+
+
इजरायल–हमास युद्ध प्रभाव :

इजरायलमा श्रम स्वीकृति बन्द, खाडी मुलुकमा बाछिटाको डर

जारी हमास–इजरायल युद्धमा धेरै नेपाली गएका साउदी अरब, कतार, यूएईसहितका मुलुक प्रत्यक्ष–अप्रत्यक्ष रुपमा जोडिने भएकाले तत्काल युद्ध नरोकिए केही समयमै नकारात्मक असरहरु देखिन थाल्ने सम्भावना प्रबल छ ।

अच्युत पुरी अच्युत पुरी
२०८० असोज २८ गते १९:२४

२८ असोज, काठमाडौं । ९ दिन अगाडि हमासले आकस्मिक रुपमा इजरायलमाथि गरेको आक्रमणको प्रत्याक्रमणस्वरुप इजरायलको तर्फबाट भीषण बमबारी जारी छ । यसअघि हवाई हमलामा केन्द्रित इजरायल स्थल क्षेत्रबाटै हमलामा जुटेको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित भएको छ । बढ्दो जोखिमका बीच नेपाल सरकारले इजरायलमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने काम बन्द गरेको छ । यससँगै वैदेशिक रोजगारीका लागि नेपालीबीच आकर्षक एक गन्तव्य इजरायल तत्कालका लागि बन्द भएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालका अनुसार इजरायलका लागि श्रम स्वीकृति दिने काम अनिश्चितकालका लागि बन्द भएको छ । साथमा यसअघि नै श्रम स्वीकृति लिइसकेका र उडानको मिति निश्चित भइसकेकाको हकमा समेत यात्रा रोकिएको छ ।

यस्तै अध्यागमन विभागले ट्राभल एडभाइजरी जारी गर्दै विभिन्न प्रयोजनमा इजरायल प्रस्थान गर्ने तयारीमा रहेका सबै नेपाली नागरिकलाई इजरायल भ्रमणको योजना स्थगित गर्न आग्रह गरेको छ । जारी द्वज्द्वमा परी नेपाली नागरिकले समेत ज्यान गुमाउनु परेको भन्दै विभागले यस्तो एडभाइजरी जारी गरेको हो ।

वैदेशिक रोजगारीमा गएका नेपालीमध्ये ८८ प्रतिशत नेपाली मलेसिया र खाडी मुलुकमा रहेको अनुमान छ । यसमध्ये सबैभन्दा आकर्षक आम्दानी हुने मुलुक इजरायल हो । वैदेशिक रोजगारी व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार मध्यपूर्वी मुलुकमध्ये इजरायल जानेले सबैभन्दा राम्रो आम्दानी गरिरहेका छन् । यो युद्धका कारण तत्कालका लागि आकर्षक रोजगारीको गन्तव्य बन्द हुँदा वैदेशिक रोजगारीमा ठूलो असर पर्ने उनी बताउँछन् ।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा श्रम स्वीकृति लिएर १ हजार ८४ जना नेपाली इजरायल गएका थिए । जसमध्ये ७८५ जना महिला हुन् । विभागका महानिर्देशक दाहालका अनुसार अहिले इजरायलमा ५ हजार हाराहारी नेपाली वैदेशिक रोजगारीमा रहेको अनुमान छ । वैदेशिक रोजगारीमा जानेको तथ्यांक राख्ने तर, फर्किनेको तथ्यांक नराख्ने परिपाटीका कारण कुन मुलुकमा ठ्याक्कै कति नेपाली छन् भन्ने तथ्यांक भने नरहेको उनको भनाइ छ ।

धेरै नेपाली काम गर्ने मुलुकमा पर्न सक्छ युद्धको बाछिटाको प्रभाव

सरकारले इजरायलबाहेक अन्य मुलुकमा तत्काल जोखिमको आंकलन भने गरिसकेको छैन । तर, व्यवसायीहरु भने विगतको अनुभवबाट पनि युद्धग्रस्त क्षेत्रमा अर्थतन्त्र शिथिल हुने र त्यसले आसपासको क्षेत्र अप्रत्यक्ष रुपमा प्रभावित हुने जोखिम देख्छन् ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भण्डारीका अनुसार कोभिड–१९ को समयमा वैदेशिक रोजगारीमा कम मात्र प्रभाव परेको थियो । अर्थात गतिविधिहरु होल्ड भएका थिए । परिस्थिति केही सहज हुनासाथ एकसाथ अर्थतन्त्र चलायमान हुँदा पुनः रोजगारीको माग बढेको थियो । लगत्तै भएको रुस–युक्रेन युद्धले भने विश्व रोजगारीमै धक्का दिएको उनले बताए ।

‘युद्धले अर्थतन्त्रका अन्य आयामलाई बन्द गराई हतियार र जीवन बचावमा बढी बजेट केन्द्रित गराउँछ,’ उनी भन्छन्, ‘यसले विश्व रोजगारीमा नकारात्मक असर पर्न थाल्छ ।’

जारी हमास–इजरायल युद्धमा धेरै नेपाली गएका साउदी अरa, कतार, यूएईसहितका मुलुक प्रत्यक्ष–अप्रत्यक्ष रुपमा जोडिने भएकाले तत्काल युद्ध नरोकिए केही समयमै नकारात्मक असरहरु देखिन थाल्ने उनको भनाइ छ । युद्ध पछिको पुनः निर्माणमा कामदारको माग हुन सक्ने भएपनि त्यो अवस्था आउन भने समय लाग्ने उनले बताए ।

आर्थिक वर्ष २०७९/८० मा कीर्तिमानी संख्या ७ लाख ७१ हजार ३२७ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए । तर, चालु आर्थिक वर्ष सुरु भइसकेयता भने वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा भारी कमी देखिएको छ । विभागका अनुसार साउन र भदौमा गति आवको यसै अवधिको तुलनामा २५ प्रतिशतले विदेश जानेहरु घटेका छन् ।

वैदेशिक रोजगारीमा जानेहरुको संख्या घट्नुमा एकातर्फ धेरै युवा एकैपटक विदेशिएका कारण युवा नै कम भएको आधारमा हुन्छ भने अर्कोतर्फ माग घट्दा समेत विदेश जानेहरु कम हुन सक्ने व्यवसायीहरु बताउँछन् । यस वर्ष मलेसियाले विदेशी श्रमिकको कोटा कतौटी गरेको छ । यसको प्रभाव तथ्यांकमा स्पष्ट देखिन्छ । यस वर्ष साउनमा ५५ हजार र भदौमा ५० हजार नेपाली विदेशिएका छन् ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?