+
+
इजरायल–प्यालेस्टाइन युद्ध :

हमास लडाकुको ‘असाधारण’ आक्रमण, गुप्तचरमाथि प्रश्न

हमास लडाकुहरूले बलियो पर्खाललाई बुलडोजरले भत्काइदिएका छन्, काँडेतार काटिदिएका छन् र समुद्री बाटोका साथै प्याराग्लाइडिङमार्फत् पनि इजरायलमा घुस्न सफल भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २१ गते ९:१९
इजरायली भूमिमा भएको आक्रमण ।

२१ असोज, काठमाडौं । इजरायली सेना र प्यालेस्टाइन विद्रोही समूह हमासबीच लडाइँ जारी छ ।

हमास लडाकुहरु इजरायली भूमिमा पसेर आक्रमण गर्दा एक सयभन्दा बढी इजरायली नागरिकको मृत्यु भइसकेको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् ।

यसैगरी इजरायलको जवाफी आक्रमणमा परी करिब २०० प्यालेस्टाइनीको मृत्यु र एक हजार बढी घाइते भएको विवरणहरु सार्वजनिक भएका छन् ।

यो लडाइँको चपेटमा इजरायलमा रहेका नेपालीहरु पनि परेका छन् । परराष्ट्र मन्त्रालयले शनिबार बेलुका दिएको जानकारीअनुसार हमासले गरेको आक्रमणमा परी ९ जना नेपाली घाइते छन् । उनीहरु बंकर मुनि छिरेर ज्यान जोगाइरहेका छन् र सरकारलाई छिटो उद्धार गरिदिन आग्रह गरेका छन् ।

इजरायलमा कृषि विषय अध्ययनसँगै काम गर्न नेपालीहरु पुग्ने गरेका छन् । इजरायलले कृषि क्षेत्रमा गरेका नयाँ–नयाँ प्रयोग र त्यसमा हासिल गरेको सफलतालाई विश्वमै उदाहरणीय मानिन्छ ।

हमास लडाकुको ‘असाधारण’ आक्रमण, गुप्तचरमाथि प्रश्न

शनिबार एक्कासी इजरायलको गाजापट्टीमा हजारौं रकेट आक्रमण भएका थिए । यसैगरी अत्याधुनिक हतियार र बख्तरबन्ध गाडीले सुसज्जित हमास लडाकुहरु कडा सुरक्षा घेरा तोड्दै इजरायलको भूमिमा छिर्न सफल भएका थिए । तर हमासले आक्रमण गर्दैछ भन्ने पूर्व संकेत इजरायलले किन पाउन सकेन र किन रोक्न सकेन भनेर प्रश्न उब्जिएको छ ।

इजरायलको घरेलु जाँच एजेन्सी शिनबेत र विदेशमा जासुसी गर्ने गुप्तचर एजेन्सी मोसाद क्रियाशील छन् । इजरायलको गुप्तचर एजेन्टलाई पश्चिम एसियामै उत्कृष्ट र संशाधनले भरिपूर्ण मानिन्छ । यस्तै इजरायली सेना विश्वमै शक्तिशालीमध्ये गनिन्छन् । तर उनीहरु यसपटक गम्भीर रूपमा चुकेका छन् ।

इजरायलको गुप्तचर एजेन्सीका एजेन्ट प्यालेस्टाइनी समूहका साथै लेबनान र सीरियामा पनि छ्याप्छ्याप्ती रहेको बताइन्छ । विगतमा गुप्तचरको सहयोगमा आतंकवादी नेताहरुको निकै नै सटिक तरिकाले हत्या गरेका घटनाहरु छन् । यी एजेन्टले कुनै टारगेटमा जीपीएस ट्र्याक लगाइदिने र त्यसलाई उपयक्त स्थानमा ड्रोनबाट निशाना बनाएर सिध्याइदिने गरेका छन् । धेरैपटक विष्फोटक मोबाइल फोनको समेत प्रयोग भएका छन् ।

हमास लडाकुहरू

इजरायलको स्थल सुरक्षा पनि मजबुत मानिन्छ । सीमा क्षेत्रमा बलियो काँडेतारसहितको पर्खाल, ती पर्खालमा सीसीटीभी क्यामरा र रोबोटबाट निगरानी, सेनाको लगातार गस्ती, ग्राउन्ड मोसन सेन्सर, हवाई निगरानी गरिएको हुन्छ । त्यसैले घुसपैठ गर्ने सम्भावना नरहेको बताइन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी इजरायल भ्रमणमा गएको बेला भारतीय मिडियाहरुले इजरायलको अभेद्य सीमा सुरक्षा भन्दै रिपोर्टिङ गरेका थिए ।

तर शनिबार प्यालेस्टाइन लडाकुहरुले ती सुरक्षा प्रबन्धलाई तोडिदिएका छन् । उनीहरुले पर्खालहरुलाई बुलडोजरले भत्काइदिएका छन्, काँडेतार काटिदिएका छन् र समुद्री बाटोका साथै प्याराग्लाइडिङमार्फत् पनि इजरायलमा घुस्न सफल भएका छन् । बीबीसीले लेखेको छ, ‘इजरायलको नाकैमुनि निकै नै तालमेलका साथ जटिल हमला भएको छ । हजारौं रकेट प्रहार भएका छन् । यसबाट लाग्छ कि हमास लडाकुले सैन्य कारबाहीमा असाधारण तरिका अपनाएको छ ।’

नौलो होइन युद्ध

इजरायली सेना र प्यालेस्टाइन लडाकु हमासबीचको द्वन्द्व नयाँ भने होइन । विगतमा उनीहरुबीच पटक–पटक भिषण लडाइँ भएका छन् । सन् २०२१ मा पनि इजरायल र हमासबीच लडाइँ भएको थियो । त्यतिबेला पनि सयौंको मृत्यु भएको थियो । उक्त लडाइँलाई सन् २०१४ यताकै सबैभन्दा गम्भीर किसिमको भनिएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले अहिले जारी लडाइँलाई दशकौंपछिको सबैभन्दा गम्भीर किसिमको भनेका छन् ।

सीमा क्षेत्रमा तैनाथ इजरायली सेना । फाइल फोटो

इजरायल–प्यालेस्टाइनको रिसिइबी र लडाइँ नौलो भने होइन । यहाँ विशेषगरी धार्मिक स्थलको विवादले लडाइँको रुप लिने गरेको छ ।

इसाई, यहुदी र मुसलमान तीनै धर्मका समुदायले जेरुसेलमलाई आफ्नो पवित्र स्थल मान्छन् । यो यहुदीको उत्पत्ति स्थल हो । उनीहरूका लागि यो स्थान राष्ट्रिय प्रतीकको एक भाग पनि हो । मक्का र मदिनापछि जेरुसेलम मुस्लिम धर्मावलम्बीहरूको सबैभन्दा पवित्र स्थल हो ।

पूर्वी जेरूसेलम, गाजा र वेस्ट ब्यांकमा बस्दै आएका प्यालेस्टिनी र इजरेलबीच पटक–पटक लडाइँ भइरहन्छ । गाजामा हमास नाम गरेको प्यालेस्टाइन लडाकु समूहले शासन गर्छ । इजरेल र इजिप्टले गाजामा हतियार नपुगोस् भनेर कडा रूपमा सीमा नियन्त्रण गर्छन् । यसबाट आफूहरु समस्यामा पर्ने गरेको प्यालेस्टाइनीहरु बताउँछन् ।

जेरुसेलमको पुरानो शहरको पर्खालभन्दा बाहिर प्यालेस्टाइनहरू बस्छन् । यहाँको जमीन र सम्पत्तिमा यहुदीहरूले आफ्नो दाबी गर्दै आएका छन् ।

यद्यपि विवाद जमीनको विषयमा मात्र होइन । पछिल्लो केही समययता उक्त क्षेत्रमा इजरायलको सरकारले यहुदीको संख्या बढाउने प्रयास गरिरहेको छ । इजरायलले पछिल्लो ५० वर्षयता ६ लाख भन्दा बढी यहुदीहरुको बस्ती बसाएको छ । त्यसैले तनाव पनि बढ्दो क्रममा देखिएको छ ।

जेरुसेलमको चारैतर्फ यहुदीको आवासीय क्षेत्र विकास गर्दै ठूलो संख्यामा घरहरू बनाइएको छ । यसो गर्दा इजरायलले अन्तर्राष्ट्रिय कानूनको पनि पालना नगरेको आरोप लाग्दै आएको छ । तर त्यसलाई इजरायलले खण्डन गर्दै आएको छ ।

शताब्दी पुरानो मुद्दा

बीबीसीका अनुसार प्रथम विश्व युद्धमा मध्यपूर्वमा शासन गरिरहेको ओटोमन साम्राज्य पराजित भएसँगै ब्रिटेनले प्यालेस्टाइन नाम गरेको क्षेत्र आफ्नो नियन्त्रणमा लिएको थियो । उक्त स्थानमा अल्पसंख्यक यहुदी र बहुसंख्यक अरबीहरू बसोबास गर्थे ।

यहुदीहरूका लागि प्यालेस्टाइनमा ‘न्याशनल होम’ स्थापना गर्नका लागि ब्रिटेनलाई अन्तर्राष्ट्रिय समुदायले भनेसँगै त्यहाँका समुदायबीच तनाव बढ्न थाल्यो । बीबीसीले लेखेको छ, ‘यहुदीहरूका लागि त्यो पुर्ख्यौली घर थियो । तर प्यालेस्टिनी अरबीहरूले पनि उक्त भूमिमा आफ्नो दाबी राखे र उक्त कदमको विरोध गरे ।’

‘सन् १९२० को दशकदेखि १९४० सम्म त्यहाँ आइपुग्ने यहुदीहरूको संख्या बढ्यो । दोस्रो विश्व युद्धपछि युरोपमा उत्पीडनबाट बच्नका लागि भागेका यहुदीहरू प्यालेस्टाइन पुगे र आफ्नो स्थानको खोजी गर्न थाले । त्यसपछि यहुदी र अरबीहरूबीच अनि ब्रिटिश शासनविरुद्ध हिंसा बढ्न थाल्यो ।’

सन् १९४७मा संयुक्त राष्ट्रसंघमा प्यालेस्टाइन भूमिलाई विभाजन गरी यहुदी र अरब राज्यको रूपमा स्थापित गर्ने र जेरूसेलमलाई अन्तर्राष्ट्रिय सहर बनाउने पक्षमा मतदान भयो । त्यो योजनालाई यहुदी नेताहरूले पनि स्वीकार गरेका थिए । तर अरब पक्षले भने त्यसलाई अस्वीकार गर्दै कार्यान्वयन गरेन ।

‘समस्या समाधान गर्न नसकेपछि ब्रिटिश शासकहरू सन् १९४८मा बाहिरिए । त्यसपछि यहुदी नेताहरूले इजरेल स्थापनाको घोषणा गरे । त्यसको कैयौ प्यालेस्टिनीहरूले विरोध गरे र पछि युद्ध पनि भयो’ बीबीसीले लेखेको छ ।

१९६७ को युद्धपछि इजरायलले इजिप्टको कब्जामा रहेको गाजा क्षेत्र, जेरुसेलम, जोर्डनको नियन्त्रणमा रहेको वेस्ट ब्यांक, सीरियाको गोलन हाइट्सको अधिकांश क्षेत्र, इजिप्टको सिनाइ प्रायद्वीप लगायत आफ्नो नियन्त्रणमा लियो ।

प्यालेस्टाइनीहरु भने पूर्वी जेरुसेलमको भूभाग आफ्नो भएको दाबी गर्दछन् र, त्यसलाई भविष्यमा आफ्नो राजधानी बनाउने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?