+
+

चितवनको पोल्ट्री क्षेत्र तहसनहस बन्दै

व्यवसायी भन्छन् 'राज्यको गलत नीतिले डुबायो'

सुवास पण्डित सुवास पण्डित
२०८० कात्तिक ४ गते २०:०७

२ कात्तिक, चितवन । देशमा पोल्ट्रीजन्य उत्पादनको कुनै बेला ६० प्रतिशत माग धान्ने चितवनको पोल्ट्री क्षेत्र तहसनहस हुने अवस्थामा पुगेको छ । व्यवसायीहरुका अनुसार ६० प्रतिशतसम्म योगदान दिएको यो क्षेत्र अहिले खुम्चिएर २० प्रतिशतमा झरेको छ ।

विदेशबाट फर्किएका युवा र स्वदेशमै बसेर व्यवसायी बन्न चाहने युवाहरुको पहिलो रोजाइको क्षेत्र हुन्थ्यो, पोल्ट्री । सानो लगानीमा पनि सिजनमा राम्रो आम्दानी गर्ने भएकाले यसतर्फ युवाहरूको आकर्षण पनि राम्रो थियो । गाउँ-गाउँसम्म पनि कुखुरा पाल्ने चलन निकै फस्टाएको थियो । चितवन घुम्दा धेरैजसो सबैजसो घरहरुमा देखिने कुखुरा पाल्ने खोरहरू हिजोआज खासै देखिँदैनन् । भएका खोरहरु पनि कुखुराविनाका खाली देखिन्छन् ।

चितवनमा ठूला व्यावसायले पोल्ट्रीजन्य पदार्थहरूको उत्पादन गर्थे । साना तथा मध्यम व्यावसायीहरुले कुखुरा पाल्थे । अहिले साना व्यवसायीहरु सबैजसो पलायन भैसकेका छन् । मध्यम व्यावसायी र ठूला व्यावसायी पनि कठिन अवस्थाबाट गुजि्ररहेका छन् । नेपाल पोल्ट्री व्यावसायी महासंघका अनुसार ५-१० हजार कुखुरा पाल्ने ६० प्रतिशत व्यावसायीहरूले व्यवसाय बन्द गरिसकेका छन् ।

व्यावसायीहरु भन्छन्- यस्तै अवस्था रहीरहे चितवनको पोल्ट्री क्षेत्रको सान सौकत इतिहासमा सीमित हुनेछ । जसरी चितवनबाट पायडल रिक्सा, साइकल र गाडा हराए, त्यसरी नै पोल्ट्री क्षेत्रको सान हराउँदै गएको महसुस व्यवसायीलाई हुन थालेको छ ।

चितवनलाई मात्रै नभई देशलाई नै कुखुराको मासु र अण्डामा आत्मनिर्भरको बाटो देखाएका यहाँका व्यावसायी कोरोना कहर र त्यसपछिको सरकारी गलत नीतिको शिकार भएको गुनासो पोख्छन् ।

नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले व्यावसाय बचाउन बैंकसँग ऋण माग्दासमेत नपाइएको गुनासो गर्छन् । उनका अनुसार बैंकबाट ऋण लिएर व्यवसाय गर्नेहरु व्याज पनि तिर्न नसक्ने अवस्थामा छन् । ‘हामी त पोल्ट्रीलाई देशमा आत्मनिर्भर बनाएर कम्तीमा पनि पोल्ट्रीजन्य उत्पादन अरु देशको नखाएर देशकै खान पाउने बनाउँदै थियौं, तर सरकारले दुःखमा साथ दिएन,’ महासंघका अध्यक्ष विष्ट भन्छन्, ‘कच्चा पदार्थ र औषधि बाहेक अन्य कुरा त हामीले देश भित्र नै उत्पादन गरिरहेका थियौं । नयाँ प्रविधिहरू पनि भिर्‍याएकै थियौं, विविधिकरण गर्दै थियौं तर अहिले हालत निकै खराब भएर गयो ।’

भरतपुर क्षेत्रमा तीव्र रुपमा बढेको सहरीकरण, भारतीय मासु तथा चल्लाहरू निर्वाध रुपमा भित्रिने, दानाको कच्चा पदार्थमा मूल्यवृद्धि, बैंकहरूले बढाएको ब्याजदर र लागत अनुसारको मूल्य पाउन नसक्दा व्यावसायी धरासयी बनेका हुन् ।

पोल्ट्री विज्ञ डा.तिलचन्द्र भट्टराईका अनुसार कोरोनाकालमा पोल्ट्रीजन्य उत्पादन नसक्दा परेको घाटालाई राज्यले उचित नीति मार्फत व्यावसायीलाई जोगाउन नसक्दा अहिलेको अवस्था आएको हो । ‘त्यतिबेला त सबै क्षेत्र ठप्प थियो, पोल्ट्री झनै बढी सम्वेदनशील क्षेत्र थियो, बैंक र व्यवसायीहरुको एउटा जुन साइकल थियो त्यो बिगि्रयो,’ डा. भट्टराई भन्छन्, ‘बैंकहरुले लिँदै आएको ब्याजदरमा उत्पादन नहुँदा छुट दिएर राहत दिनु त कता हो कता, ८ प्रतिशत लिँदै आएको ब्याजदर बढाएर १४ प्रतिशत पुर्याए, सरकारले बीचमा बसेर नीति बनाइदिएन, अनि व्यवसाय ढल्न बाध्य भयो ।’

बेला-बेलामा आउने बर्डफ्लू, कुखुरामा भित्रिएको रोग र कुखुरामा खुवाइने एन्टिबायोटिकमा समेत ‘रेसिष्टेन्ट’ बढ्दा कुखुरा मर्ने क्रमसमेत बढ्न थालेको छ ।

पोल्ट्री व्यावसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछाने पाँच लाख व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएको व्यावसाय धान्न मुस्किल भएको बताए । व्यावसाय बन्द हुँदा सयौंले रोजगारी गुमाएका छन् । मञ्चका अध्यक्ष लामिछानेले भारतबाट अवैध रूपमा भित्रिने चल्ला, मासु तथा कच्चा पदार्थको चर्को भन्सार महसुलले गर्दा उत्पादनमा असर गरेको बताए । उनले राज्यले स्वदेशी उद्योगी र उत्पादन बढाउन भन्सारबाट हुने अवैध गतिविधिमा रोक लगाउनुपर्ने बताए ।

लेयर्स चल्ला मात्रै उत्पादन गर्ने देशभरीका १४ वटा ह्याचरीहरुमध्ये ६ वटा मात्रै सञ्चालनमा छन् । ३४८ वटा ब्रोइलर चल्ला उत्पादन गर्ने ह्याचरी रहेकोमा अहिले १२० वटा मात्रै ह्याचरी छन्

नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले अण्डाको उत्पादन लागत अनुसारको रकम व्यावसायीले नपाउँदा निरन्तर घाटामा जानुपरेकाले यसको समस्या समाधानका लागि सरकारले ठोस नीति ल्याउनुपर्ने बताए ।

लागत बढी, मूल्य कम, प्रमुख समस्या खुला सिमाना

वि.सं. २०७३ मा प्रतिक्रेट अण्डाको मूल्य ४१० रुपैयाँसम्म पुगेको थियो । त्यसबेला प्रतिअण्डा उत्पादनको लागत ११ रुपैयाँ ५० पैसा थियो । तर, अहिले यो लागत बढेर प्रति अण्डाको १४ रुपैयाँ ३३ पैसा पुग्दा प्रतिक्रेट अण्डाको मूल्य ३३० रूपैयाँ ५० पैसा छ । अहिले अण्डा प्रतिक्रेटको मूल्य २०७३ सालको भन्दा कम छ ।

कुखुरालाई खुवाउने कच्चा पदार्थको मूल्य, औषधि र भ्याक्सिनको मूल्य दोब्बरभन्दा बढी बढेको छ । करिब ७० प्रतिशत कच्चा पदार्थ भारत लगायतका देशबाट ल्याउने गरिन्छ । सरकारले ९ प्रतिशत भन्सार लिन्छ । औषधिमा १० प्रतिशतसम्म भन्सार लिइन्छ । भारतबाट आउने सामानमा लिइने भन्सारले यसै पनि लागत बढ्ने र भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न समस्या हुने गरेको छ ।

भारतसँगको खुला सिमाना कारणले कुखुरा, अण्डा र चल्लाहरु नेपाल भित्राउन सजिलो हुँदा स्वदेशी पोल्ट्री लगानीकर्ताहरु मारमा छन् । चार वर्ष अघिसम्म दानाको मूल्य प्रतिकिलो ३० देखि ३५ रुपैयाँसम्म पर्नेमा अहिले बढेर ७० देखि ८० रुपैयाँसम्म पर्ने गरेको छ । तर, उत्पादन लागत बढेअनुसारको पोल्ट्रीजन्य उत्पादनको मूल्य पनि दिनदिनै घट्दै गएको छ ।

घट्यो पोल्ट्रीजन्य उत्पादन

महासंघका अध्यक्ष विष्टका अनुसार पोल्ट्रीमा अहिले करिब एक तिहाइ व्यवसायमात्रै चलेका छन् तीमध्ये अधिकांशले आफ्नो क्षमताभन्दा कम उत्पादन गरेका छन् । कोरोना कहर र बैंकको ब्याजदरको मार झेलेका व्यवसायीहरुलाई अहिले गहिरिँदै गएको आर्थिक संकटले समेत असर गर्न थालेको छ । कुखुराजन्य उत्पादनको माग घटेसँगै उत्पादन घटाउनुपरेको व्यवसायीहरूको भनाइ छ ।

२०७३ साल ताका नेपालभर दैनिक ७० लाख अण्डा उत्पादन हुने गरेकोमा त्यसको ७५ देखि ८० प्रतिशत चितवनमा हुन्थ्यो । तर अहिले तथ्यांकमा ठूलो फेरबदल आएको छ । कोरोना महामारी अघिसम्म दैनिक ५० देखि ५५ लाख अण्डा उत्पादन हुने गरेकोमा अहिले घटेर करिब ३० लाख वटा मात्रै अण्डा उत्पादन हुने गरेको छ ।

नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टीकाराम पोखरेलले लेयर्स चल्ला उत्पादन गर्ने ह्याचरीको संख्या देशभरमा १४ वटाबाट घटेर ६ वटामा झरेका छन् । यस्तै, ब्रोइलर चल्ला उत्पादन गर्ने देशभरका ३४८ ह्याचरीमध्ये अहिले १२० वटा मात्रै सञ्चालनमा छन् ।

यस्तै, चितवनमा बोइलरका चल्ला उत्पादन गर्ने ह्याचरी ९५ बाट ४३ वटामा पुगेको पोखरेलले बताए । उनका अनुसार ह्याचरीले विगतको तुलनामा ५० प्रतिशतमात्रै उत्पादन गरिरहेका छन् । तीमध्ये पनि धेरैजसो जेनतेन चलेका छन् । अरु बन्द हुने क्रममा पुगेका छन् ।

ब्रोइलर र लेयर्सको चल्ला उत्पादन गर्ने माउ (प्यारेन्ट) अधिकांश विदेशबाट आउने गर्दछ । कोभिडभन्दा अगाडि मासिक १ लाख ८० हजार हाराहारी प्यारेन्ट नेपाल आउने गरेकोमा अहिले करीव मासिक ६० हजार मात्रै आउने गरेको ह्याचरी उद्योग संघका पूर्व केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले बताए । प्यारेन्टबाट उत्पादित चल्लासमेत सबै बिक्री नभएपछि प्यारेन्ट ल्याउन नै कमी गरिएको उनले बताए । लेयर्स चल्ला मात्रै उत्पादन गर्ने देशभरीका १४ वटा ह्याचरीहरुमध्ये ६ वटा मात्रै सञ्चालनमा छन् । ३४८ वटा ब्रोइलर चल्ला उत्पादन गर्ने ह्याचरी रहेकोमा अहिले १२० वटा मात्रै ह्याचरी छन् ।

ब्रोइलरको चल्ला प्रति हप्ता ३५ लाख उत्पादन हुने गरेमा अहिले करिब १५ लाख चल्ला हुन्छ । पहिला २ लाख ५० हजार प्रतिहप्ता उत्पादन हुने लेयर्स चल्लाको उत्पादन अहिले हप्तामा करीब ५० हजारमा झरेको छ । अण्डा उत्पादनको क्षमता भए पनि बजारमा माग नहुँदा लेयर्स र ब्रोइलरको चल्ला उत्पादन घटेको हो ।
नेपालमा दुई हजार पाँच सय लेयर्स -अण्डा उत्पादन गर्ने) फार्म रहेकोमा ७० प्रतिशत हाराहारी बन्द भइसकेका छन् । ३० हजारभन्दा बढी लेयर्स कुखुरा पाल्ने फार्मको संख्या ५० हाराहारी छ, जसले ७५ प्रतिशत अण्डा उत्पादन गर्दछ ।

देशभरमा १२० वटा दाना उद्योग छन् । कुखुरापालक नै घटेपछि दाना उद्योग पनि अधिकांश धरासायी बन्न थालेका छन् । साना क्षमताका उद्योग बन्दहरु धमाधम बन्द हुने क्रममा छन् । पहिला देशभरका उद्योगमा ४५ सय टन दाना प्रतिदिन उत्पादन हुने गरेकोमा अहिले २५ सय टन दाना उत्पादन गर्ने गरेका छन् ।

नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले बर्डफ्लु नियन्त्रणका लागि भनेर लाखौं कुखुरा मारिएको एक वर्षपछि व्यवसायीले क्षतिपूर्ति वापतको रकम पाएको बताए । २०७८ असारसम्म बर्डफ्लु देखिएपछि केही फार्मका कुखुराहरू नष्ट गरिएको थियो । नष्ट गरिएको कुखुराको मूल्याङ्कन अनुसार सरकारले गएको जेठमा एक अर्ब ४ करोड रकम क्षतिपूर्ति दिएको छ । कोरोना महामारीको असर अहिलेसम्म पनि देखिइरहेको पोखरेल बताउँछन् ।

मासु र चल्लामा सकारात्मक इण्डिकटर

पोल्ट्री क्षेत्रमा सबै उत्पादनसँग सम्बन्धित इण्डिकेटरहरू नकारात्मक भए पनि चल्ला र मासुमा भने लागत अनुसारको रकम पाउन सकेको व्यावसायीहरूले बताएका छन् ।

उत्पादनको संख्या घटे पनि व्यावसायीले अहिले लागत अनुसारको रकम चल्ला र मासुमा पाएका छन् । अहिले ब्रोइलरको कुखुरा मासुको प्रतिकेजी उत्पादन लागत २२० रुपैयाँ पर्नेमा व्यावसायीहरुले प्रतिकेजी २४० रूपैयाँसम्म कुखुराको मासु बेच्ने गरेका छन् ।

यस्तै, चल्लाको ब्रोइलर चल्लाको लागत मूल्य प्रतिगोटा लागत ५५ रुपैयाँ पर्नेमा व्यावसायीहरुले ८० रूपैयाँसम्म बेच्ने गरेका छन् । लेयर्सको चल्ला उत्पादन नै कम भएकाले अहिले पनि घाटामा नै बेच्ने गरेका छन् । लेयर्स चल्लाको लागत प्रतिगोटा ९० रुपैयाँ पर्छ, बिक्री भने ५० रूपैयाँसम्म गर्ने गरिएको छ ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?