+

यसकारण हानिकारक हुन्छ दालमोठ र भुजिया

२०८० असोज  २९ गते १२:५० २०८० असोज २९ गते १२:५०
यसकारण हानिकारक हुन्छ दालमोठ र भुजिया

दालमोठ र भुजियालाई प्राय: घरमा स्न्याक्सको रुपमा प्रयोग गरिएको देखिन्छ । चाडपर्व, भेला, जमघटमा दालमोठ र भुजिया हुने नै गर्छ । यसलाई बच्चादेखि वृद्धसम्मले रुचाएको पाइन्छ ।

चियासँग होस् वा कोल्ड ड्रिंकसँग वा मदिरासँग नै किन नहोस्, दालमोठ र भुजियालाई स्न्याक्सको रुपमा लिइएकै हुन्छ । पकाइरहन नपर्ने, मीठो पनि त्यसैले हत्तपत्त खानको लागि यो सजिलो पनि हुन्छ ।

तर यति धेरै यसको उपभोग भए पनि स्वास्थ्यमा भने कस्तो असर पार्छ भन्ने कुरामा भने आम मानिसले हेक्का राखेको पाइँदैन । दालमोठ र भुजियाले शरीरलाई हानि मात्र गर्छ, फाइदा केही पनि गर्दैन । किनकि यसमा शरीरलाई चाहिने कुनै पनि प्रकारको पोषक तत्व हुँदैन । यसमा  शरीरलाई हानि पुर्‍याउने तत्व ट्रान्स फ्याट, हाइ क्यालोरी, सोडियम अत्यधिक मात्रामा हुन्छ ।

यसमा हुने ट्रान्स फ्याट अर्थात् सरल भाषामा नराम्रो चिल्लो पदार्थ हो । यसले धमनीहरुको भित्री भागमा नकारात्मक असर पारी धमनीहरु साँघुरो बनाउने गर्छ । यसले गर्दा रक्तसञ्चारमा अवरोध ल्याउने र रगत जम्ने सम्भावनालाई बढाउँछ, जसले गर्दा हृदयघात र मस्तिष्कघात हुने सम्भावना धेरै हुन्छ ।

यसले रगतमा खराब कोलेस्टेरोलको मात्रालाई बढाउँछ । जसले गर्दा युवावस्थामै मधुमेह, उच्च रक्तचाप, मोटोपन, महिलामा स्तन क्यान्सरको जोखिम बढाउँछ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्षमा करिब पाँच लाख ४० हजारको मृत्यु ट्रान्स फ्याटकै कारणले हो भनेर प्रमाणित भएको छ ।

अर्को यसमा उच्च क्यालोरी हुन्छ । जसले थोरै खाए पनि ऊर्जा बढी दिन्छ । तर शरीरमा चाहिने प्रोटिन भने हुँदैन । यसले गर्दा उच्च क्यालोरी भएको खानेकुरा बढी सेवन गर्दा प्रोटिनको कमीले मोटोपन बढ्ने तर कुपोषण हुने जोखिम हुन्छ । त्यस्तै दालमोठ वा भुजियामा सोडियमको मात्रा अत्यधिक मात्र हुन्छ । यसले मस्तिष्क, धमनी र मुटुमा असर गर्छ ।

दालमोड र भुजिया धेरै खाँदा घुँडा र हातखुट्टा सुन्निने, मिर्गौलामा पत्थरीको जोखिम, उच्च रक्तचाप, मुटुमा समस्या, पेटमा अल्सर, धमनीमा क्षतिलगायत गम्भीर समस्या समेत हुन सक्छ । यसबाट बुढेसकालमा स्मरण शक्तिमा ह्रास आउने समेत हुन सक्छ । विभिन्न अंगमा पानी जम्ने समस्या पनि हुन सक्छ । बढी नुन भएको खाना सेवन गर्नाले शरीरमा आवश्यकताभन्दा बढी पानीको मात्रा कायम गर्छ । जसले गर्दा स्वास्थ्यमा विभिन्न समस्या देखापर्ने गर्छ । यसबाहेक पेट दुखाइ, पेट फुल्ने, ग्यास्ट्रिक, पखाला र कब्जियतलगायत समस्या हुन्छ ।

उच्च रक्तचाप, कब्जियत, अल्सर वा कुनै पेटसम्बन्धी समस्या भएमा, शल्यक्रिया गरेको वा कुनै जटिल रोग भएमा खानु हुँदैन । यदि इरिटेबल बोवेल सिन्ड्रोम अर्थात् एकैछिनमा कब्जियत र पखाला हुने समस्या भएकाले पनि यी कुरा नखाएकै राम्रो हुन्छ । किनकि यसले रोगलाई अझ जटिल बनाउन सक्छ ।

दालमोठ र भुजिया खानै पर्ने भएमा अन्य पोषण र फाइबरयुक्त खानेकुरासँग थोरै मिसाएर खानु राम्रो हुन्छ ।

दालमोठ भुजिया स्वास्थ्य
अनुश्री आचार्य
लेखक
अनुश्री आचार्य
पोषणविद्

अध्ययन : एमएससी (पोषण र आहारशास्त्र), साइबरजया विश्वविद्यालयमा चिकित्सा विज्ञानमा पीएचडी स्कलर, अष्ट्रेलियाबाट आहारसम्बन्धी ६ महिनाको तालिम । हाल काठमाडौंको नयाँ बानेश्वरस्थित भेनस अस्पतालमा आहारविद्को रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय