+
+

इटहरीमा स्टार होटलसहितको फिल्म स्टुडियो निर्माण

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २२ गते १६:२५

विराटनगर । सुनसरीको इटहरीमा स्टार होटलसहितको फिल्म स्टुडियो निर्माण भइरहेको छ । विराट मेडिकल कलेज र विराट नर्सिङ होमका सञ्चालक डा. ज्ञानेन्द्रमानसिंह कार्कीको लगानी रहेको विराट मल्टी स्टुडियोको निर्माण अन्तिम चरणमा पुगेको छ ।

इटहरी उपमहानगरपालिका-३ मा डेढ बिगाहा क्षेत्रफलमा स्टुडियो निर्माणको काम अन्तिम चरणमा पुगेको विराट मल्टी सिने स्टुडियोका प्रमुख कार्यकारी अधिकृत रमेश शाही ठकुरीले जानकारी दिए । यो स्टुडियो नेपालकै ठूलो र सुविधा सम्पन्न हुने उनको दाबी छ ।

ठकुरीका अनुसार अन्तर्राष्ट्रिय मापदण्डका दुई ठूला स्टुडियो निर्माण हुनेछन् । स्वीमिङ पुलसहितको थ्री स्टार होटल निर्माणको काम पनि अन्तिम चरणमा पुगेको उनले बताए । होटलमा २७ वटा सुविधासम्पन्न कोठा हुनेछ । ८० फिट लम्बाइ, ४० फिट चौडाइ र २४ फिट उचाइको भीएफएक्स स्टुडियो बनाइएको छ । यो स्टुडियोमा फिचर फिल्म, टेलिफिल्म, सर्ट मुभी, म्युजिक भिडियो र विज्ञापन छायांकन गर्न सकिनेछ । स्टुडियोको पोस्ट प्रोडक्सन विभागमा एडिटिङ, ग्राफिक्स, अडियो मिक्सर, एनिमेसिन पनि गर्नेछ ।

उनका अनुसार भीएफएक्स भन्दा ठूलो मल्टी स्टुडियो निर्माण गरिएको छ । १६० फिट लम्बाइ, ५० फिट चौडाइ र ४० फिट उचाइको स्टुडियो बनेको छ । भीएफएक्स र मल्टी स्टुडियो काठमाडौंको तुलनामा ठूलो भएको उनको दाबी छ । मल्टी स्टुडियो दुई हजार अटाउने क्षमताको छ । उनका अनुसार यी स्टुडियोमा ३२ वटा क्यामरा प्रयोग गर्न सक्ने सुविधा राखिएको छ ।

विराट मल्टी सिनेमामा सञ्चालनमा आउन लागेको स्टुडियो नेपाली तथा भारतीय फिल्म निर्माणका लागि प्रयोग गर्न दिने योजना रहेको ठकुरीले बताए ।

‘काठमाडौँ बाहिर सम्भावना भएका कारण हामीले यहाँ स्टुडियो निर्माण गरिरहेका छौं,’ उनले भने, ‘यहाँ नेपाली मात्रै होइन, हिन्दी र भोजपुरी सिनेमाको सुटिङका लागि आउनेछन् ।’ नेपालका केही रियालिटी शोको सुटिङ पनि इटहरी स्टुडियोमा गर्ने तयारी भइरहेको उनले बताए ।

‘यहाँबाट नेपालका मुख्य हिमाल नजिक पर्छ, पहाड पनि छेउमै छ, कोशी नदी पनि नजिकै छ,’ उनले भने, ‘यहाँ सम्भावना प्रशस्त छ ।’

दुईवटा अस्पताल  र  सेनिटरी प्याड उद्योग सञ्चालन गरिरहेका डा. ज्ञानेन्द्रमानसिंह कार्कीले काठमाडौंमा सानो ठाउँमा स्टुडियो चलेको देखेपछि इटहरीमा ठूलो स्टुडियो निर्माण गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?