
काठमाडौं । फिल्म ‘ऊनको स्वीटर’लाई बुधबार साँझ बिग मूभिज हलमा भव्य प्रिमियर गरिएको छ । तीनवटै अडिटोरियम बुकिङ गरेर आयोजना गरिएको प्रिमियरमा नेतादेखि कलाकारको बाक्लो सहभागिता रह्यो ।
समारोहमा उपसभामुख इन्दिरा रानामगर, राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद सोबिता गौतम, सांसद विनिता कठायत, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, कलाकार दयाहाङ राई, केकी अधिकारी, अञ्जना बराइली लगायत सहभागी थिए ।
फिल्म युनिटबाट विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सनविक्रम राई, निर्देशक नवीन चौहानलगायत उपस्थित रहे । प्रिमियरमा फिल्मले सकारात्मक प्रतिक्रिया प्राप्त गरेको निर्माताद्वारा प्रेषित विवरणमा उल्लेख छ ।
उपसभामुख रानामगरले फिल्मले प्रेमको गहिरो भाव प्रस्तुत गरेको बताइन् । ‘मन जितेर मात्र प्रेम हुन्छ भन्ने कुरा चलचित्रले सुन्दर तरिकाले देखाएको छ’ उनले भनिन् । अभिनेता राईले ‘गजबको कृति’ भन्दै प्रशंसा गरे ।
सांसद गौतमले दृश्य, सामाजिक प्रसंग र कथावस्तुलाई मनमोहक बताइन् । अभिनेत्री अधिकारीले आफूले हेरेका उत्कृष्ट प्रेमकथामध्ये एक भएको उल्लेख गर्दै निर्देशकको प्रशंसा गरिन् ।
अभिनेता कार्कीले दर्शकको माया देखेर मन भारी भएको बताए । अभिनेत्री मगरले दर्शकलाई न्यानो माया दिन सफल भएको बताइन् । गायक सुजन चापागाईँले शुक्रबारदेखि यो फिल्म दर्शकको जिम्मामा रहेको बताए ।
निर्देशक चौहानले भने, ‘प्रतिक्रियाले मलाई न्यानोपन दिइरहेको छ । यी आत्मिक प्रतिक्रिया शब्दमा व्यक्त गर्न गाह्रो छ ।’ यो फिल्मको एड्भान्स टिकट बिक्री बिहीवारदेखि नै सुरु भएको छ । आर्टमाण्डू प्रालिको ब्यानरमा फिल्म निर्माण भएको हो ।
तस्वीर : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4