+
+

रक्षामन्त्रीको स्पष्टोक्ति- यमबहादुर अधिकारी सेनापति बन्ने सम्भावना छैन

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २९ गते १२:४८

२९ असोज, काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले यमबहादुर अधिकारीलाई प्रधानसेनापति बनाउने कुनै सम्भावना नरहेको बताएका छन् ।

माओवादी लडाकु समायोजनबाट सेनामा आएका अधिकारी अतिरिक्त सहायक रथी छन् । २०७६ मा अतिरिक्त सहायक रथी बनेका उनको चार वर्ष कार्यकाल सकिएपछि हालै मात्र सरकारले ३ वर्ष थप्ने निर्णय गरेको थियो ।

यससँगै अधिकारीलाई प्रधानसेनापति बनाउन खोजेको त होइन भन्ने प्रश्न उठेको छ । सेनाका पूर्व अधिकृतहरुले समेत वक्तव्य निकालेर विरोध जनाएका थिए ।

रक्षामन्त्री खड्काले भने अतिरिक्त सहायक रथीको पद पदावधि ७ वर्ष हुने उमेर अवधिले भ्याउँदा एक पटकलाई तीन वर्ष पदावधि थप्ने सैनिक ऐनमै रहेको बताए । सेनाको बोर्डले सम्वन्धित अधिकृतको मूल्यांकन गरेर बढुवाका लागि सिफारिस गर्ने र त्यो प्रधानसेनामार्फत रक्षा मन्त्रालयमा आएपछि मन्त्रिपरिषदले निर्णय गर्ने प्रक्रिया छ ।

त्यसअनुसार नै अधिकारीको पदावधि थप भएको भन्दै रक्षामन्त्री खड्काले सोमबार एक कार्यक्रममा भने, ‘सेनाको नियमावलीमा चलाएर अधिकारीलाई प्रधानसेनापति बनाइँदैछ भने सबै मित्थ्या कुरा हुन् ।’

सेनापति हुन निश्चित तालिमहरु प्राप्त गरेको हुनुपर्ने लगायतका निश्चित मापदण्ड रहेको भन्दै उनले अघि भने, ‘त्यसभन्दा दायाँ–वायाँ सरकार जाने, रक्षा मन्त्रालय जाने, म जाने कल्पना गर्न सकिँदैन । त्यसैले यमबहादुर अधिकारी प्रधानसेनापति बन्ने सम्भावनाको सबै कुरा गलत हो ।’

अधिकारी हाल वन तथा पर्यावरण सुरक्षा निर्देशनालयको निर्देशक पदमा कार्यरत छन् । अधिकारीको पदावधि थप्ने सरकारको निर्णय विवादित बनेपछि नेपाली सेनाले उनलाई जिम्मेवारीविहीन बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?