
News Summary
Generated by OK AI. Editorially reviewed.- सिनेमाले कथालाई मात्र होइन, निर्माण प्रक्रियामा पनि एउटा अर्को कथा बुन्छ जसले फिल्मको गहिराइ र सन्दर्भलाई थप गर्दछ।
- फिल्म ‘ऊनको स्वीटर’ले विभिन्न स्थानहरूमा पुराना परम्परागत सीपहरू जस्तै चँदारो र याक जस्ता सांस्कृतिक र ऐतिहासिक तत्वहरूलाई समेटेको छ।
- निर्देशक नविन चौहानले यस फिल्ममार्फत समाजका लुप्तप्राय परम्पराहरू र प्राकृतिक सौन्दर्यलाई संरक्षण गर्न र स्मरण गर्न प्रेरित गरेका छन्।
सिनेमाले कथा भन्छ । तर, सिनेमाको आफ्नै कथा पनि हुन्छ । विशेषगरी निर्माण प्रक्रियामा यो कथाले समानान्तर रूपमा अर्को कथा बुन्छ । यो कथा कहिल्यै पर्दामा आउँदैन, दर्शकले देख्दैनन् ।
तर, पर्दामा देखिने हरेक दृश्यको पछाडि अर्को कथा लुकेको हुन्छ। आज म त्यही कथालाई प्रस्तुत गर्दैछु ।
उपकथा – घर
हाम्रो सिनेमाको कथाले एउटा घर माग्छ । अर्थात्, मुख्य पात्र धरणीधर काफ्लेले कथाको अन्त्यमा एउटा घर बनाउनुपर्छ । उनले फूलसँग वाचा गरेका हुन्छन्, ‘मलाई एकान्त ठाउँमा, फूलैफूलको बगैंचामा एउटा घर बनाउन मन छ । बगैंचाको बीचमा चिटिक्क परेको सानो घर। त्यही घरमा म तिमीलाई पर्खिरहनेछु ।’
लजालु धरणीधरले यस्तो कुरा गरेपछि फूलले उनलाई चुम्बन गर्छिन् । धरणीधरका लागि यो नै सबैभन्दा मीठो उपहार हुन्छ । तर, यससँगै उनमा नैतिक बन्धन पनि थपिन्छ । उनले वाचा गरेको घर बनाउनैपर्ने जिम्मेवारी ।
यसरी, फिल्मका लागि एकान्त लेकमा चिटिक्क परेको घर आवश्यक भयो ।
हामीकहाँ कथाले घर मागे पनि प्रायः पहिल्यै बनेको कुनै घर खोजेर देखाउने चलन छ । किनभने, सिनेमामा यस्तो ‘चलाखी’ सामान्य मानिन्छ । तर, मेरो लागि ‘ऊनको स्वीटर’ कुनै चलाखी थिएन । म यसलाई पूर्ण इमानदारीका साथ बनाउन चाहन्थें । मलाई लाग्यो, धरणीधरले पनि कुनै चलाखी गर्दैनन्। त्यसैले, उनले फूलसँग गरेको वाचाअनुसार वास्तवमै घर बनाउने निधो गरियो ।
हामी ठूलो तामझाम र फजूल खर्च रुचाउँदैनौं । भोजभतेर गरेर खुसीयाली मनाउनुभन्दा त्यो रकम कुनै अर्थपूर्ण काममा खर्च होस् भन्ने चाहन्छौं । धरणीधरका लागि हामीले यही रणनीति अपनायौं ।
हामीले घर बनायौं । इलाम र पाँचथरको सिमानामा पर्ने राँकेमा १० रोपनी जग्गा किनियो । एक रोपनी भए पुग्थ्यो, तर त्यति मात्र पाइएन। जग्गा किनेपछि हामीले धरणीधरका लागि कथाले मागेअनुसार घर बनाइदियौं ।
त्यो एकान्त लेकमा, सानो कम्पाउन्डले घेरिएको, वरिपरि फूलहरूले सजिएको, चिटिक्क परेको घर बन्यो । घर निर्माणमा करिब १० लाख रुपैयाँ खर्च भयो ।
यो घर बनाउनुका दुई उद्देश्य थिए । पहिलो, कथाले मागेको कुरामा कुनै चलाखी नगर्ने । दोस्रो, सिनेमा निर्माणका क्रममा कुनै न कुनै इतिहास र चिनो छोड्ने ।
अब यो घरलाई हामीले स्क्रिप्ट लेख्ने, गीत रचना गर्ने र सिर्जनात्मक कार्यको योजना बनाउने ठाउँका रूपमा प्रयोग गर्नेछौं । कुनै फिल्मको कथा लेख्नुपरेमा वा सिर्जनात्मक कामको खाका कोर्नुपरेमा यो ठाउँ उपयोगी हुनेछ भन्ने हाम्रो लक्ष्य छ ।
उपकथा – चँदारो
फिल्म केवल मनोरञ्जन मात्र नभई समाजका लागि एउटा दस्तावेज बनोस् भन्ने कुरामा म सधैं सचेत रहन्छु । त्यसैले, ‘ऊनको स्वीटर’मा मैले समयसँगै लोप भएका कुराहरू देखाउने प्रयास गरेको छु। तीमध्ये एक हो – चँदारो ।
पानीको प्रवाहले पंख घुमाएर काठका भाँडाकुँडा बनाउने यो पेशा मेरो धमिलो स्मृतिमा बाँकी थियो। सानो छँदा यदाकदा देखेको थिएँ । तर, पछि यो हरायो। गाउँमा सडक पुग्यो, सडकसँगै मोटरगाडी । मोटरगाडीले प्लास्टिकका भाँडाकुँडा गाउँ-गाउँ पुर्यायो । यसरी एउटा पुस्तौनी सीप लोप भयो ।
मैले फिल्ममा चँदारो देखाउने निर्णय गरें । तर, यो सोचेजस्तो सजिलो थिएन । यसको खोजीमा छुट्टै महाभारत भयो ।
चँदारो खोज्दा इलाम, पाँचथर, भोजपुर कतै भेटिएन । मोटर राखेर चलाखी गर्दा सजिलो हुन्थ्यो, तर मलाई त्यो मनासिब लागेन । जसरी पनि वास्तविक चँदारो खोजौं भन्ने अठोट गरें । निर्माण टोलीलाई सोही निर्देशन दिइयो। एउटा टोली चँदारोको खोजीमा जुट्यो ।
बल्लतल्ल इलामको एउटा गाउँमा चँदारो रहेको खबर आयो । हाम्रा साथीहरू त्यहाँ पुगेर कुराकानी गरे । तर, ती व्यक्तिको जवाफ यस्तो थियो, ‘१० लाख दिए पनि दिँदिन, प्रधानमन्त्रीले भने पनि दिँदिन ।’
यति भनेपछि हामीले जोड गर्न सकेनौं । साथीहरू रित्तो हात र खिन्न मन लिएर फर्किए ।
तर, हामीले हार मानेनौं ।
पछि थाहा भयो, ताप्लेजुङको ढुंगे साँघुमा तमोर नदीको किनारमा कसैले चँदारो चलाउँदै रहेछन् । हाम्रो टोली त्यहाँ पुगेर कुराकानी गर्यो । ती व्यक्ति उत्साहित भए । उनले चँदारो बोकेर आफैं हामीकहाँ आए, आफ्नी छोरी र नातिनीलाई समेत साथमा लिएर ।
हामीले चँदारोलाई दुई खोलाको बीचमा राख्नुपर्ने थियो । खोज्दै जाँदा त्यस्तो ठाउँ पनि भेटियो । चँदारोका लागि झुपडी बनायौं, चँदारो राख्यौं र चलायौं । पछि कथाअनुसार त्यो घर जलाउनुपर्ने भयो, हामीले जलायौं ।
तर, अहिले त्यसको निशानी फिल्ममा मात्र बाँकी छ । गत वर्षको बाढीले सबै बगायो । अहिले त्यहाँ खोला बग्छ ।
उपकथा – बिरामी याक
म स्क्रिप्ट लेख्न फालेलुङको खर्कतिर गएको थिएँ । त्यहाँको परिवेशमा कथा बुनिएकाले त्यहीँ बसेर स्क्रिप्ट लेख्दा जीवन्त हुन्छ भन्ने मेरो ठम्याइ थियो ।
त्यहाँ मैले मगरे काइँला भन्ने व्यक्तिको चौँरी गोठमा डेरा जमाएँ । बसाइका क्रममा मलाई त्यो गोठसँग अनौठो आत्मीयता जोडियो ।
पछि छायांकनका लागि त्यहाँ पुग्दा मगरे काइँलाको एउटा याक बिरामी थियो, जंगलमा लडिरहेको । उनीहरूले त्यसलाई औषधि-उपचार गरिरहेका थिए । मैले मगरे काइँला र त्यो याकलाई समर्पित गर्दै फिल्ममा त्यही याक समावेश गर्ने निधो गरें ।
खासमा, याक स्क्रिप्टमा थिएन, हाम्रो अवधारणामा पनि थिएन । तर, त्यहाँको परिस्थितिलाई हेरेर हामीले बिरामी याक देखायौं । उसलाई फिटकिरिको पानीले उपचार गरिएको कथा बनायौं । फिल्ममा याक निको भएको देखाइयो । निको भएपछि मगरे काइँलाले गोठमै साथीभाइलाई भोज खुवाउँछन् । तर, फिल्ममा याक बाँचेको कथा भनिरहँदा वास्तविक याक भने मरिसकेको थियो ।
हामीले याकलाई बचाउन सकेनौं, तर उसको स्मृति फिल्ममा अमर बनायौं ।
उपकथा – पञ्चकन्या
फिल्म निर्माण एउटा सामूहिक प्रयास हो । यसमा धेरैको सिर्जनशीलता, साथ, समय र श्रम जोडिन्छ । हामी फिल्म बनाउँदा एउटा परिवारजस्तै बन्छौं ।
‘ऊनको स्वीटर’मा काम गरिरहँदा रमाइलो संयोग भयो । हाम्रो टोलीका पाँच जनालाई पुत्री लाभ भयो । विपिन दाइ, म, सम्पादक, चिफ एडी र फोकस पुलर सबै एकै समयमा छोरीका बुवा भयौं । यो रोचक संयोग थियो – सबैको छोरी नै जन्मिनु, एकै सिजनमा, त्यो पनि पाँच जनाको। हामीले यसलाई शुभ संकेत मानेर ‘पञ्चकन्या’को आगमन भन्यौं ।
उपकथा – सडक
स्क्रिप्ट लेख्न म फालेलुङ पुगेको थिएँ । समुद्री सतहबाट ३,६०० मिटर उचाइमा रहेको त्यो लेकको सौन्दर्य अनुपम थियो । यद्यपि, त्यहाँ पुग्न बाटोमा कम कष्ट भोगिएको थिएन । तर, लेकमा पुग्दा त्यो भूस्वर्गजस्तै लाग्यो ।
वरिपरि जंगली तोरीफूल अनन्तसम्म फुलेको । टाढा-टाढा भुइँकुहिरो बत्तिएको । अत्यन्त मोहक ठाउँ ।
दोस्रो पटक म त्यहाँ डिओपी चिन्तनराज भण्डारी र गायक सुजन चापागाईंलाई लिएर पुग्दा ठाउँ उराठलाग्दो भइसकेको थियो । सबैतिर सुख्खा नागी । तर, त्यहाँ पुग्न खासै सास्ती भएन, किनभने बाटोहरू ठीक थिए ।
तर, हामी बसेको रातदेखि हिमपात सुरु भयो । तीन दिनसम्म थामिएन । हामी गोठमै अड्कियौं । चाउचाउ उमालेर खायौं, मौसम सफा हुने पर्खाइमा बस्यौं ।
जसोतसो त्यहाँबाट फर्कियौं ।
छायांकनको समयमा भने बाढीले सबैतिर वितण्डा मच्चाइसकेको थियो । फालेलुङ पुग्ने बाटो लगभग बगिसकेको थियो । हामी दोधारमा थियौं – जाने कि नजाने ?
स्थानीयसँग कुराकानी भएपछि उनीहरूले जसरी पनि आफ्नो ठाउँमा छायांकन गराउने अठोट गरे। फालेलुङ, पाँचथर र पश्चिम बंगाल जोडिने बिन्दु हो । यहाँको सौन्दर्य र चहलपहल बढाउन उनीहरूको साझा चाहना थियो ।
अन्ततः, उनीहरूले चार दिन-रात लगाएर स्काभेटरले बाटो बनाइदिए। हामीले सहजै फालेलुङ पुगेर छायांकन सम्पन्न गर्यौं ।
फिल्म ‘ऊनको स्वीटर’का निर्देशक नविन चौहानसँग कुराकानीमा आधारित
प्रतिक्रिया 4