+
+

कर्णालीमा चाडपर्व सुरक्षा योजना : कालोबजारी रोक्ने, यात्रुमैत्री अभियान चलाउने

यज्ञ खत्री यज्ञ खत्री
२०८० कात्तिक ५ गते १२:११

५ कात्तिक, सुर्खेत । कर्णाली प्रदेश प्रहरीले वडा दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ । जसमा जिल्ला प्रशासनसँग मिलेर कालोबजारी रोक्नेदेखि यात्रुमैत्री अभियान सञ्चालन गर्नेसम्मका योजना समेटिएका छन् ।

सुरक्षाकर्मीको प्रभावकारी परिचालन, दुरुस्त कारबाही, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्व सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित विशेष सुरक्षा योजना लागू गरिएको हो । सुरक्षित यात्राका लागि प्रोत्साहन होस् भनेर विभिन्न चेक पोइन्टमा ट्राफिक प्रहरीले यात्रुहरुलाई उनीहरुको अवस्थाबारे जानकारी लिने छ । जसलाई प्रहरीले यात्रुमैत्री अभियान भनेको छ ।

‘विभिन्न चेक पोइन्टमा ट्राफिकले यात्रुहरुको अप्ठेरो–सप्ठेरोबारे जानकारी लिनेछ’ प्रदेश प्रहरी प्रमुख डिआईजी भिमप्रसाद ढकाल भन्छन्, ‘क्षमताभन्दा बढी यात्रु हाल्ने सवारी साधनलाई अनदस्पट कार्वाही गर्छौं । बढी यात्रु भए झरेर अर्को गाडिमा पठाउने व्यवस्था समेत गरेका छौं ।’

प्रदेश प्रहरीले तयार पारेको एकीकृत चाडपर्व विशेष सुरक्षा योजना अनुसार मोबाइल गस्ती, क्यूआरटी र पैदल गस्तीहरू समेत गरिने छ । त्यसका लागि प्रदेशका १० जिल्लाका ३२३ स्थान तोकिएको छ । २० वटा जोखिम सम्भावित क्षेत्रहरूमा सादा पोशाकका प्रहरी परिचालन गरिएको छ भने १२ स्थानमा ‘कर्डन एन्ड सर्च’ गरिने छ ।

धार्मिक स्थलहरुमा सुरक्षा, सीमा क्षेत्रमा पनि सहायता कक्ष, कालोबजारी र कृत्रिम अभाव हुन नदिने लगायतका योजना विशेष सुरक्षा योजनामा समेटिएको छ । चाडपर्वको अवधिमा आपराधिक गतिविधि हुन नदिनका लागि प्रदेशभर ५ हजार बढी प्रहरी परिचालन गरिएको डिआईजी ढकालले जानकारी दिए ।

उनका अनुसार प्रदेशभर १०२ वटा क्विक रेस्पोन्स टिम (क्यूआरटी) परिचालन गरिएको छ भने ६८ वटा थप चेक प्वाइन्ट राखिएको छ, जसले सडक सुरक्षालाई थप प्रभावकारी बनाउने प्रदेश प्रहरीको अपेक्षा छ । आकस्मिक हुने घटनाहरूका लागि समेत जनशक्ति तयारी अवस्थामा राखिएको छ । जसका लागि १७ वटा टोलीमा १३४ जनालाई तयारी अवस्थामा राखिएको छ ।

सशस्त्र प्रहरीहरु । फोटो : अमित रावल

चाडपर्व जस्ता विशेष अवस्थामा कुटपिट, चोरी, डकैती, पाकेटमारी, लुटपाट, जुवा, अवैध मदिरा बिक्री वितरण, विष्फोटन, तस्करी, चोरी निकासी, ट्राफिक दुर्घटना, ठगी, ट्राफिक नियम उल्लंघन जस्ता अपराध हुनसक्ने डीआईजी ढकालले बताए । त्यसलाई लक्षित गरेर जनमानसमा सुरक्षाकर्मीको सहज पहुँच तथा सर्वसुलभताको वातावरण तयार गर्ने योजना रहेको उनले बताए ।

प्रदेशका ८३ स्थानमा संयुक्त चेकिङको व्यवस्थापन गरिएको छ भने लामो दुरीका सवारी साधनहरुमा दुई वटा चालकको व्यवस्थापन हुनुपर्ने भनिएको छ । सवारी साधनलाई नियमन गर्नका लागि विशेष चेकिङको पनि योजना ल्याइएको प्रदेश प्रहरीले जनाएको छ ।

‘यात्रुहरूलाई पूर्णसुरक्षाको प्रत्याभूति दिलाउने, बैंक तथा वित्तीय संघसंस्थाहरूमा हुने कारोबार सुरक्षित बनाउने, कुनै प्रकारको अप्रिय घटना हुन नदिन योजनाबद्ध प्रहरी परिचालन, अनुगमन, नियन्त्रण गर्छौं । त्यसरी नै प्रहरी परिचान गरिएको छ,’ डिआईजी ढकालले अनलाइनखबरसँग कुरा गर्दै भने ।

प्रदेश प्रहरीले चोरी, तस्करी, लागु औषध कारोबार लगायतका अवैध गतिविधि नियन्त्रण गर्नका लागि पनि सम्भावित १८ वटा स्थानमा सुरक्षा व्यवस्थालाई कडाइ गरिएको जनाएको छ । आर्थिक कारोबार हुने ठाउँ, धार्मिक तथा पर्यटकीयस्थल लगायतका महत्वपूर्ण ९२ स्थान र झैझगडा, जुवा तास, चोरी लुटपाट, मापसे नियन्त्रणका लागि विभिन्न ६६ स्थानमा प्रहरी परिचालन गरिएको छ । ‘प्रदेशका १ हजार ३६९ वटा ड्युटीमा ५ हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको छ । यो गत वर्षको भन्दा निकै बढी हो,’ ढकालले भने ।

चाडपर्वको बेला हुन सक्ने आपराधिक गतिविधिहरूको शंकास्पद एवम् सम्भावित स्थानहरूमा सादा पोशाकमा पर्याप्त मात्रामा प्रहरी परिचालन गरिएको छ । कालोबजारी नियन्त्रणका लागि पनि विशेष रणनीति बनाइएको प्रदेश प्रहरीले जनाएको छ ।

प्रहरीले चाडबाडलाई लक्षित गरेर सर्वसाधारणको घर, सम्पत्ति रहेको स्थान, वित्तीय संस्था, व्यापारिक कारोबार हुने स्थान, सरकारी कार्यालय, कर्णाली प्रदेश प्रवेश गर्ने नाका लगायतमा पनि सुरक्षा व्यवस्था कडा पारेको छ । विशिष्ट व्यक्ति, महत्वपूर्ण प्रतिष्ठान, मठ मन्दिर, गुम्बा, होटल, गेस्ट हाउस, राजमार्ग तथा ग्रामिण वस्ती र भीआईपीको आवतजावत हुने क्षेत्रमा पनि विशेष सुरक्षा अपनाइएको प्रदेश प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीहरु । फोटो : अमित रावल

सडक सुरक्षा कमजोर रहेको कर्णालीमा दैनिक दुर्घटनाहरू भइरहन्छन् । सडक सुरक्षालाई ध्यान राखेर प्रदेश प्रहरीले सवारी साधनमा यात्रुसँग बढी भाडा असुल गर्ने, यात्रुहरूलाई दुव्र्यवहार गर्ने, क्षमता भन्दा बढी यात्रु एवम् मालसामान राख्ने तथा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनहरूलाई अन्दस्पट कारबाही गर्ने रणनीति लिएको छ ।

सीमानाका, बसपार्क, सार्वजनिक स्थान तथा बढी भिडभाड हुने स्थानहरूमा नागरिक सहजताका लागि यात्रु सहायता कक्षको समेत स्थापना गरी सेवा प्रवाह गरिएको प्रदेश प्रहरी प्रमुख ढकालले जानकारी दिए । ‘चाडपर्वको नाममा हुनसक्ने सबै प्रकारका अवान्छित÷आपराधिक क्रियाकलाप रोकथाम तथा नियन्त्रण गर्दै नागरिकलाई सुरक्षित र उल्लासका साथ चाडपर्व मनाउने विश्वसनीय वातावरण निर्माण गर्छौं । त्यसरी नै काम भइरहेको छ’ उनले भने ।

प्रदेश प्रहरीले सर्वसाधारणलाई घर छाडेर जाँदा छिमेक वा प्रहरीलाई खबर गर्न पनि आग्रह गरेको छ । साथै, कतै शंकास्पद वस्तु देखापरे तत्काल १०० नम्बरमा फोन गर्न पनि आग्रह गरिएको छ ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?