+
+

मेलम्चीको मुहान ७०० मिटर सारिने, अस्थायी प्रबन्धको काम दशैंपछि

अच्युत पुरी अच्युत पुरी
२०८० कात्तिक २ गते १३:२२

२ कात्तिक, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल (हेडवर्क्स) सात सय मिटर माथि सार्ने तयारी गरिएको छ ।

मेलम्ची खानेपानी विकास समितिका निर्देशक तथा प्रवक्ता राजेन्द्र पन्तका अनुसार मेलम्चीको हेडवर्क्सबारे एसियाली विकास बैंकले पहिरोग्रस्त क्षेत्रसम्मै विज्ञहरु पुर्याएर गरेको अध्ययन प्रतिवेदनमा अहिले हेडवर्क्स रहेको स्थानभन्दा माथि ७ सय मिटर पर मुहानस्थल सार्र्नुपर्ने निष्कर्ष निकालिएको छ ।

‘मेलम्चीको खानेपानी नियमित काठमाडौं ल्याउन स्थायी हेडवर्क्स बनाउनु पर्ने हुन्छ,’ उनले भने, ‘त्यसका लागि ७ सय मिटर माथि नयाँ मुहानस्थल बनाउनु पर्ने निष्कर्ष अध्ययन प्रतिवेदनको छ ।’

एडीबीले मेलम्चीमा पहिरो गएपछि दुई वर्ष समय लगाएर यो अध्ययन गरेको आयोजनाले जनाएको छ ।

मेलम्चीमा १ असार २०७८ मा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल (हेडवर्क्स) तहसनहस भयो । त्यसयता हरेक वर्ष सरकारले अस्थायी प्रबन्धमार्फत हिउँद महिनामा पानी काठमाडौं वितरण भइहेको छ ।

वर्षायाममा आयोजनामा क्षति नहोस् भनी सुरुङमा पानी पठाउने मुहान बन्द गरिएको छ । यस वर्ष पनि बाढीले मुहान पुरेको छ । त्यसभित्र कति क्षति भयो भन्ने यकिन भएको छैन । हरेक वर्ष पटके रुपमा हुने यस्तो मर्मतलाई टार्न र स्थायी समाधान निकाल्न मुहान सार्नुपर्ने अध्ययनको निष्कर्ष छ ।

थप ४ अर्ब लगानी अनुमान

मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल सार्न चार अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । यो अनुमान यसअघि आयोजनाको हेडवर्क्स र सुरुङका लागि गरिएको कामका आधारमा गरिएको हो ।

नयाँ मुहानस्थलबाट साविकको सुरुङसम्म पानी ल्याउन नयाँ सुरुङ खन्नु पर्छ । त्यस स्थानसम्म पुग्न बाटो निर्माण गर्नुपर्छ । मुआब्जा र जग्गा प्राप्तिसहितका काम गर्न यो रकम लाग्ने अनुमान गरिएको पन्तले बताए । ‘ठ्याक्कै लागत त डिजाइन तयार भएपछि यकिन हुन्छ,’ मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता पन्तले भने, ‘हरेक वर्ष पटके रुपमा गरिने मर्मतभन्दा स्थायी संरचनामा काम गर्दा आयोजना दिगो हुन्छ ।’

अस्थायी प्रबन्धको काम दशैंपछि

आयोजनाका अनुसार मेलम्चीमा यस वर्ष पानी ल्याउने प्रयोजनका लागि अस्थायी प्रबन्धको काम भने दशैंपछि मात्र सुरु हुने भएको छ । ‘मनसुन भर्खरै मात्र सकिएको छ, हामीले टेबुल वर्कको काम सकाएका छौं,’ प्रवक्ता पन्तले भने, ‘फिल्डमा दशैंपछि काम गर्ने योजना छ ।’

यस वर्षको बाढीले हेडवर्क्ससँगै बाटो समेत बिगारेका कारण बाटो बनाउँदै जानुपर्ने उनले जानकारी दिए । ‘उपकरण लग्नुपर्ने भएकाले बाटो बनाउँदै जानुपर्ने छ,’ उनले भने, ‘त्यसपछि हेडवर्क्समा काम सुरु हुन्छ, यो सबै दशैंपछि थाल्छौं ।’

यस वर्ष ७ असारदेखि मेलम्चीको पानी सुरुङमा पठाउने मुहानको गेट बन्द गरिएको थियो । यसले वर्षायाममा आउने लेदो सुरुङमा जान रोकिएको थियो । तर, साउन २७÷२८ मा मेलम्ची खोलामा आएको ठूलो बाढीले पुनः खानेपानी आयोजनाको मुहानमा क्षति गरेको छ । दुई दशकभन्दा लामो समय लगाएर निर्माण सम्पन्न भएको मेलम्ची खानेपानी आयोजनाको मुहानको काम भने अस्थायी प्रकृतिको छ । सोहीकारण वर्षायाममा मुहान पुरिने गर्छ ।

२२ फागुन २०७७ मा पहिलो पटक काठमाडौं उपत्यकामा मेलम्चीको पानी झारिएको थियो । १५ चैत २०७७ देखि मेलम्चीको पानी काठमाडौंका धारामा वितरण गर्न थालियो ।

१ असार २०७८ मा मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल (हेडवर्क्स) विनासकारी बाढीका कारण तहसनहस भयो । त्यसपछि ९ महिनासम्म बन्द भएको पानी ११ बैशाख २०७९ मा अस्थायी रुपमा मात्र आउन थाल्यो । त्यसपछि बाढीबाट हुने क्षति रोक्न भन्दै मेलम्चीको मुहान बन्द गरिएको थियो ।

१७ जेठ २०७९ मा बन्द भएको पानी त्यसको ६ महिना पछि अर्थातः २३ मंसिर २०७९ मा मात्र पानी पुनः मेलम्ची काठमाडौं ल्याइयो । यस वर्ष ७ असार २०८० बाट पानी रोकिएको हो ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?