+
+

एसियाडको १२औं दिन कबड्डीमा पदक पक्का, अन्य खेलमा जितविहीन

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० असोज १७ गते १९:३३

१७ असोज, हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसियाडको १२औं दिन बुधबार नेपाल जितविहीन रह्यो ।

महिला भलिबल, ब्याडमिन्टन र एथ्लेटिक्समा प्रतिस्पर्धा गरेको कुनै खेल जित्न सकेन ।

तर महिला कबड्डीमा भने कुनै खेल नखेल्दा पनि नेपालको पदक पक्का भयो ।

कबड्डीमा समूह बी मा इरानले बंगलादेशलाई पराजित गरेपछि नेपाल समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको छ र यसले कम्तीमा पनि नेपालको कास्य पदक पक्का गरेको छ ।

यो पदक कति महत्वपूर्ण छ भने नेपाललाई जारी एसियाडमा पदक विहीन हुनबाट जोगाएको छ र कम्तीमा नेपालको नाम पनि पदक तालिकामा समावेश हुनेछ ।

तीन टोली मात्र रहेको समूह बी मा नेपालले पहिलो खेलमै बंगलादेशलाई हराएपछि पदकको निकै नजिक पुगिसकेको थियो । तर निश्चित भइसकेको थिएन । मंगलबार नेपाल इरानसँग पराजित हुँदा सेमिफाइनल पुग्नका लागि समूहको अन्तिम खेलको नतिजाको पर्खाईमा थियो ।

अन्तिम खेलमा डिफेन्डिङ च्याम्पियन इरानले बंगलादेशलाई ५४–१६ को फराकिलो अन्तरले पराजित गरेपछि इरानसँगै नेपाल पनि सेमिफाइनलमा पुगेको हो ।

नेपालले अब सेमिफाइनलमा समूह ए को विजेता भारतको सामना गर्ने छ । भारत समूह ए मा तीनवटै खेल जित्दै समूह विजेता बनेको हो ।

अर्को सेमिफाइनल इरान र चाइनिज ताइपेईबीच हुनेछ । दुवै खेल शुक्रबार बिहान हुनेछन् ।

विजेता टोली स्वर्ण पदकका लागि फाइनल खेल्नेछन् भने पराजित दुवै टोलीले कास्य पदक प्राप्त गर्नेछ ।

सन् २०१९ मा काठमाडौंमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा ऐतिहासिक रजत पदक जितेको महिला कबड्डी टिमले खासै चर्चा भने पाएन । त्यसबेला धेरै खेलको महिला टिमले सागमा पहिलो पटक रजत जितेको थियो । जसमा महिला भलिबल टोलीले पनि ऐतिहासिक रजत जित्दा ठूलै चर्चा पाएको थियो ।

१३औं सागमा रजत जितेकै कारण नेपालले कबड्डीलाई १९औं एसियाडमा समावेश गर्ने निर्णय गरेको हो । त्यसमा कबड्डीले आफूलाई प्रमाणित गरेर देखायो ।

एसियाडको डेब्यु खेलमै बंगलादेशविरुद्ध ऐतिहासिक जित निकालेको कबड्डी टोलीले १९औं एसियाडमा नेपाललाई पदक विहीन हुनबाट जोगाउने भएको छ ।

पदकको आशा गरिएका र इतिहास बोकेकमा खेलहरु तेक्वान्दो बक्सिङ र नयाँ आएको इस्पोर्ट्सले निराश बनाउँदा कबड्डीले भने पहिलो सहभागितामै नेपालका लागि ऐतिहासिक नतिजा दिलाएको छ ।

सामूहिक खेलतर्फ र महिला टिम गेममा एसियाडमा नेपालले जितेको यो पहिलो पदक हो । यसअघि २०१८ मा प्याराग्लाइडिङमा टिम इभेन्टमै पदक जितेको थियो । तर प्याराग्लाइडिङमा व्यक्तिगत र टिम इभेन्ट दुवै समावेश थियो । कबड्डी भने पूर्ण रुपमा टिम गेम नै हो ।

ब्याडमिन्टनमा चुनौती समाप्त

१९औं एसियाडमा ब्याडमिन्टनतर्फ नेपालको चुनौती समाप्त भएको छ । बुधबार भएको तीन इभेन्टको क्वाटरफाइनलमा नेपाल पराजित हुँदै बाहिरिएको हो ।

बिन्जियाङ जिम्न्याजियममा भएको महिला सिंगल्सको प्रिक्वाटरफाइनलमा नेपालकी रशिला महर्जन चीनकी विन्जियो हेसँग २१–०, २१–४ को सेटमा पराजित भइन् । रशिलाले मंगलबार मंगोलियाकी म्यागमार्टसिन गान्बटारलाई २१–४ऽ, २१–७ को हराउँदै प्रिक्वाटरफाइनलमा स्थान बनाएकी थिइन् ।

मिक्स डबल्स र पुरुष डबल्समा पनि नेपाली खेलाडी पराजित भएका छन् । मिक्स डबल्समा चीनका सिवेइजेङ र याचिङ हुवाङको जोडीले नेपालका विष्णु कटुवाल र नङशल तामाङको जोडीलाई २१–४, २१–७ ले हराए । यस्तै पुरुष डबल्समा नेपालका जीवन आचार्य र विष्णु कटुवालको जोडी सिंगापुरका जि जु नेको जोडीसँग २१–१, २१–४ ले पराजित भए ।

भलिबलमा भारतसँग पराजित

१९औं एसियाड अन्तर्गत महिला भलिबलमा नेपाल भारतसँग पराजित भएको छ ।

समूह चरणबाट बाहिरिएका टिमहरु मध्ये नेपाल र भारत एक समूहमा थिए । त्यस खेलमा नेपाल भारतसँग ३-१ सेटले पराजित भएको हो ।

हान्जाउ नर्मल युनिभर्सिटी कान्क्विन जिम्न्यासियममा भएको खेलमा नेपालले सुरुदेखि नै भारत विरुद्ध उत्कृष्ट प्रदर्शन गरेपनि आफ्नै ग्लट्टी र निर्णायक क्षणमा चुक्दा पराजित भएको हो । भारतले नेपाललाई २५–२३, २६–२८, २५–२३, २५–१७ को सेटमा पराजित गरेको हो ।

पहिलो सेटमा नेपालले अग्रता बनाउँदै लगे पनि २३-२३ को बराबरीपछि भारतले लगातार दुई अंक जोड्दै सेट आफ्नो पक्षमा पार्‍यो । दोस्रो सेट नेपालले टाई ब्रेकमा २८-२६ ले जित्दै खेल बराबरी गरेको थियो ।

तेस्रो सेटमा नेपालले सुरुवातदेखि नै भारतमाथि अग्रता बनाउँदै गएको थियो । कुनै समयमा २०-१५ को अग्रता बनाएको नेपालले त्यसलाई कायम राख्न सकेन र भारतले २०-२० को बराबरी गर्दै सेट २५-२३ ले जित्दै २-१ को अग्रता बनायो ।

चौथो सेटमा पनि नेपालले भारतलाई टक्कर दिएको थियो तर भारतले २५-१७ ले सेट आफ्नो पक्षमा पार्द खेल जितेको हो ।

एसियाडमा महिला भलिबलमा १३ टोली सहभागि भएकोमा नेपाल समूहको दुवै खेलमा भियतनाम र दक्षिण कोरियासँग पराजित भएको थियो ।

शीर्ष आठ बाहेकका बाँकी स्थान छुट्याउनको लागि पनि खेल हुने हुँदा नेपाली महिला टोलीले अरु खेल खेल्ने अवसर पाएको हो ।

भारतसँग पराजित भएपछि नेपालले ९-१२औं स्थानको क्लासिफिकेसनका लागि अझै दुई खेल खेल्न पाउनेछ । नेपालले अर्को खेल हङकङसँग खेल्नेछ । हङकङलाई पराजित गरेमा नेपालले नवौँ स्थानको लागि अर्को खेल खेल्नेछ भने पराजित भएमा ११औं स्थानका लागि अन्तिम खेल खेल्नेछ ।

एथ्लेटिक्समा गोपीको व्यक्तिगत प्रदर्शन सुधार

१९औं एसियाड अन्तर्गत बुधबार नेपालका गोपीचन्द्र पार्कीले पुरुष ५ हजार मिटर दौडमा प्रतिस्पर्धा गरेका थिए । उनले १४ मिनेट २२.१५ सेकेण्डमा पूरा गर्दै व्यक्तिगत समयमा सुधार गरेका छन् ।

यसअघि उनको उत्कृष्ट समय १४.२९.०७ थियो । पुरुष ५ हजार मिटरमा नेपालको राष्ट्रिय कीर्तिमान राजेन्द्र भण्डारीको नाममा छ ।

राजेन्द्रले २००४ को एथेन्स ओलम्पिकमा १४ मिनेट ०४.८९ सेकेण्ड कीर्तिमान छ ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?