खोट लगाउने ठाउँ छैन । इक्साको भूमिकामा परीक्षा लिम्बू सम्झनलायक छिन् ।
यद्यपि, फिल्म कमजोरीरहित छैन । खासगरी, सुरुवाती दृश्यहरूको सिलसिला टुट्दा दर्शक अलमलिन सक्छन् । पात्र र घटनाक्रम स्थापित गर्न केही समय लाग्छ । पटकथालाई कसिलो र छरितो बनाउने ठाउँ अझै छ । मिलेनियल पुस्ताको कथा भनिरहँदा जेन-जीको शब्दज्ञानले भ्रम पार्न सक्छ ।
फिल्मका मुख्य पात्र धरणीलाई गीताङ्गेका रूपमा चित्रित गरिएको छ, जो लुकीछिपी गाउँछन् । तर, सुजन चापागाईँको स्वरमा धरणीको स्वरको तालमेल मिलेजस्तो लाग्दैन। यद्यपि, निर्माण टिमले प्रेमध्वज प्रधानप्रति सम्मान जनाउन जानाजान यस्तो गरेको बताएको छ । त्यसैले धरणीले दिग्गज गायक प्रेमध्वजका गीतहरू गाउँछन्, जुन उनको भावनाको अभिव्यक्ति जस्तो लाग्छ ।
यस्तै, पचासको दशकका रोमान्टिक हिरो-हिरोइन दिलीप रायमाझी र निरुता सिंहप्रति सम्मान गर्न कतिपय प्रसङ्ग र दृश्यहरू जोडिएको बताइन्छ ।
फिल्मको यो कथा नयाँ होइन । समाजलाई साक्षी राखेर प्रेमको कथा धेरैपटक भनिएको छ। निर्देशकले आफ्नो कथालाई इमानदारीसाथ भने पनि त्यसमा पृथकपन ल्याउन सकेका छैनन् ।
अन्त्यमा,
‘बिगौती त बासी नै मिठो हुन्छ नि ?’
के प्रेम पनि बासी नै मिठो हुन्छ ? धरणी र फूलको जस्तै ।
दूरी र परिबन्धले टाढिएर पनि उनीहरू एक अर्कालाई पर्खिरहेका हुँदाहुन् । के उनीहरूको पुनर्मिलन होला ?
प्रतिक्रिया 4