+
+

पाकिस्तानसँग हारेसँगै सेमिफाइनल दौडबाट बाहिरियो बंगलादेश

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १४ गते २१:५३

१४ कात्तिक, काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तानले बंगलादेशमाथि ७ विकेटको जित हात पारेको छ । लगातार छैटौं हारसँगै बंगलादेश सेमिफाइनलको दौडबाट बाहिरिएको छ ।

मंगलबार भारतको इडेन गार्डनमा बंगलादेशले दिएको २०५ रनको लक्ष्य पाकिस्तानले मात्र ३२.३ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

उसको सुरुवात नै राम्रो रह्यो । अब्दुल्लाह शफिक र फखर जमानले पहिलो विकेटका लागि १२८ रनको साझेदारी गरे । शफिक ६८ रन र जमान ८१ रनमा आउट भए ।

तेस्रो विकेटका लागि जमान आउट हुँदा पाकिस्तानको स्कोर १६९ रन थियो । मोहम्मद रिजवान र इफ्तिखार अहमदले अविजित ३६ रनको साझेदारी गर्दै जित दिलाए । रजवान २६ र अहमद १७ रनमा अविजित रहे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४५.१ ओभरमा सबै विकेट गुमाएर २०४ रन बनाएको थियो । उसका लागि महमुदुल्लाहले सर्वाधिक ५६ रन जोडे भने लिटन दासले ४५ र सकिब अल हसनले ४३ रन जोडे ।

बंगलादेशको सुरुवात नै राम्रो हुन सकेन । २३ रन जोड्दा ३ विकेट गुमाएको बंगलादेशका लागि लिटन दास र महमुदुल्लाहले ७९ रनको महत्वपूर्ण साझेदारी गरे ।

सातौं विकेटका लागि सकिब अल हसनले मेहदी हसन मेराजसँग ४५ रनको साझेदारी गरेपछि बंगलादेशको स्कोर २०० नजिक पुगेको थियो ।

बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा शाहिन शाह अफ्रिदी र मोहम्मद वासिमले समान ३–३ विकेट लिए भने हरिस रउफले २ तथा इफ्तिखार अहमद र उस्मान मीरले १/१ विकेट आफ्नो नाममा लेखाएका छन् ।

जितसँगै ७ खेलबाट ६ अंक जोडेको पाकिस्तान अंकतालिकाको पाँचौं स्थानमा उक्लिएको छ र विश्वकपमा पुग्ने सेमिफाइनलको आश कायमै राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?