+
+

दयाहाङ राई र दीया पुन अभिनित ‘दयारानी’ माघ २६ मा आउने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १४ गते ११:५०

काठमाडौं । दयाहाङ राई र दीया पुनको शीर्ष भूमिका रहेको सोसल-ड्रामा फिल्म ‘दयारानी’को प्रदर्शन मिति तय भएको छ । निर्माताले मंगलबार पोस्टर सार्वजनिक गर्दै फिल्म माघ २६ गते रिलिज हुने जनाएका छन् ।

‘कबड्डी’ र ‘जारी’जस्ता ब्लकबस्टर फिल्म निर्माण गरेको बाँसुरी फिल्म्सले ‘दयारानी’ बनाउन माओत्से गुरुङ फिल्म्ससँग सहकार्य गरेको छ । यसअघि यी दुईले ‘पुरानो डुंगा’मा सहकार्य गरेका थिए । कोरोना महामारीअघि तयार भइसकेको ‘दयारानी’को रिलिजमा चार वर्ष ढिलाइ भएको छ ।

यो फिल्मको कथावस्तु गुरुङ संस्कार र संस्कृतिमा आधारित छ । ‘जारी’मा लिम्बू समुदायको विवाह संस्कार दर्शाइएको थियो । ‘कबड्डी’मा दर्शकले थकाली समुदायको जीवनशैली बुझ्न पाएका थिए । रोचक के छ भने यी तीनै फिल्मको केन्द्रमा दयाहाङले अभिनय गरेका छन् ।

दयाहाङ र दीयाले यसमा पति-पत्नीको भूमिका निर्वाह गरेका छन् । कास्कीको याङ्जाकोट गाउँ र पोखरामा ‘दयारानी’को छायांकन गरिएको छ । ‘यसको भाषा मात्र नेपाली हो तर कथावस्तु गुरुङ संस्कार र संस्कृतिमा आधारित छ,’ निर्देशक गुरुङले अनलाइनखबरसँग भने ।

‘मैले हिजोदेखि जुन संस्कार र संस्कृति भोग्दै आएको छु, त्यही कथामा फिल्म बनेको हो । म त्यही कास्टको भएकाले धेरै टाइम बिताउनुपर्ने आवश्यकता थिएन,’ फिल्मबारे गुरुङले भने, ‘जति धेरै विविधिता र जति धेरै फिल्म आयो, नेपाली फिल्मका लागि त्यत्तिकै राम्रो हुने हो ।’

माओत्से गुरुङले यसअघि आठवटा गुरुङ फिल्मको निर्देशन गरेका छन् । नेपाली भाषामा उनको यो पहिलो निर्देशकीय प्रयत्न हो । माओत्से यतिबेला इलाममा ‘अञ्जिला’को छायांकनमा व्यस्त छन् । यसबाहेक ‘डिग्री माइला’ र ‘ऊनको स्वीटर’ उनका आगामी फिल्महरु हुन् । यसबाहेक उनी आगामी वर्ष अर्को एक नेपाली फिल्मको निर्देशन गर्दैछन् ।

माघ २६ मै दयाहाङ अभिनित अर्को फिल्म ‘हात्तीछाप’ पनि प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?