+
+

नेपाललाई फेरि टी-२० विश्वकपमा पुग्ने अवसर

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० कात्तिक १२ गते १७:१६

१२ कात्तिक, काठमाडौं । सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकपमा नेपालको खेल हेरेर क्रिकेट खेल्ने सपना देखेका रोहित पौडेल अहिले नेपाली क्रिकेट टिमको कप्तान छन् । र उनको लक्ष्य छ, नेपाललाई फेरि टी-२० विश्वकपमा छनोट गराउने ।

सन् २०१४ पछिका तीनवटा टी-२० विश्वकपमा नेपाल छनोट हुन सकेन । यस पटक घरेलु मैदानमै टी-२० विश्वकपको एसिया क्षेत्रको छनोट हुँदैछ र त्यसमा उत्कृष्ट प्रदर्शन गरेर विश्वकपमा पुग्ने लक्ष्य नेपाली टिमको छ ।

‘अहिलेका धेरैजसो खेलाडीहरु २०१४ को विश्वकप हेरेर क्रिकेट खेल्न थालेको थियौँ । त्यो बेला नेपालले खेल्दा कस्तो भएको थियो हामी अनुभव गर्न सक्छौँ । त्यो उत्साहलाई लिएर हामी यो विश्वकप छनोट खेल्दैछौँ’, कप्तान रोहितले छनोट खेलको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा भने, ‘हामी टिमको रुपमा जसरी भए पनि छनोट हुनुपर्छ भन्ने सबैको अपेक्षा छ ।’

नेपाली टिममा अहिले युवा खेलाडी धेरै छन् । कप्तान रोहित नै भर्खर २१ वर्षका भए । २०१४ मा टी-२० विश्वकप खेलेका दुई जना सोमपाल कामी र विनोद भण्डारी मात्र अहिलेको टिममा छन् । बाँकी खेलाडी विश्वकप खेल्ने सपना पूरा गर्न लागिपरेका छन् ।

यस पटक सबै खेलाडी, प्रशिक्षक र समर्थक नेपाल टी-२० विश्वकपमा पुग्नेमा आशावादी छन् । कप्तान रोहित पनि नेपाल छनोट हुने उच्च सम्भावना रहेको बताउँछन् । ‘छनोट हुने उच्च सम्भावना छ । तर टी-२० गेम हो जे पनि हुन सक्छ, जस्तो पनि हुन सक्छ’, रोहितले भने, ‘कुनै पनि टिमलाई सजिलो लिएका छैनौँ । हरेक गेम जित्ने लक्ष्यका साथ हरेक खेलमा केन्द्रित हुनेछौँ ।’

नेपालले सोमबार सिंगापुरसँग खेल्दै छनोट यात्रा सुरु गर्नेछ । यस्तै मंगलबार मलेसियासँग खेल्नेछ भने समूहको अन्तिम खेल बिहीबार ओमानसँग खेल्नेछ ।

दुई स्थानको लागि ८ टिम प्रतिस्पर्धामा

अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी-२० विश्वकपमा २० टिमले खेल्दैछन् । त्यही प्रतियोगिताका लागि एसिया क्षेत्रको अन्तिम चरणको छनोट १३ देखि १९ कात्तिकसम्म काठमाडौंमा हुँदैछ ।

आयोजक नेपाल, ओमान, युएई, हङकङ, मलेसिया, सिंगापुर, कुवेत र बहराइनले छनोट खेल्नेछन् । नेपाल ओमान मलेसिया र सिंगापुर समूह ए मा छन् भने युएई, हङकङ, बहराइन र कुवेत समूह बीमा छन् । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

सेमिफाइनल जित्ने दुई टोली मात्र विश्वकपमा पुग्नेछन् । त्यसैले टी-२० विश्वकप खेल्न कम्तीमा पनि यस छनोट प्रतियोगिताको सेमिफाइनलमा पुग्नुपर्नेछ । अहिले नेपालको अर्जुनदृष्टि पनि त्यसैमा छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले पनि अहिले नेपालको ध्यान विश्वकप छनोटमा रहेको बताए । ‘हाम्री विश्वकप छनोटमा केन्द्रित छौं । टी-२० फास्ट खेल हो । यसमा जे पनि हुन सक्छ भन्ने हामीलाई थाहा छ । सबैले आफ्नो भूमिकाको बारेमा बुझेका छन् । हामी उत्साहित छौं’, छनोटअघि देसाईले भने, ‘हाम्रो ध्यान भोलिको खेलमा राम्रो प्रदर्शन गर्नेमा छ ।’

नेपालले सोमबार सिंगापुरसँग खेल्दै छनोट यात्रा सुरु गर्नेछ । यस्तै मंगलबार मलेसियासँग खेल्नेछ भने समूहको अन्तिम खेल बिहीबार ओमानसँग खेल्नेछ ।

घरेलु मैदान र दर्शकको साथ

पहिलो पटक घरेलु मैदानमा खेल्न पाएको टी-२० विश्वकपको छनोट खेलमा नेपालले घरेलु दर्शकको समर्थन पनि पाउनेछ । ‘गाह्रो अवस्थामा उहाँहरुले जुन किसिमले समर्थन गर्नुहुन्छ त्यसले पूरै टिमलाई नै मोटिभेट हुन्छ’, रोहितले भने, ‘त्यो समर्थन हाम्रो लागि महत्वपूर्ण हुन्छ ।’

यसअघि नेपालले टी-२० विश्वकपको छनोट प्रतियोगिता देश बाहिर मात्र खेलेको थियो । ‘अहिले हामी राम्रो क्रिकेट खेलिराछौँ त्यो पनि फरक छ । यसपालि घरेलु कन्डिसनमा खेल्न पाएका छौं, त्यो अर्को फाइदा छ’, उनले भने ।

छनोट प्रतियोगिताअघि दशैँको समयमा भएको त्रिकोणात्मक शृंखलामा पनि नेपाली दर्शकहरु उल्लेख्य उपस्थित भएर टिमलाई समर्थन गरेका थिए । शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको नेपाल र युएईको फाइनल खेल हेर्न करिब १० हजार दर्शक उपस्थित थिए ।

दर्शकको समर्थनले पनि नेपाली टिमलाई ठूलो उर्जा मिल्दै आएको छ चाहे त्यो विश्वकप लिग टु शृखंलामा होस् या एसीसी प्रिमियर कपमा होस् ।

सन्दीप फर्किएपछि टिम सन्तुलित

विश्वकप छनोटको तयारी स्वरुप खेलिएको त्रिकोणात्मक टी-२० शृखंला नलेखेका सन्दीप लामिछाने टिममा फर्किएपछि टिम सन्तुलित बनेको कप्तान र प्रशिक्षकले बताएका छन् ।

‘सन्दीपलाई ब्रेक आवश्यक थियो र उनी अहिले फ्रेस छन् र खेलका लागि तयार छन्’, प्रशिक्षक मोन्टी देसाईले भने ।

त्रिकोणात्मक शृंखलामा सन्दीप नहुँदा श्याम ढकालले डेब्युको अवसर पाएका थिए । चोटका कारण एसियाड गुमाएका अर्का स्पिनर ललित राजवंशीले पनि त्रिकोणात्मक शृखंलाबाट पुनरागमन गरेका थिए । सन्दीपबारे रोहितले भने, ‘उहाँसँग टी-२० को अनुभव छ । त्यसले गर्दा बलिङ अझ बलियो भएको छ ।’

अहिले नेपालले सोमपाल कामी, करण केसी, गुल्सन झा र अविनाश बोहरा चार पेस बलर र एक स्पिनर खेलाइरहेको छ । सन्दीपको आगमनपछि बलरको संख्या ५ पुग्नेछ । कप्तान रोहितले कन्डिसन हेरेर कसलाई खेलाउने निर्णय लिने बताए ।

दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले पनि पार्टटाइम स्पिन बलिङ गर्ने भएकाले एक मात्र मुख्य स्पिनर खेलाउने सम्भावना छ । फास्ट बलरहरु सोमपाल, करण र गुल्सनले ब्याटिङ पनि गर्ने भएकाले टिममा उनीहरुको स्थान लगभग पक्का छ ।

यस्तै ब्याटिङमा पनि समस्या नरहेको कप्तान रोहितले बताए । पछिल्लो ६-७ महिना नेपालले राम्रो ब्याटिङ गरिरहेको रोहितले बताए ।

नेपालले त्रिकोणात्मक शृखंलामा सोमपाललाई वान डाउनमा प्रयोग गरेको थियो । सोमपालले पेस बलरसँग राम्रो खेल्ने भएकाले तेस्रो नम्बरमा खेलाएको रोहितले बताए । अहिले टी-२० मा कुशल मल्लले तेस्रो नम्बरमा खेल्दै आएका छन् । ओपनिङमा कुशल भुर्तेल र आसिफ शेख फिक्स छन् । त्यसपछि कुशल मल्ल रोहित, दीपेन्द्र र सन्दीप जोराले मिडर अर्डर सम्हाल्दै आएका छन् । त्यसपछि गुल्सन झा, सोमपाल कामी र करण केसीले ब्याटिङ गर्न सक्छन् ।

विकेटकिपर विनोद भण्डारी र विवेक यादव पनि विकल्पमा छन् । एसियाडमा पुनरागमन गरेका दुवैले छनोटअघि धेरै मौका भने पाएनन् ।

प्रशिक्षक देसाईले नेपाली टिममा ११ जना नै ब्याटर छन् भन्ने आफ्नो सोच रहेको बताए । ‘टी-२० खेल नै धेरै फास्ट छ । हरेकले आफ्नो स्ट्राइक रेटमा ब्याटिङ गर्नुपर्छ । ब्याटिङमा ग्रुपमा कहिल्यै शंका छैन । हरेक ब्याटरले आफ्नो गेम प्लान बुझेका छन्’, उनले भने ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?