+
+

सरकारले निजी क्षेत्रको मनोबल उठाउने काम गर्नुपर्छ : वर्षमान पुन

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २५ गते १७:२८

२५ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले मुलुकको आर्थिक अवस्था सुधारका लागि विशेष पहल गर्न सरकारलाई आग्रह गरेका छन् ।

बिहीबार प्रतिनिसभामा विशेष समयमा बोल्दै पुनले आर्थिक मन्दीको अवस्था अन्त्यका लागि विज्ञसहित सम्वद्ध क्षेत्रको सुझाव लिएर सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताएका हुन् ।

व्यवसायीहरुमा व्याप्त असुरक्षाका कारण बजारमा माग नहुँदा बैंकहरुमा रकम थुप्रिएर बसेको उनको भनाइ थियो । पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले सरकारले निजी क्षेत्रको मनोबल उठाउने गरी काम गर्नुपर्ने बताए ।

‘पछिल्लो समय आर्थिक मन्दीको अवस्था छ । मन्त्रिपरिषद र अर्थ मन्त्रालयले त्यसबारे बोल्नुपर्छ । बाह्य क्षेत्र राम्रै रहे पनि आन्तरिक रुपमा अर्थतन्त्र चलायमान हुन सकेको छैन’, पुनले भने, ‘सरकारले निजी क्षेत्रको मनोबल उठाउने काम गर्नुपर्छ । निजी क्षेत्रसहित सरोकारवाला सबैको सुभाव लिएर लगानीकर्तामा रहेको डर हटाउन सरकारले पहल गर्नुपर्छ ।’

उनले दशैं, तिहार र छठजस्ता प्रमुख चाडपर्व नजिकिए पनि विगतका वर्षहरुमा जस्तो आयात नहुनुको कारण खोज्न सरकारलाई आग्रह गरे । सेयर बजार र घरजग्गाको कारोबारमा सुस्तता आएको, साना लगानीकर्ता टाट पल्टिएको र ठूला लगानीकर्ता पनि समस्यामा परेको उनको भनाइ छ । नेता पुनले चाडपर्वमा कालोबजारी र अभाव रोक्न र सहज रुपमा उपभोग्य सामान पाउने अवस्था बनाउन सरकारको ध्यानाकर्षण गराए ।

उनले गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेका सीप र धन नेपालको विकासमा लगाउन केही नीतिहरुमा लचकता अपनाउन जरुरी रहेकोमा जोड दिए । हालै जारी भएको नागरिकता विधेयकले गैरआवासीय नागरिकताको व्यवस्था गरेको भए पनि व्यवहारिक जटिलता देखिएकाले त्यसमा सरकारको ध्यान पुग्नुपर्ने पुनले बताए ।

‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मान्यताअन्तर्गत राजनीतिकबाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकताको व्यवस्थाले संसारभर छरिएका नेपालीलाई नेपालका लगानीको वातावरण बनाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?