+
+

ऋण काढेर दशैं मनाउँदै चेपाङ समुदाय

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ४ गते ७:५९

४ कात्तिक, चितवन । जिल्लाको ग्रामीण क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई दशैं कसरी मनाउने भन्ने चिन्ताले सताएको छ । कतिपयले ऋण काढेर दशैं मनाउने तयारी गरेका छन् । यो समुदायका अधिकांशको आफ्नो उब्जनीले छ महिनालाई पनि पुग्दैन । गिठ्ठा, भ्याकुरलगायतका कन्दमूल खाएर जीविकोपार्जन गर्न कतिपय बाध्य छन् ।

इच्छाकामना गाउँपालिका–२ का चेपाङ अगुवा पदमबहादुर चेपाङले आफ्नो समुदायमा ९० प्रतिशतले ऋण सापटीमा चाडपर्व मनाउने गरेको बताए । अरुको देखासिकीले चाडपर्व भड्किलो बन्दै गएको उनले बताए । उनले भने, ‘चेपाङ समुदायले परम्परागतरूपमा चाडपर्व मनाउने भए पनि अहिले केही भड्किलो बनेको छ । चाडपर्वका लागि ऋण काढेर गरेर गर्ने गरेको पाइन्छ ।’

दशैंमा टीका लगाउने क्रममा दिदी–बहिनीलाई कोसेलीअनुसारको रकम दिनुपर्ने चलनले समेत समस्या पर्दै आएको उनले बताए । यस समुदायले अर्काको सिको गर्दा आर्थिक अवस्था झन् बिग्रिंदै गएको उनको भनाइ छ । उनले थपे, ‘मासुदेखि खाद्यान्नसमेत उधारोमा ल्याएर दसैँ मान्ने गर्छन्’, केहीले दशैंका लागि जोहो गरेको भए पनि अधिकांशको समस्या उस्तै रहेको उनको भनाइ छ ।

इच्छाकामना-२ का वडाध्यक्ष पञ्चबहादुर प्रजा चेपाङ समुदायमा छ महिनासम्मका लागि खानमात्रै पुग्ने अन्न हुने भएकाले ऋण सापटीबाटै चाडपर्व मनाउने गरेको सुनाए । अहिले ल्याएको ऋण माघ, फागुनमा तिर्ने गरी चाडपर्व मनाउने गरेको जनाउँदै उनले यसलाई रोक्न भड्किलोपन नियन्त्रण गर्नुपर्ने बताए । उनले भने, ‘सोझा जाति भएकाले देखासिकी बढेको छ । यसलाई रोक्न हामीले प्रयास गरेका छौं ।’

कालिका नगरपालिका–१२ का चेपाङ अगुवा नरजङ्ग प्रजा यस समुदायले परम्परागतरूपमा चाडपर्व मनाउने गरेको बताए । चाडपर्वका लागि साहुसँग ऋण लिएर मनाउनुपर्ने बाध्यता रहेको उनले सुनाए ।

पहाडी क्षेत्रमा सिँचाइको व्यवस्था नहुने भएकाले कोदो र मकै भए पनि धान चामल नहुने भएकाले साहुसँग ऋण गर्नुपर्ने बाध्यता रहेको उनले बताए । उनले भने, ‘मास, गहत, कोदो, मकै, तोरी खसीबाख्रा बेचेर तिरौला भनेर ऋणधन गरेर दसैँ मनाउन बाध्य छन् ।’ चाडपर्वमा गरेको खर्च तिर्नका लागि नै माघ–फागुनसम्म कुर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

चितवन, मकवानपुर, धादिङ, गोरखा, तनहुँ, लम्जुङलगायतका जिल्लामा चेपाङ समुदायको बसोबास रहेको छ । विसं २०६८ को जनगणनाअनुसार नेपालमा यो समुदाय ६८ हजार तीन सय ९९ जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?