+
+

साना तथा मझौला उद्यमका लागि अमेरिकाले नेपाललाई साढे १६ अर्ब ऋण दिनेबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १४ गते १३:०९

१४ कात्तिक, काठमाडौं । अमेरिकाले नेपालका साना तथा मझौता उद्यम विकासका लागि साढे १६ अर्ब नेपाली रुपैयाँ भन्दा बढी ऋण दिने विषयमा छलफल भएको छ ।

एक साता लामो अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच उक्त विषयमा छलफल भएको अमेरिकी विदेशमन्त्रालयले जनाएको छ ।

द्विपक्षीय भेटवार्तापछि अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले जारी गरेको विज्ञप्तिमा नेपाल–अमेरिका साझेदारीको सुदृढीकरणमा जोड दिएको उल्लेख छ ।

‘भर्खरै सुरु गरिएको ५०० मिलियन अमेरिकी डलर अनुदान सहयोगको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) परियोजना कार्यान्वयनले पूर्वाधार निर्माण गर्ने, बिजुलीमा पहुँच बढाउने र सीमापार विद्युत व्यापारका विषयमा छलफल भयो’, विज्ञप्तिमा उल्लेख छ, ‘उनीहरूले नेपालमा विस्तारित विकास वित्त निगमको लगानी, साना तथा मझौला उद्यमहरूलाई ऋण उपलब्ध गराउन नेपाली बैंकलाई १२५ मिलियन अमेरिकी डलर नयाँ ऋण दिनेलगायतका विषयमा छलफल गरेका छन् ।’

भेटका क्रममा नेपालमा अमेरिकी विदेशमन्त्री ब्लिन्केनले ‘अमेरिकी पिस कोर स्वयंसेवीहरू’ ले ६० वर्षभन्दा बढी समयदेखि गरिरहेको साझेदारीको पनि प्रशंसा गरेका छन् । ब्लिन्केनले नेपालले लोकतान्त्रिक शासनको सुदृढीकरणमा गरेको प्रगतिको प्रशंसा गर्दै अमेरिकाले नेपाललाई बलियो र समृद्ध लोकतन्त्रको रुपमा हेर्न चाहेको बताए ।

भेटमा दुवै पक्षले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धको वर्तमान अवस्थाप्रति सन्तुष्टि व्यक्त गर्दै पारस्परिक हितका क्षेत्रमा सहकार्यलाई विस्तार तथा नवीकरण गर्ने प्रतिवद्धता जनाएका छन् ।

डीसीस्थित नेपाली राजदूतावासका अनुसार परराष्ट्रमन्त्री साउदले अतिकम विकसित मुलुकबाट स्तरोन्नति भएपछि नेपालका विकास प्राथमिकताबारे उल्लेख गरेका थिए । उनले व्यापार तथा लगानी, बजार पहुँच, खाद्य सुरक्षा र सूचना प्रविधिलगायतका क्षेत्रमा अमेरिकाबाट थप सहयोग गर्न आह्वान गरेका छन् ।

दूतावासद्वारा जारी विज्ञप्तिमा परराष्ट्रमन्त्री साउदले नेपालका लागि नयाँ निर्यात योग्य वस्तुहरू थपेर नेपाल व्यापार प्राथमिकता कार्यक्रम (एनटीपीपी) र जेनरलाइज सिस्टम फर प्रिफरेन्स (जीएसपी) सुविधाको पुनः प्रमाणीकरण र विस्तार गर्न अमेरिकालाई अनुरोध गरेका छन् ।

यस्तै मन्त्री साउदले अमेरिकी सहयोग युएसएआईडी र मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लगायत नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गरेकामा अमेरिकी सरकारलाई धन्यवाद दिए । दूतावासको विज्ञप्तिमा दुवै पक्षले एमसीसी अन्तर्गतका आयोजनाहरुको समयमै कार्यान्वयनको महत्त्वमा जोड दिएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?