+
+

रोहितको ‘फ्रस्ट्रेसन’ हटाउने इनिङ्स

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० कात्तिक १ गते २१:०४

१ कात्तिक, काठमाडौं । बुधबार युएईविरुद्धको त्रिकोणात्मक सिरिजमा १९औं ओभरको चौथो बलमा दीपेन्द्र सिंह ऐरीले एक रन लिँदै स्कोर टाइ भएपछि कप्तान रोहित पौडेल स्ट्राइकमा पुगे ।

रोहितको खातामा ४७ रन थियो । नेपाललाई जितका लागि १ रन चाहिएको थियो भने रोहितलाई अर्धशतक पूरा गर्न ३ रन आवश्यक थियो ।

एक रन मात्र जोड्दा पनि नेपालले खेल जित्ने थियो । समर्थकहरु रोहितले अर्धशतक हानोस् भनेर कराइरहेका थिए । भयो पनि त्यस्तै । कप्तान रोहितले १९औं ओभरको पाँचौ बलमा मुहम्मद जवादुलल्हलाई चौका प्रहार गर्दै नेपालको जित सुनिश्चित गरे । साथै उनले आफ्नो अर्धशतक पनि पूरा गरे । टी-२०आईमा रोहितको यो चौथो अर्धशतक हो ।

२०२२ अप्रिलमा कीर्तिपुरमा मलेसियाविरुद्ध पहिलो टी-२० आईमा  अर्धशतक प्रहार गरेका रोहितले असोजमा चीनको हान्झाउमा भएको १९ औं एसियन गेम्समा मंगोलिया र माल्दिभ्स विरुद्ध पनि अर्धशतक बनाएका थिए ।

बुधबार पनि रोहितले दीपेन्द्रसिंह ऐरीसँग मिलेर उत्कृष्ट ब्याटिङ गरेका थिए । यो जोडीले चौथो विकेटका लागि नटआउट ९३ रनको साझेदारी गरेपछि नेपालले युएईलाई ७ विकेटले पराजित गर्दै टी-२० त्रिकोणात्मक सिरिजमा विजयी सुरुवात गरेको छ ।

क्रिकेट विश्वकप लिग टु मा उत्कृष्ट प्रदर्शन गरेका रोहितले पछिल्लो समय महत्वपूर्ण खेलहरुमा स्कोर गर्न सकिरहेका थिएनन् । युएई विरुद्धको यो इनिङ्सले भने केही राहत अनुभव भएको उनले बताए ।

‘एकदम खुशी लागिराछ नागपुरमा जुन हिसाबले मिहिनेत गरेको थियौँ त्यो नतिजा आइराछ’, युएईलाई हराएपछि रोहितले पत्रकारहरुसँग भने ।

चीनमा एसियाड खेलेर फर्केलगत्तै नेपाली टोली नागपुरस्थित राजस्थान रोयल्सको एकेडेमीमा हाई परफरमेन्स क्यापका लागि गएको थियो । दुई दिनअघि मात्र स्वदेश फर्किएको नेपालले बुधबारदेखि सुरु भएको टी-२० सिरिजको पहिलो खेलमै युएईलाई हराएको हो ।

‘पछिल्लो दुई-तीन महिना आफ्नै टेक्निकहरुमा वर्क गरिराखेको थिएँ, तर गर्दागर्दै पनि कुनै कुनै बेला फ्रस्टेसन भइराथ्यो किन त्यसले काम गरिराको छैन भनेर । नागपुरमा त्यही कुरामा काम गरेका थियौँ । आज त्यसको नतिजा आएको छ’, रोहितले भने ।

हुनत रोहितले टी-२० फर्म्याटमै एसियाडमा दुई अर्धशतक प्रहार गरेका थिए । तर त्यो टी-२० मा डेब्यु गरेको मंगोलिया, माल्दिभ्स जस्ता तुलनात्मक रुपमा कमजोर टोली विरुद्ध थियो।

त्यसैले युएई विरुद्धको अर्धशतकले भने कप्तान रोहितलाई पनि केही राहत महसुस भएको छ ।

एसियाडअघि नेपालले लगातार वान डे फर्म्याटको क्रिकेट खेलेको थियो । त्यसमा पनि एसिया कपमा डेब्यु गर्दै नेपालले भारत र पाकिस्तान जस्ता क्रिकेट हस्ती टिमसँग खेलेको थियो । तर रोहितको प्रदर्शन भने त्यहाँ खराब रह्यो । पाकिस्तानविरुद्ध शून्यमा आउट भएका उनी भारतविरुद्ध पनि ५ रन बनाएर आउट भएका थिए ।

यस्तै एसियाडमा पनि भारत विरुद्ध नै क्वार्टरफाइनल खेलमा रोहितको ब्याट चलेन । उनी ३ रनमै आउट भएका थिए । महत्वपूर्ण खेलमा रोहितको ब्याट नचल्दा समर्थकहरु पनि निराश थिए ।

तर मूलपानीमा भने रोहितले युएई विरुद्ध सम्हालिएर राम्रो ब्याटिङ कला देखाए । सातौं ओभरको अन्तिम बलमा कुशल मल्ल आउट भएपछि रोहित क्रिजमा पुगेका थिए जतिबेला नेपालको स्कोर ४५-२ थियो । नवौँ ओभरमा आसिफ शेख आउट हुँदा नेपाल ५१-३ को स्थितिमा पुग्यो । त्यसपछि रोहितले दीपेन्द्र सिंह ऐरीसँग मिलेर इनिङ्स अघि बढाए र यही जोडीले नेपाललाई खेल जितायो ।

त्यसअघि करण केसीले ३ र गुल्सन झाले २ विकेट लिएपछि नेपालले युएईलाई १४० रनमै रोकेको थियो । युएईका लागि बसिल हमिदले ५१ रन बनाए पनि अन्य खेलाडीले राम्रो स्कोर गर्न सकेनन् ।

मूलपानी मैदानमा पहिलो पटक टी-२० क्रिकेट हुँदा दुवै टोलीको लागि यो नयाँ थियो ।

अर्को वर्ष हुने आईसीसी टी-२० विश्वकपको एसिया छनोटको तयारीको रुपमा रहेको यस सिरिजमा युएईविरुद्ध पहिलो खेल जित्दै नेपालले सुखद सुरुवात गर्दा यो खेल धेरै अर्थमा नेपालका लागि महत्वपूर्ण रह्यो र पछिसम्म पनि सम्झन लायक बन्नेछ ।

समग्रमा नेपालले राम्रो प्रदर्शन गरेको रोहितले बताए । ‘समग्रमा राम्रो रह्यो । विकेट नयाँ थियो आइडिया थिएन तर पहिलो इनिङ्समा राम्रो बलिङ गर्‍यौं । ब्याटिङमा अझै राम्रो गर्न सकिन्थ्यो, रोहितले भने, ‘मूलपानीमा सोचे भन्दा बढी दर्शक आउनुभयो । एकदमै खुशी लागिरहेको छ ।’

यही खेलबाट मूलपानी क्रिकेट मैदानले टी-२० अन्तर्राष्ट्रिय डेब्यु गरेको छ । यस्तै लेग स्पlनर श्याम (मौसम) ढकाले नेपालका लागि डेब्यु गरे । मुख्य स्पिनर सन्दीप लामिछानेले टी-२० सिरिजका लागि नमम फिर्ता लिनु र अर्का स्पिनर ललित राजवंशी पनि चोटका कारण भर्खर टिममा फर्कनुले श्यामले आज मौका पाए । डेब्यु खेलमा उनले २ ओभर बलिङ गर्दै १४ रन खर्चिए । लामो समयदेखि नेपाली टिमको साथमा रहेपनि उनले डेब्युका लागि कुर्नुपरेको थियो ।

नागपुर भ्रमणमा श्यामले राम्रो बलिङ गरेकाले अब नेपालका लागि खेल्न सक्षम भएको कप्तान रोहितले बताए । ‘नागपुरमा उसले जुन हिसवाले बलिङ गर्‍यो यो लेभलमा डिजर्भ गर्छ जस्तो लाग्छ । आज एउटा छक्का खाएपछि पनि राम्रो बलिङ गर्‍यो । उसको अट्टिच्युड राम्रो थियो ।’

यस्तै पुनरागमन गरेका ललितलाई पहिलो खेलमा रेस्ट दिइएको र आगामी खेलमा खेल्न सक्ने सम्भावना रहेको रोहितले बताए ।

यस्तै कप्तान रोहित पौडेलले पनि उत्कृष्ट इनिङ्स खेले । रोहित र दीपेन्द्र मिलेर टी-२० आईमा चौथो विकेटका लागि नेपालको तर्फबाट कीर्तिमानी साझेदारी गरे ।

चौथो विकेटका लागि टी-२० मा नेपालका लागि यो सर्वाधिक साझेदारी हो । यसअघि सन् २०१४ को टी-२० विश्वकपमा शरद भेषावकर र पारस खड्काले ८५ रनको साझेदारी गरेका थिए ।

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?