 
															३ कात्तिक, काठमाडौं । द्वन्द्वग्रस्त देश इजरायल भ्रमणबाट फर्किएका अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसबाट देशवासीलाई सम्बोधन गरेका छन् ।
सम्बोधनका क्रममा उनले हमास र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई जोडेका छन् । उनले भने, ‘हमास र पुटिन दुबैबाट अलग–अलग खतरा छ, तर दुबैमा एउटा समानता छ । दुबै छिमेकमा लोकतन्त्रलाई समाप्त पार्न चाहन्छन् ।’
आम मानिसहरुलाई दुबै निकै टाढा लडिरहेकाले यसको के अर्थ हुन्छ र भन्ने लाग्नसक्ने उनले बताए । तर अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि पनि इजरायल र युक्रेन सफल हुन जरुरी रहेको बताउँदै उनले भने, ‘यदि हामीले पुटिनलाई अधिक शक्तिको भोक रोक्न सकेनौं भने उनी युक्रेनमा मात्र रोकिने छैनन् ।’
इजरायल भ्रमणका क्रममा बाइडेनले हमासको आक्रमणबाट पीडित मानिसहरुलाई पनि भेटेका थिए । ‘राष्ट्रपतिका रुपमा मेरा लागि बन्धक बनाइएका अमेरिकी नागरिकको सुरक्षाभन्दा ठूलो केही छैन’ इजरायल–हमास संघर्षमा दुबैतर्फबाट प्रभावित आम ममानिसप्रति समवेदना व्यक्त गर्दै उनले भने ।
हालै गाजाको अस्पतालमा भएको आक्रमणबाट आफू निकै दुःखी भएको समेत उनले बताए । तर यो आक्रमण इजरायलले नगरेको समेत दाबी गरे ।
इजरायल र युक्रेनलाई सहयोग नगर्नु उपयुक्त नभएको भन्दै उनले अमेरिकी कंग्रेसलाई उपयुक्त कदम चाल्न र आर्थिक सहायता प्याकेज पास गर्न आग्रह गरेका छन् । सम्बोधनका क्रममा उनले भनेका छन्, ‘यो यस्तो समय हो, जुन बेला हामीले लिने निर्णयले आगामी दशकको भविश्य तय गर्ने छ ।’
बाइडेनले थप कति आर्थिक सहायता पास गराउन खोेजेका हुन् भन्ने सम्बोधनका क्रममा खुलाएका छैनन् । तर यो १०० बिलियन डलर हुने अनुमान गरिएको बीबीसीले जनाएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4