१८ असोज, मुगु । सुन्दा अचम्म लाग्ने एउटी आमा १६ पटक सुत्केरी हुनु चानचुने कुरा होइन । स्थानीय बाम गाउँकी ७० वर्षीया बदमकला बुढा सुत्केरी हुँदाको पीडा यसरी सुनाउँछिन्, ‘म १६ पटक सुत्केरी भएँ तर पाँच बच्चा मात्र बाँचे, यस्तै सुत्केरी हुन्या अस्पताल, डाक्टर भइदिएका भए मेरा सबै सन्तान बाँच्थे होलान् ।’
उनी भन्छिन्, ‘त्यो बेला हामीले राम्रोसँग खान र बस्न पाएनौँ हिँड्दाहिँड्दै र काम गर्दागर्दै कतिचोटी सुत्केरी भयौं, कति पीडा भोग्यौ भन्नर साध्य छैन ।’ जिल्ला सदरमुकाम गमगढीबाट नजिकै रहेका तर सदरमुकामकै दुर्गम गाउँ छायाँनाथ रारा नगरपालिका-१४स्थित बाम गाउँमा प्रसूति गृह बनेपछि बदमकला आफूले विगतमा आफूले भोगेकोजस्तो पीडा अबका सन्ततीले व्यहोर्नु नपर्ने भएकामा खुशी हुनुभयो ।
गुड नेवर्स इन्टरनेशल र कोरियाली सहयोग नियोग (कोइका) को आर्थिक तथा प्राविधिक सहयोग र किर्डाक नेपालको साझेदारीमा छायाँनाथ रारा नगरपालिका-११ रोवा र वडा नं १४ बाम गाउँमा प्रसूति गृह बनेपछि स्थानीयवासी खुसी भएका छन् ।
सोही गाउँका ६५ वर्षीय चन्द्रबहादुर बढुवाल पनि आफू छिटो जन्मेकामा पछुतो लागेको बताउँछन् । उनी भन्छन्, ‘घरमा श्रीमती सुत्केरी हुँदा धेरैपटक आफ्ना बालबच्चाको मृत्यु भएको र श्रीमती पनि झण्डै मरेर बाँचिन । रगत धेरै बग्यो बल्लबल्ल उनी बाँचिन । अहिले भएको भए सबै सुविधा पाइने रहेछ, त्यसैले आफूलाई पछुतो लागेको हो ।’
वडा नं ११ रोवा गाउँकी विनसरा बुढा भन्छिन्, ‘गाउँमा गर्भवती भए र प्रसव पीडा लागे महिला दिदीबहिनीहरु कष्ट सहेर पनि बाँच्दथे । अस्पताल जान टाढा भएकाले घरकाले पनि दुःख पाउने हुँदा जति पीडा भए पनि गाउँमै सुत्केरी हुने गर्दथे ।
रगत बगेर, बच्चा उल्टो बसेर र सालनाल खस्न नसकेर कति आमा तथा बच्चाको मृत्यु भयो यकिन छैन, गर्भवतीदेखि सुत्केरी हुँदासम्मका पीडा सम्झने हो भने महिला भएर कुनै पनि जुनीमा जन्मनु नपरोस्जस्तो लाथ्यो।’
रोवा प्रसूति गृहका जग्गादाता रामबहादुर बुढा आफ्नी श्रीमतीले सुत्केरी हुँदा साहै्र पीडा भोग्नुपरेको र गाउँमा सुत्केरी हुन नसकेर कैयौं आमा तथा बच्चाको मृत्यु भएकाले अब आफ्ना गाउँका महिलाले यस्तो पीडा भोग्नु नपरोस् भनेर नै सुरक्षित गर्भ जाँच तथा गाउँमै सुत्केरी गराउन सहज होस् भन्ने उद्देश्यले प्रसूति गृहका लागि निःशुल्क जग्गा उपलब्ध गराएको बताउँछन् ।
आमा तथा बालस्वास्थ्य कार्यक्रमकी जिल्लाप्रोजेक्ट म्यानेजर मिस लैला मुगुजस्तो विकट जिल्लामा शैक्षिक क्षेत्रमा काम गर्दैगर्दा सुविधा सम्पन्न अस्पताल नपाएर कैयौँ मुगालीले दुःख पाएको देखेर पहिलो चरणमा जिल्ला अस्पतालका लागि भौतिक संरचना बनाएर आवश्यक उपकरण सहयोगस्वरुप उपलब्ध गराइएको सुनाउँछिन्।
उनी भन्छिन्, ‘यहाँका विकट गाउँमा आफू घुम्दै गर्दा सालनाल नझरेर, बच्चा अड्किएर, उल्टो बसेर, रक्तस्राव भएर महिला तथा बच्चा कैयौँको अकालमा ज्यान गएको देख्दा मन कटक्कै काटिथ्यो । त्यो बेला सोच्दथे कि गाउँमै ठूलो चिकित्सकीय सेवा नभए पनि सामान्य जटिल अवस्थाको प्रसूति र गर्भजाँच सेवा दिनसक्ने प्रसूति गृह बनाउनसके मात्र पनि कैयौँ आमा र बच्चालाई बचाउन सकिन्थ्यो । यो विषयमा कोइका र गुडनेवर्ससँग किन कुरा नगर्ने भन्ने सोचेर कुरा गर्दा सहजै सहमति जुटेकाले आमा तथा बालस्वास्थ्य कार्यक्रम सुरु गर्न सकियो ।’
प्रसूति गृहमा सुत्केरी मात्र नभएर गर्भ अघिका जाँच गराउन र नवजात शिशुलाई नियमित खोप लगाउन सहज होस् र समयमै गुणस्तरीय प्रसूति सेवामार्फत् प्रसूति हुँदा आमा तथा बालबालिकाको मृत्युदर घटाउन सकियोस् भनेर आमा तथा बाल स्वाथ्य कार्यक्रमअन्तर्गत् नगरपालिका भित्रका बाम, रोवा र कोटिल्ला गाँउमा प्रसूति गृह बनाएर नगरपालिकालाई हस्तान्तरण गरिसकिएको र कोटिल्लामा भने निमार्णाधिन अवस्थामा रहेको गुड नेवर्स ईन्टरनेशलका परियोजना संयोजक खेमबहादुर रोकाया उल्लेख गर्छन्।
बनेका प्रसूति गृह, निमाणाधिन प्रसूति गृह र उपलब्ध गराइएका उपकरणहरू नेपाल सरकारको निर्देशिकाअनुसारको भएको पनि उनको भनाइ छ । तीनवटै प्रसूति गृह निमार्णमा रु एक करोड ९३ लाख र वथिङ्ग सेन्टर ईक्युपमेण्टका लागि रु २१ लाख खर्च भएको बताइएको छ ।
साझेदारी सस्था किडार्क नेपालका जिल्लास्थित कार्यक्रम संयोजक टेकबहादुर शाही कोईका र गुडनेवर्स ईन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोग र आफ्नो सस्थाको साझेदारीमा जिल्लामा आमा तथा बाल स्वास्थ्य कार्यक्रम संचालन भैरहेको र सोही कार्यक्रमको लक्ष्यअनुसार सुरक्षित प्रसूति सेवा र आमा तथा बालबालिको स्वास्थ्यमा सुधार, मातृ तथा शिशु मृत्युदर घटाउन विभिन्न कार्यक्रम संचालन हुँदै आइरहेको बताउँछन् ।
उनका अनुसार समुदायलाई आमा तथा बाल स्वास्थ्य र सुरक्षित प्रसूतिबारे बुझाउन देउडा खेलाउने, सडक नाटक गर्ने,विद्यालय शिक्षा तथा विभिन्न प्रतियोगिता गराउनेदेखि महिला स्वास्थ्य स्वयंसेविकालाई प्रयोग गरेर नियमित आमा तथा बच्चाको स्वास्थ्य जाँच, नियमित खोप, प्रसूति पूर्वका गर्भजाँच, पोष्टिक खानपान र स्याहारबारे बुझाउन घरघरमा भेटघाट गर्ने गदै आइएको र पढेलेखेकाहरुले सहजै बुझुन भनेर मर्यादित महिनावारी, गणस्तरीय प्रसूति तथा आमा र बालबालिको स्वास्थ्यबारे जानकारीमूलक ब्रोसर प्रकाशन गरी गाँउटोल र विद्यालयमा वितरण गरिँदै आइएको छ ।
सदरमुकामदेखि दूरदराजमा रहेका गाँउमा दातृ निकायले प्रसूति गृह मात्र बनाएका होइनन् आमा र बच्चा बचाउन भगवान् नै बनेका हुन् भन्छन्, वडा नं ११ का वडाध्यक्ष कुन्जुमा कुमाई। गाँउमा समयमै उपचार नपाएर आमा र बच्चाहरु अकाल मै मर्ने गरेकाले हामीले प्रसूति घर बनाउनका लागि कतिचोटी सरकारी तथा गैरसरकारी निकायलाई गुहार्यौं तर कहिल्यै सुनवाइ भएन, काईका नेपाल र गुडनेवर्स ईन्टरनेशनलले हाम्रो पीडा बुझ्यो र अहिले आमा तथा बालबालिका लाभान्वित हुन पाए भने प्रसूति गृह स्थापनाले गाँउलेहरुको समय र पैसा बचत हुँदा सबै लाभन्वित भएका उनको भनाइ छ ।
निमार्ण सम्पन्न भएका प्रसूति गृहहरु गुड नेवर्स ईन्टरनेशलले नगरपालिकालाई हस्तान्तरण गरेपछि नगरप्रमुख विष्णुकुमार भाम आफनो प्राथमिकतामा शिक्षा र स्वास्थ्य रहेको उल्लेख गर्दै दातृ निकाय तथा गैर सरकारी संघ सस्थाहरुलाई सुगममा भन्दा दुर्गम गाँउ बस्तीमा काम गर्न अनुमति दिने गरेको बताउँछन्।
प्रसूति गृहबाट गुणस्तरीय सेवा प्रदान गर्न आवश्यक स्वास्थ्यकर्मी,औषधि र प्रशासनिक खर्चका साथै घेरवारको व्यवस्था नगरपालिकाले गर्ने पनि उनको भनाइ छ ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4