+
+

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस आज लुम्बिनी आउँदै

यस्तो छ डेढ घण्टाको भ्रमण तालिका

अनलाइनखबर टोपराज शर्मा अनलाइनखबर, टोपराज शर्मा
२०८० कात्तिक १४ गते ७:२१

१४ कात्तिक, बुटवल । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज बिहान बुद्ध जन्मस्थल लुम्बिनी आउँदैछन् ।

तीन दिने औपचारिक नेपाल भ्रमणमा आएका गुटेरेस आज बिहान पोखराबाट लुम्बिनी आउन लागेका हुन् ।

महासचिव गुटेरेस मंगलबार बिहान ८ः३५ मा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउने र त्यहाँबाट हेलिकोप्टरमा बिहान ८ : ५० बजे लुम्बिनी पुग्नेछन् ।

हेलिकोप्टरमा लुम्बिनी पुगेपछि गुटेरेसलाई चार नम्बर गेटबाट गाडीमा शान्ति दीपमा लगिनेछ । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यका अनुसार गुटेरेसलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षु भिक्षुणीसहित लुम्बिनी साँस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारु लगायत विभिन्न जातीय समूह र होटल व्यवसायीहरुले समेत शान्तिदीपदेखि मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गर्नेछन् ।

मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भहरुको निरीक्षणपछि मायादेवी मन्दिर र अशोक स्तम्भ परिसरकै पिपलको रुखमुनि गुटेरेसलाई स्वागत गर्ने कार्यक्रम राखिएको छ ।

गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल, संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, लुम्बिनी विकास कोषका पदाधिकारीले स्वागत गर्ने कार्यक्रम छ ।

मन्त्री किराती र मुख्यमन्त्री चौधरी सोमबार नै लुम्बिनी आइपुगेका छन् । प्रधानमन्त्री प्रचण्ड आज बिहान काठमाडौंबाट आउने छन् ।

प्रधानमन्त्री महासचिव गुटेरेसभन्दा अगाडि  गौतमबुद्ध विमानस्थलमा अवतरण भएको खण्डमा पर्खेर त्यहीँ स्वागत गर्ने नभए लुम्बिनीमै पुगेर स्वागत गरिने लुम्बिनी विकास कोषले जनाएको छ ।

कोषका तर्फबाट महासचिव गुटेरेसलाई लुम्बिनी विकास गुरुयोजना, उत्खनन, अन्वेषण, अनुसन्धान र ऐतिहासिक तथा पुरातात्विक महत्त्वका विषयमा लुम्बिनी विकास कोषले जानकारी गराउने कार्यक्रम पनि रहेको छ ।

गुटेरेसलाई मायाको चिनो र अतिथि पुस्तिकमा हस्ताक्षरपछि मिडियासँग  बिफ्रिङ गर्ने कार्यक्रम तय गरिएको कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिए ।

पत्रकारहरुसँग गुटेरेसले बुद्धजन्मस्थलबाट विश्व शान्तिको सन्देश दिने बताइएको छ । महासचिव गुटेरेसले लुम्बिनीमा वृक्ष रोपण गर्नेछन्  ।

लुम्बिनीमा डेढ घन्टा बिताएपछि गुटेरेस १०ः३० बजे काठमाडौं फर्कने गरी कार्यक्रम तालिका बनेको छ ।

महासचिव गुटेरेसको लुम्बिनी भ्रमणले लुम्बिनी र गौतमबुद्धको शान्तिको सन्देश विश्वभर थप प्रचारप्रसार हुने र लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

महासचिव गुटेरेसको भ्रमणलाई लक्षित गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि लुम्बिनीसम्मको आवश्यक सुरक्षा व्यवस्था बलियो बनाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

महासचिपको भ्रमणको सुरक्षा व्यवस्थाका लागि तीनवटै सुरक्षा निकायका जनशक्ति परिचालन गरिएको र सुरक्षा संवेदनशील क्षेत्रको पहिचान गरी व्यवस्थापन गरिएकोसमेत प्रजिअ अर्यालले जानकारी दिए ।

गुटेरेस लुम्बिनी भ्रमण गर्ने राष्ट्र संघका छैटौं महासचिव हुन् । राष्ट्र संघका तत्कालीन महासचिव ऊ थान्तले   सन् १९६७ मा लुम्बिनी भ्रमण गरेका थिए । ऊ थान्तको  भ्रमणपछि नै लुम्बिनीको योजनाबद्ध विकासको सुरुआत भएको मानिन्छ ।

जापानी वास्तुकलाविद् प्राध्यापक केन्जो टाँगेले राष्ट्र संघका तत्कालीन महासचिव ऊ थान्तकै आग्रहमा सन् १९७८ मा लुम्बिनी गुरुयोजना तयार गरेका हुन् ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?