+
+
राष्ट्रिय ध्वजाबाहक :

संकटमा आस, व्यवस्थापन सुधारमा बेवास्ता

जस लिने बेला नेपाल वायु सेवा निगमलाई सम्झने र अरु बेला वास्ता नगर्ने प्रवृत्ति हाबी छ । जस लिने बेला तँछाडमछाड हुन्छ । बिग्रियो, भत्कियो भने पन्छिने प्रवृत्तिले यो संस्था सधैं समस्यामा परिरहेको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८० असोज २६ गते १९:५८

२६ असोज, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको वाइडबडी जहाज ए३३० ले शुक्रबार बिहान युद्धग्रस्त मुलुक इजरायलबाट २५४ जना नेपालीलाई उद्धार गरी काठमाडौं ल्यायो । नेपालको झण्डा बोकेर विदेशी भूमिमा नेपालको शान बढाउने मात्र होइन, विदेशमा जबजब संकट उत्पन्न हुन्छ, त्यसपछि हरेक नेपालीले आस गर्ने एक संस्था हो नेपाल एयरलाइन्स । विगतमा पनि नेपाल एयरलाइन्स र यस संस्थाका पाइलटले उद्धार मिसन र राज्यको उपस्थिति देखाउन कुनै कसर बाँकी राखेका छैनन् ।

असार २०७३ मा अफगानिस्तानको काबुलमा भएको आतंकवादी आक्रमणमा १२ जना नेपालीले ज्यान गुमाउनु परेको थियो । यो युद्धग्रस्त मुलुकमा पुगेर १२ नेपालीको शवसहित २४ जना कामदारलाई बोकेर निगमको जहाज काठमाडौं अवतरण गरेको थियो ।

चीनको वुहानमा कोरोना भाइरसबाट हजारौं मानिसको मृत्यु भइरहँदा सो शहरबाट नेपाली नागरिकलाई उद्धार गर्न सरकारमाथि तीब्र दबाब थियो । ३ फागुन २०७६ मा चीनबाट नेपाल एयरलाइन्सकै वाइडबडी जहाजले १८० नेपाली विद्यार्थीलाई नेपाल ल्यायो । नेपालमा क्यान्सर रोग लागेका नेपाली नागरिकलाई भारतमा उपचार जाने क्रममा समेत नेपाल एयरलाइन्सले टिकटमा सहुलियत दिने गर्छ ।

नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले राष्ट्रलाई समस्या परेको बेला विगतमा झैं सरकारको निर्देशन बमोजिम आपतविपतमा परेका नेपालीको उद्धारमा खटिने अवसर निगमले पाएको बताए । उनले यस्ता उद्धारका काममा सहभागी हुन र राज्यको सशक्त उपस्थिति देखाउन राष्ट्रिय ध्वजाबाहकको आवश्यकता र महत्व अझै टड्कारो देखिएको उनले बताए ।

युद्धग्रस्त मुलुक इजरायलबाट नेपाल एयरलाइन्सको जहाजमार्फत उद्धार गरिएका विद्यार्थीहरू ।

व्यवस्थापनमा बेवास्ता

अन्तर्राष्ट्रिय उडानमा मात्र ४ वटा जहाज रहेको निगमले अहिले एक दर्जन गन्तव्यमा उडान विस्तार गरेको छ । तर, निगमसँग पर्याप्त जहाज छैनन् । भएका जहाजलाई पनि चुस्त राख्न र नियमित उडानयोग्य राखिराख्न व्यवस्थापन असफल रहँदै आएको छ । कुनै बेला दक्षिण एसियाकै उत्कृष्ट वायुसेवा कम्पनी नेवानि अहिले भने ४८ अर्ब ऋण थाप्लोमा बोकेर अस्तित्वको लडाइँ लडिरहेको छ ।

निगम वर्तमान पूँजी अभाव, ऋण र जहाज अभावको चर्को दबाबमा छ,’ निगम सुधारका लागि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्री नेतृत्वमा गठन भएको समितिको प्रतिवेदनमा भनिएको छ, ‘नेपाल सरकारले पूँजी थप गरेर भए पनि निगमलाई आवश्यक मात्रामा जहाज थप्नु पर्छ ।’

त्यसो त वर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले समेत निगमलाई जहाज थप गर्ने योजना सार्वजनिक गरिरहेका छन् । तर, विगतका खरिद योजनामा भएका अनियमितताहरुका कारण निगमको जहाज खरिद गर्ने योजना सधैं आशंका र आलोचनाको शिकार बन्ने गरेको छ ।

भद्दा कर्मचारी संख्या, कमजोर प्रदर्शन

आन्तरिक उडानमा एक (उडानयोग्य मात्र) र अन्तर्राष्ट्रिय उडानमा चार वटा जहाज उडाइरहेको नेवानिभित्र अहिले १३ सय ४१ जना कर्मचारी कार्यरत छन् । जसमध्ये ८४० स्थायी र ज्यालादारीमा ५०१ जना कर्मचारी कार्यरत छन् ।

निगमले गरिरहेको ग्राउण्ड ह्यान्डिलिङ सेवाका कर्मचारी समेत यसमै जोडिन्छन् । निगमले आफूसँग भएको कर्मचारी संख्या भद्दा नभएको दाबी गर्दै आएको छ । तर, ती कर्मचारीको प्रदर्शन भने निगमको आर्थिक स्वास्थ्यमा देखिन सकेको छैन ।

सुधारमा उदासीन

निगम सुधारका लागि अहिलेसम्म दर्जनौं प्रतिवेदनहरु बनेका छन् । ती सबै प्रतिवेदनको जड व्यवस्थापन सुधारमा छ । वर्तमान मोडलको व्यवस्थापनबाट निगम उन्नति पथमा जाँदैन भन्ने निष्कर्षसहित व्यवस्थापन सुधारका लागि व्यवस्थापन साझेदारीसहितका विकल्प दिइएका छन् ।

तर, सरकारले त्यसको कार्यान्वयनमा ध्यान दिन सकेको छैन । हतारहतार प्रतिवेदन बनाउने र हरेक प्रतिवेदनमार्फत जहाज खरिदमा मात्र जोड दिने नेतृत्वको जोडबलका पछाडि निगमको सुधार भन्दा बढी तत्कालीन लाभ उठाउन खोजेको हो कि भन्ने आशंका बढ्ने निगम भित्रै आंशक गर्न थालिएको छ ।

नेपाल वायुसेवा निगमका पूर्वनिर्देशक तथा पूर्वसञ्चालक समिति सदस्य अच्युतराज पहाडी जस लिने बेला निगमलाई सम्झने र अरु बेला वास्ता नगर्ने प्रवृत्ति हाबी रहेको बताउँछन् । ‘जस लिने बेला तँछाडमछाड हुन्छ,’ उनले भने, ‘बिग्रियो, भत्कियो भने पन्छिने प्रवृत्तिले यो संस्था सधैं समस्यामै रह्यो ।’ यसका लागि निगम सुधारका लागि दिइएका सुझावहरु कार्यान्वयनमा दतारुकता दिनुपर्ने उनको भनाइ छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?