+
+
एन्टोनियो गुटेरेस :

समाजवादी पार्टीका कार्यकर्तादेखि राष्ट्रसंघको महासचिवसम्म

पोर्चुगलको समाजवादी पार्टीमा लागेर प्रधानमन्त्री बनिसकेका राष्ट्रसंघ महासचिव गुटेरेस सोसलिस्ट इन्टरनेशनलमा पनि आबद्ध थिए ।

दिपेश शाही दिपेश शाही
२०८० कात्तिक १२ गते १९:०२
नेपाल आएका राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस । तस्वीर : विकास श्रेष्ठ

१२ कात्तिक, काठमाडौं । आज आइतबार काठमाडौं ओर्लेका संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेसको पृष्ठभूमि खोज्दैजाँदा हामी उनलाई समाजवादी पार्टीका कार्यकर्ता हुँदै राजनीति अघि बढाएका पोर्चुगिज पूर्वप्रधानमन्त्री थिए भनी थाहा पाउँछौं ।

गुटेरेस १ जनवरी २०१७ मा राष्ट्रसंघको नवौं महासचिव बनेका थिए । राष्ट्रसंघ महासभाले उनलाई पाँच वर्षे कार्यकाल सकिएसँगै फेरि चुनेको थियो ।

गुटेरेस अर्थात् एन्टोनियो म्यानुएल डे ओलिभेरा गुटेरेसको जन्म अप्रिल ३०, १९४९ मा पोर्चुगलको लिस्बनमा भएको थियो । उनले भौतिकशास्त्र र इन्जिनियरिङको अध्ययन गरेका छन् ।

सन् १९७१ मा विश्वविद्यालयको अध्ययन सकाएसँगै उनी विद्यार्थी राजनीतिमा सक्रिय भएका थिए । तत्कालीन शासक एन्टोनियो डे ओलिभेरा सालाजारको तानाशाविरुद्ध गुटेरेस आन्दोलित भएका थिए । १९७४ मा सालाजारका उत्तराधिकारी मार्सेलो केटानोलाई पराजित गर्न पनि उनले उस्तै सक्रिय भूमिका खेलेका थिए ।

अध्ययन सकेसँगै उनी भौतिकशास्त्र अध्यापकका रूपमा पनि काम गरे । त्यति नै बेला पोर्चुगलमा प्रजाातान्त्रिक संक्रमण सुरु भएपछि उनी राजनीतिमा थप सक्रिय भए । १९७४ मा उनले अध्यापन छाडेर समाजवादी पार्टीमा लागेका थिए । दुई वर्षपछि उनी पोर्चुगलको संसदमा निर्वाचित भए ।

उनी सन् १९८१ देखि १९८३ सम्म युरोपेली काउन्सिलको संसदीय सभाका सदस्यसमेत थिए ।

अध्यापन छाडेर राजनीतिमा सक्रिय भएका उनी सन् १९९२ मा पोर्चुगलको समाजवादी पार्टीको महासचिवमा निर्वाचित भएका थिए ।

सन् १९९५ मा अल्पमतको सरकारको प्रधानमन्त्री बनेका थिए । उनकै प्रधानमन्त्रीकालमा पोर्चुगलको आधिकारिक मुद्रालाई यूरोमा परिवर्तन गराउन पहल गरे भने मकाउलाई चीनको अधीनमा राख्ने प्रस्तावको पनि नेतृत्व गरेका थिए ।

अक्टोबर १९९९ मा सम्पन्न पोर्चुगलको आम चुनावमा आफ्नो पार्टीले जित हासिल गरेपछि खुसी व्यक्त गर्दै एन्टोनियो गुटेरेस । तस्वीर : अर्मान्डो फ्रान्का/एपी

यस्तै उनले पूर्वी टिमोर (तिमोर लेस्टे) को संकट समाधानमा पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए । पहिले पोर्चुगलको उपनिवेशमा रहेको टिमोर १९७५ देखि इन्डोनेसियाको कब्जामा थियो । गुटेरेसले टिमोरेसको स्वतन्त्रताको लागि आवाज उठाएका थिए ।

सन् २००५ मा संयुक्त राष्ट्रसंघ महासभाले गुटेरेसलाई शरणार्थीहरूको लागि उच्च आयुक्तको भूमिकामा नियुक्त गरेको थियो । गुटेरेसले शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (यूएनएचसीआर) को कार्यालयमा सक्रियता बढाए ।

उनले यूएनएचसीआरको जेनेभा मुख्यालयमा कर्मचारी र लागत घटाउँदै संगठनलाई सुधार गर्ने काम गरेका थिए ।

उनको कार्यकालमा दोस्रो विश्वयुद्धपछि कहिल्यै नदेखिएको आप्रवासनसम्बन्धी समस्या हल गर्न धनी देशहरूलाई सहयोग गर्न प्रोत्साहित गरेका थिए ।

महासचिवको रूपमा नियुक्ति हुनुअघि गुटेरेसले जुन २००५ देखि डिसेम्बर २०१५ सम्म शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको रूपमा सेवा गरेका थिए ।

सिरिया र इराकका द्वन्द्वहरू र दक्षिण सुडान, मध्य अफ्रिकी गणतन्त्र र यमनका सङ्कटहरूले यूएनएचसीआरका गतिविधिहरूमा ठूलो वृद्धि ल्यायो ।

द्वन्द्व र उत्पीडनबाट विस्थापित मानिसहरूको संख्या सन् २००५ मा ३८ मिलियनबाट बढेर सन् २०१५ मा ६० मिलियनभन्दा बढी पुगेको थियो ।

सन् २००० को प्रारम्भमा युरोपेली काउन्सिलको अध्यक्षको रूपमा उनले ‘विकास र रोजगारीका लागि एजेन्डा निर्माण’ नेतृत्व गरे ।

नोभेम्बर १९९९ मा पेरिसमा सोसलिस्ट इन्टरनेशनलको सम्मेलनका क्रममा बेलायती पूर्वप्रधानमन्त्री टोनी ब्लेयरसँग एन्टोनियो गुटरेस । तस्वीर : लौरेन्ट रिबोर्स/एपी

गुटेरेस लामो समयसम्म समाजवादी लोकतान्त्रिक राजनीतिक दलहरूको विश्वव्यापी संगठन सोसलिस्ट इन्टरनेशनलमा पनि सक्रिय थिए । उनी १९९२ देखि १९९९ सम्म समूहको उपाध्यक्ष थिए ।

गुटेरेसको छवि शरणार्थी शिविरदेखि युद्ध क्षेत्रसम्म विश्वका सबैभन्दा कमजोर मानिसहरूको अधिकारका पक्षधरको रूपमा देखिएको छ ।

पछिल्ला केही समययता विश्वव्यापी रुपमा देखा परेका चुनौतीहरूको सामना गर्न उनले संयुक्त राष्ट्रसंघमार्फत महत्वपूर्ण भूमिका खेलेको भनेर प्रशंसा हुने गरेको छ ।

अहिले शक्तिराष्ट्रहरुको दबदबाबीच राष्ट्रसंघकै भविष्य के होला भनी प्रश्न उठिरहेका बेला गुटेरेसले आफ्नो सक्रिय नेतृत्व देखाउन खोजिरहेका छन् ।

कोभिड-१९ महामारीको समयमा स्वास्थ्य जनशक्ति परिचालनदेखि जलवायु आपतकाललाई सम्बोधन गर्ने, लैङ्गकि समानता बढाउने र २१औं शताब्दीको मानव जीवनलाई आवश्यक महत्वाकांक्षी सुधारका कामहरू गर्न उनले संयुक्त राष्ट्रसंघको घोषणापत्रमा आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएका छन् ।

शान्ति, दिगो विकास, मानव अधिकार र मानवीय सहायताको रक्षा गर्न उनले राष्ट्रसंघलाई सक्रिय बनाइरहेका छन् ।

गुटेरेस ‘क्लब अफ म्याडि्रडका सदस्य’ पनि हुन्, जुन विश्वभरका प्रजातान्त्रिक मुलुकका पूर्व राष्ट्रपति र प्रधानमन्त्रीहरूको गठबन्धन हो ।

उनी पोर्चुगिज, अंग्रेजी, फ्रेन्च र स्पेनिस भाषामा दक्षता राख्दछन् । उनको विवाह क्याटरिना डे अल्मेडा वाज पिन्टोसँग भएको थियो । उनका दुई छोराछोरी, एक सौतेनी छोरा र तीन नातिनातिना छन् ।

संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको निम्तोमा गुटेरेस नेपाल आइपुगेका हुन् ।

 

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?