+
+

एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीको बिदाइ

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २८ गते २०:०९

२८ असोज, काठमाडौं । चीनको हान्झाउमा हुने चौथो एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई आइतबार एक कार्यक्रमबीच बिदाइ गरिएको छ ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव टंकलाल घिसिङले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको अडिटोरियम हलमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।

अक्टोबर २२ देखि २८ तारिखसम्म हुने पारा खेलकुदमा विभिन्न १० खेलमा १९ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान पनि पारा खेलकुदका लागि हान्झाउ जाँदै छिन् ।

तेक्वान्दोमा पारा ओलम्पियन पलेशा गोबद्र्धनले के– ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छिन् । पलेशा अध्ययनका साथै प्रशिक्षणका लागि चीनको सांघाईमा रहेको प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् ।

प्रशिक्षक लामाले टोकियो ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गरेको र अन्तर्राष्ट्रिय पदक ल्याइसकेको खेलाडी पलेशाबाट पदकको आशा गर्न सकिने बताए । पलेशाले नै उद्घाटन समारोहको मार्च पास्टमा नेपालको झण्डा बोक्ने टोलीका सेफ दि मिसन एवं नेपाल पारालिम्पिक कमिटीका कोषध्यक्ष ओमनाथ सिवाकोटीले जानकारी गराए । व्यवस्थापकमा रामचन्द्र श्रेष्ठ छन् ।

एथलेटिक्समा साङबु भोटेले १ सय मिटर दौड तथा सुरज भाटले ४ सय मिटर र १ हजार ५ सय मिटर दौडमा सहभागी हुने छन् । प्रशिक्षकमा सीता भण्डारी छिन् ।

ब्याडमिन्टनमा प्रकाश अधिकारी र हेम गुरुङले सिंगल्स÷डबल्स स्पर्धामा खेल्ने छन् । सुटिङको १० मिटर एयर राइफलमा हिमाल अर्यालले प्रतिस्पर्धा गर्ने छन् ।

आर्चरीमा शक्ति गौचन र फणिनारायण पौडेलले ७५ मिटर दूरी, पावर लिफ्टिङमा दुर्गामान तामाङले ७३ केजी र पवन घर्ती मगरले ७० केजी तथा पौडीको ५० मिटर फ्रिस्टायलमा भीमबहादुर कुमाल, रमेश खत्री र जेनिशा कडायतले खेल्ने छन् । पावर लिफ्टििङको प्रशिक्षकमा सञ्जय महर्जन तथा पौडीको प्रशिक्षकमा विजेनमान श्रेष्ठ छन् ।

साइक्लिङमा रञ्जना धामीले ३ हजार र ५ हजार मिटर दूरी तथा जुडोमा मनोज भट्टले ७३ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । जुडोको प्रशिक्षकमा मोहन सुनुवार रहेका छन् । टेबलटेनिसमा डिगमसिं चेम्जोङ, केशव थापा, लाली तामाङ र विवेक राईले चुनौती पेश गर्ने छन् ।

अफिसियलमा गणेश कक्षपति, प्रदीप थापा, नारायणराज अर्याल, टेकबहादुर गुरुङ, सरोज श्रेष्ठ, विश्वास बस्नेत, अभिषेक पाण्डे र तारा मोक्तान छन् । सेफ दि मिसन सिवाकोटीसहितको २० सदस्यीय टोली सोमबार हान्झाउ प्रस्थान गर्दै छ । बाँकी टोली दुई चरण (अक्टोबर १७ र २० तारिख) मा हान्झाउ जाने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?